‘रुझेर अग्निवर्षामा’ को परिचर्चा

सामाधान संवाददाता, पोखरा
मुक्तककार रुद्र ज्ञवालीद्वारा लिखित मुक्तक संग्रह ‘रुझेर अग्निवर्षामा’ माथि परिचर्चा भएको छ । मुक्तक मञ्च, पोखराको आयोजनामा परिचर्चा भएको हो ।
त्यस अवसरमा साहित्यकार तीर्थ श्रेष्ठले मुक्तक लेखनमा महाकाव्य लेखनमा जस्तै अत्यन्त सचेतता आवश्यक पर्ने बताए । चर्चित राजनीतिज्ञ विन्स्टन चर्चिलको उदाहरण दिँदै ‘उनले १ घन्टा भाषण गर्दा बिनातयारी जाने तर १० मिनेट भाषण गर्दा १ घन्टा तयारी गर्नुपर्ने’ बताए जस्तै मुक्तक लेखनमा गम्भीर साधना आवश्यक हुने कुरामा जोड दिए ।
मुक्तक लेखनका प्रारम्भिक कालमा सक्रिय स्रष्टाको लेखनको अध्ययनबिना मुक्तक लेखनमा विशिष्टता प्राप्त गर्न नसकिने बताउँदै नयाँ पुस्ताका मुक्तक सर्जकलाई अध्ययन र परिमार्जनमा ध्यान दिन आग्रह गरे । उनले रुद्र ज्ञवालीको मुक्तकीय क्षमता अब्बल रहेको समेत बताए ।
ज्ञवालीको सातौं कृतिको रूपमा प्रकाशित ‘रुझेर अग्निवर्षामा’ माथि समीक्षकीय दृष्टिकोण राख्दै समीक्षक सञ्जीव पौडेलले ज्ञवालीको मुक्तक शिल्पी अत्यन्त उत्कृष्ट रहेको जनाए । कृतिभित्र रहेका मुक्तकका संरचना, विषय, भाव एवं शैलीशिल्पका सामथ्र्यबारे पौडेलले सैद्धान्तिक एवं पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए ।
मुक्तक मञ्चका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकार दीपक समीपले स्रष्टाको परिचय दिएका थिए । त्यसैगरी मुक्तककार रुद्र ज्ञवालीले आफ्नो साहित्यिक यात्रा एवं कृतिको रचनागर्भका अनुभवबारे उल्लेख गरेका थिए ।
सोही अवसरमा मुक्तक मञ्च, पोखराको १३० औं नियमित रचनावाचन कार्यक्रम समेत सम्पन्न भएको थियो । त्यस अवसरमा ३ दर्जनभन्दा बढी मुक्तककारले आआफ्ना मुक्तक वाचन गरेका थिए । मञ्चका सचिव रामजीप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा अनिता दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थाले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया