मूर्च्छित पर्यटन, निद्रामा सरकार

समाधान संवाददाता २०७८ भदौ २० गते १३:११

सञ्जय रानाभाट
पोखरा-दोस्रो पटक लकडाउन घोषणा भएपछि प्याराग्लाइडिङ पाइलट माधव तिवारी गाउँ फर्के । प्याराग्लाइडिङ बन्द भएपछि तिवारी अहिले बाख्रापालन गर्दै छन् । ८ वर्षदेखि प्याराग्लाइडिङ गरिरहेका उनी अहिले बाख्रापालनसँगै हाउजिङ क्षेत्रमा पनि भविष्य खोजिरहेका छन् ।


एउटै पेशामा मात्र आश्रित हुँदा कठिन हुने उनलाई यो महामारीले सिकायो । हातमुख जोड्ने एउटै माध्यम बनेको प्याराग्लाइडिङ क्षेत्र शिथिल बन्दा अहिले भने उनी जीविकाको नयाँ उपाय खोज्न लागेका हुन् । १ दशकदेखि यात्रु उडाउँदै आएका अर्का पाइलट अनिल केसी पनि अहिले घरमै छन् ।

उनी अहिले आफू बेकामे भएको महसुस हुने बताउँछन् । उनले अँगालेको पेसा बन्द छ, अरु पेसाको ज्ञान छैन । उनी भन्छन्, ‘प्याराग्लाइडिङ क्षेत्रमै लामो समयदेखि काम गरियो । अन्य क्षेत्रमा जान गाह्रो छ । फेरि सुरुदेखि अध्ययन गर्नुपर्छ । अरु क्षेत्रमा जान सकेको छैन ।’ तिवारी र केसीजस्तै अन्य पाइलट पनि अब विस्थापित हुने संघारमा छन् ।

Advertisement


महामारी रोक्न भएको पहिलो लकडाउनको अन्त्यतिर पोखराको पर्यटन क्षेत्रलाई प्याराग्लाडिङले केही त्राण दियो । आधा छुटमा प्याराग्लाइडिङ गराइएपछि कास्की आसपास र काठमाडौंदेखिका युवायुवती, वृद्धवृद्धा पोखरा आए । पोखरेली आकासमा कावा खाए । पर्यटन व्यवसायीमा प्याराग्लाइडिङले केही राहत दिलायो । प्याराग्लाइडिङका लागि आउने पर्यटकबाट पोखराका होटलले थोरै भए पनि ग्राहक पाए । एक हिसाबले पोखराको पर्यटन ‘रिभाइभ’ हुँदै थियो ।


तर कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै १५ वैशाखबाट पोखरामा फेरि निषेधाज्ञा भयो । पर्यटकीयदेखि सम्पूर्ण क्षेत्र बन्द भए । ४ महिना बितिसक्दा पनि पोखराको पर्यटन क्षेत्र ठप्पै छ । पहिलो लकडाउनपछि आशाको झिल्को बालेको प्याराग्लाइडिङ पनि अहिले बन्द छ । प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ‘स्पोट’ भरी झार पलाएको छ, घुँडासम्म आउने गरी । ल्यान्डिङ स्पोट अहिले चरन क्षेत्र बनेको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले पाइलटले पहिलो डोज कोरोना खोप लगाइसकेको बाताए । दोस्रो खोप लगाएपछि मात्र व्यवसाय सञ्चालन गरिने उनी बताउँछन् । उनी भन्छन्, ‘भदौ १० देखि मेसिनरी सामान बिग्रने डरले सोलो उडान गरेको छौं । राज्यले अनुमति दियो भने छिट्टै व्यावसायिक रुपमै प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।’

Advertisement


पोखरामा प्याराग्लाइडिङ उडाउने ६० कम्पनी र ३ सय ५० जना पाइलट छन् । सरकारले निषेधाज्ञा गरेपछि पाइलटहरु गाउँमा गएर खेती, किसानी गरिरहेको उनले सुनाए । प्याराग्लाइडिङ क्षेत्रमामार्फत १ हजार जनाले प्रत्यक्ष रोजगार पाएका उनले बताए ।


अरु क्षेत्र खुलिसक्दा पनि पर्यटन क्षेत्र नखोलेर सरकार टुलुटुल हेरी बसेको पर्यटन व्यवसायीको आरोप छ । पोखरा पर्यटन परिषद अध्यक्ष गोपीबहादुर भट्टराई सरकार पर्यटन क्षेत्रको उठानमा नलागेको बताउँछन् । पर्यटन क्षेत्र अहिले एक्लै युद्धमा रहेको र पर्यटनकर्मीलाई खोप लगाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनको माग छ । लकडाउन हुँदासमेत सरकारले करको दायरा घटाउनुको साट्टो झनै बढाएर व्यवसायलाई पेल्न खोजेको उनले दाबी गरे । बारम्बार प्रशासनले पर्यटनलाई वेबास्ता गरेको उनको आरोप छ ।


‘पोखराको पर्यटन व्यवसाय ५ खर्ब १७ करोड लगानीको हो । यसरी व्यवसाय बन्द हुँदा दैनिक १६ करोड घाटा छ,’ भट्टराईले भने । पोखराको पर्यटन क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको उनले सुनाए ।


होटललाई ग्राहक पाउनै हम्मे
पोखराका होटल व्यवसायी अहिले ग्राहकको प्रतीक्षामा छन् । तर पर्यटक नआउँदा पोखराका होटल रित्ता छन् । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन पोखराका होटलमा अहिले ३ प्रतिशत अकुपेन्सी रहेको बताउँछन् । ‘कोरोनाले त दुख दिएकै थियो, अहिले वर्षा, बाढी, पहिरोले पनि आन्तरिक पर्यटन आउन दिएका छैनन्,’ उनले भने ।


पोखरामा करिब ८ सय होटल छन् । तीमध्ये ६ सय होटल पर्यटकीय स्तरका हुन् । २ चरणको लकडाउन र निषेधाज्ञाका कारण २५ प्रतिशत होटलकर्मी भने विस्थापित बनेका छन् । निषेधाज्ञा लामो समयसम्म रहे विस्थापित हुनेको संख्या बढ्ने निश्चित छ । घर भाडा, बैंक कर्जाका कारण होटल व्यवसायी अहिले विस्थापित हुने क्रम बढ्दो छ । ‘२५ प्रतिशत जति व्यवसायी विस्थापित भएका छन्, अझै नबढ्ला भन्न सकिँदैन,’ तुलाचनले भने ।


पोखरामा पहिलो लकडाउनपछि चलाइएको अभियानलाई दोस्रो चरणको लकडाउनले शून्यमा झारेको उनको तर्क छ । सरकारले घोषणा गरेका कार्यक्रमअघि बढाउन नसक्दा पर्यटन क्षेत्र मूच्र्छित भएको उनले बताए । ‘व्यवसाय जीवन रक्षा कोष, पुनर्कर्जा जस्ता कार्यक्रम राम्रोसँग कार्यान्वय हुन सकेका छैनन्, १० दिने पर्यटन बिदाको पनि कार्यविधि बनेको छैन रे,’ उनले भने ।


निद्रामा प्रदेश सरकार
गण्डकीका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल पर्यटनकर्मीलाई खोप लगाएर पर्यटनलाई स्थापित गरिने बताउँछन् । खोप लगाउने र राहत प्याकेज ल्याउने अमूर्त योजना सुनाए पनि उनले ठोस योजना दिन सकेनन् । उनले कहिले, कसरी पर्यटनकर्मीलाई खोप लगाइन्छ भन्ने प्रश्नको पनि उत्तर दिएनन् । ‘खोप लगाएर राहत ल्याउँछौं,’ कँडेलले भने ।


कँडेलले भने जस्तो सबै पर्यटनकर्मीलाई तत्काल खोप लगाउन सम्भव देखिँदैन । पोखरामा ५० प्रतिशतमात्रै पर्यटन व्यवसायीले खोप पाएको पोखरा पर्यटन परिषद अध्यक्ष भट्टराईले जानकारी दिए । प्रदेशभर खोप लगाउनेको प्रतिशत निकै कम छ । प्रदेशभर ४ लाख २६ हजारले मात्र पूर्ण खोप पाएका छन् । कास्कीमा ३७ हजारले पूर्ण खोप पाएको स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक छ । बाँकी पर्यटन व्यवसायीले कहिले पूर्ण खोप पाउँछन्, टुंगो छैन ।

तपाईको प्रतिक्रिया