विद्युतीय शवदाहस्थल

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:५५

घाटमा पुगेको मानिस भाव शून्य भएर फर्किन्छ । सोच्छ कि मरिलानु केही छैन । लोभ, मोह र रिसरागको अर्थ छैन । तेरो मेरो भन्नु बेकारको बात हो । भनाइ नै छ काक्रोमा खल्ती हुँदैन । मरेको मानिसले आफूसँग केही लैजान सक्दैन । पोखराको रामघाटमा मलामी जानेहरुले भने त्यतिमात्रै सोच्दैनन् । शव जलाउने भरपर्दाे र व्यवस्थित ठाउँसमेत नहुँदा मरिसकेर जल्न पनि गतिलो ठाउँ छैन है भनेर सोच्छ । हो, यहाँ व्यवस्थित घाटसमेत छैन । ढुंगा, बालुवा गिटी खोस्रिएर सेतीको गहिराइ बढाइएको छ । वरिपरिको भित्ताहरु सेतीले कोपरेर लथालिंग छ । भताभुंग छ । त्यसै पनि श्मशान घाट विरक्त लाग्दो हुन्छ नै । त्यसमाथि रामघाटको विद्रुप अनुहारले थप निराशा उत्पन्न गराउँछ ।

पोखरा महानगरपालिकाले निजी क्षेत्रको एउटा बैंकसँग मिलेर विद्युतीय शवदाहस्थल निर्माणको योजना अघि सारेको समाचार आएको छ । पर्यटकीय सहर पोखरालाई व्यवस्थित शवदाहस्थल अति आवश्यक छ । एक त स्मार्ट सिटी बनाउने भन्ने योजना साकार पार्न पनि त्यो आवश्यक छ । अर्काेतिर वातावरणीय हिसाबले पनि अब सधैं दाउरामात्रै बालेरै शव जलाउनु हुँदैन । महानगरले ल्याउन लागेको मेसिन भने दाउरा र बिजुली दुवै प्रयोग हुने बताइएको छ । जसमा परम्परागत रुपमा जलाइने प्रक्रियामा भन्दा निकै कम दाउरा लाग्ने बताइएको पनि छ । सके त कत्ति पनि दाउरा नलाग्ने मेसिन भए जाती हुने हो । परम्परा जोगाउने नाममा रुढी भइरहनु अविकासको सूचक हो । दाउरै बाल्नुपर्छ भन्ने चिन्तन र मान्यता अनि व्यवहारले न वातावरणको हित गर्छ न संस्कार शैली सजिलो बनाउँछ । दाउरामा शव जलाउँदा दृश्य आफैंमा कठोर हुन्छ । हिजोका दिनमा अरु विकल्प नहुँदा चलेको चलैनै पछ्याइरहनुपर्छ भन्ने मान्यता आफैंमा अप्रगतिशील हो । त्यस्तै मान्यता राख्दैराख्दै बस्ने हो भने हामी मध्ययुगतिर पुग्छौं ।

दाउरामा नजले स्वर्गै पुगिँदैन कि जस्तो मान्यता कतिपयले राख्ने गरेका छन् । निधनपूर्व आफ्ना इच्छा परिवारसामु राख्दा दाउरामै जल्न पाऊँ पनि भन्ने गरेका छन् । काठमाडौंको पशुपति नाथ मन्दिर छेउका बागमती किनारमा पनि विद्युतीय शवदाहगृह सुरु भइसकेको छ । समाजका अगुवाहरुले आफूलाई दाउराको सट्टा बिजुलीमा जलाउन भनेर सकारात्मक सन्देश पनि दिनुप¥यो । अरु सर्वसाधारणलाई पनि विद्युतीय शवदाहगृह प्रयोगमा प्रेरित गर्न त्यसो गर्नुप¥यो । अझै वैज्ञानिक ढंगले सोच्नेहरुले शवदान पनि गर्ने गरेका छन् । आफू मरिसकेपछि आफ्ना अंग अरुका लागि काम लाग्छ भने प्रयोग गर्न दिइओस् भनेर जिउँदैमा लिखितनामा गर्दिनेहरु अझै महान् हुन् । त्यसखाले चेतनाको विकास पनि आवश्यक छ । अहिलेलाई कम्तीमा दाउराको सट्टा बिजुलीतिर लम्कनुलाई पक्कै स्वागत गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया