सहकारीले ठगी गरेको रकम असुल

१३ सहकारीबाट सवा ३ कराेड असुल
– शर्मिला पाठक
काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो ।
कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्था भएअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।
अहिले कामपामा एक हजार ८५६ सहकारी संस्था छन् । यी सहकारीमध्ये धेरैले आफ्नो संस्थाको विवरण समेत बुझाएका छैनन् । तिनलाई पनि केही दिनभित्र विवरण पेश गर्न विभागले आग्रह गरेको छ । यसैबीच २५ वटा सहकारी संस्थालाई कानून बमोजिम वित्तीय विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् ।
विभागले थप करीब रु. ३ करोड बराबरको रकम असुल उपरका लागि कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीमा पत्र लेखी पठाएको पनि प्रमुख ढकालले जानकारी दिनुभयो । विभागले केही हप्ता अघि बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संस्थालाई अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई लिखित निवेदन पठाएको थियो । ठगी गर्नेमा न्युरोड, पुतलीसडक र बानेश्वर क्षेत्रका सहकारी बढी मात्रामा रहेको पनि बताइएको छ ।
बचतकर्ताको रकम फिर्ता नगरिएको रकम न्युनमत रु १० हजारदेखि रु एक करोडसम्म रहेको अनुगमनका क्रममा पाइएको पनि विभागले जनाएको छ । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो ।
एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।
कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ ।
कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । सबै सहकारीलाई दैनिकरूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरूपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्नेछ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरूप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताउनुभयो । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन हुनुपर्नेछ । रासस






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया