निगमको डिपोबाटै ट्यांकर चोरी

समाधान संवाददाता २०७८ भदौ १५ गते १२:५०

समाधान संवाददाता
काठमाडौं-विराटनगरमा आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांक चोरी भएको छ । राति उक्त ट्यांकर सहचालकको भरमा थियो ।


सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना४ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ । खनालले शौचका लागि जाने क्रममा ट्यांकरमा चाबी छाडेका थिए । सोही मौका छोपी चोरले सो ट्यांकर लिएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।


ट्यांकर चालक यामकुमार खनाल भने सहचालक शिव खनाललाई ट्यांकरको रेखदेखका लागि राखेर सुत्न गएका थिए । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति साढे १२ बजेतिर सो ट्यांकर विराटनगर आइपुगेको थियो ।
ट्यांकर चोरी भएको ३ घण्टापछि प्रहरीले चोरीमा संलग्न १ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement


राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका ३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया