संयुक्त परिवारको शक्ति

श्याम कुँवर २०७८ असोज १ गते १६:२४

सँगै व्यवसाय गर्दा महिलाले पुरुषको समस्या बुझेर घरको वातावरण समेत राम्रो भएर पारिवारिक द्वन्द्व नहुने रहेछ ।



नेपालको पर्यटन क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको छ । नेपाली महिला उद्यमीले व्यक्तिगत, पारिवारिक तथा सामूहिक रुपमा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । पर्यटन क्षेत्रमा महिलाको योगदान बढ्दो छ । पर्यटन क्षेत्रका महिलाको सहभागिता बढाउन बढाउनेदेखि सुरक्षा तथा व्यवसायीको हकहित सुनिश्चित गर्न पर्यटन व्यवसायी मञ्च (ओटेफ) स्थापना गरिएको छ । ओटेफ नेपालको पहिलो महिला पर्यटन व्यवसायीको संस्था हो । अहिले त्यसको नेतृत्व पार्वती पाण्डेले गरेकी छिन् ।

पर्यटनसँग सम्बन्धित संघसंस्थामा महिलाको सहभागिता न्यून थियो । संस्थागत रुपमा प्रतिनिधित्व हुने पोखरा पर्यटन परिषदमा महिलाको प्रतिनिधित्व हुने कुरै भएन । महिलाहरु छिटफुट रुपमा पर्यटन क्षेत्रमा लागेका छन् । यस्तो अवस्थामा पाण्डे पश्चिमाञ्चल क्षेत्रीय होटल संघको निर्वाचनमा खुला प्रतिस्पार्धाबाट कोषाध्यक्षमा निर्वाचित भइन् । पर्यटनमा लागेका महिलालाई समेटेर ओटेफ खोलेपछि महिला पर्यटन व्यवसायी संगठित र सचेत भएका छन् । संस्थाले महिलाको उद्यमशीलताको विकासका लागि प्रोत्साहन प्रेरणा दिने काम गरेको छ । संस्थाले महिला उद्यमीका साझा समस्यामा काम गर्छ । सुरुमा गठन गर्दाभन्दा धेरै महिला पर्यटन व्यवसायीलाई संगठित गर्दा आत्मबल बढेको पाण्डेको अनुभव छ ।

Advertisement


अहिले संस्थामा २ सय २१ भन्दा बढी महिला सहभागी छन् । धेरैभन्दा धेरै महिलालाई उद्यमी बनाउने संस्थाको लक्ष्य छ । संस्थाले कोभिड १९ को कारण भौतिक उपस्थिति नभएको अवस्थामा जुममार्फत गतिविधि बढाउने काम गरेको छ । पर्यटन क्षेत्रमा लागेका महिलाको व्यक्तित्व नेतृत्व विकासदेखि महिला सशक्तीकरण व्यावसायिक विकासमा संस्थाले सघाएको छ । पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढे सन्तुलित विकास हुन्छ ।


कोभिडको मारमा परेका व्यवसायीलाई व्यवयासी पुनर्जीवन कर्जाको सुविधा करिब ५० प्रतिशतले पाएका छन् । महिलाले सञ्चालन गरेका व्यवसायलाई होटल, रेस्टुरेन्ट, १५ लाखसम्मका निब्र्याजी ऋणका व्यवस्था गरेको छ । लालपुर्जा भन्दा पनि फर्मको नक्कल या सर्टिफिकेकटको आधारमा दिने व्यवस्था गरे राम्रो हुने थियो । लालपुर्जा ऋण लिँदा बंैक तथा वित्तीय क्षेत्र लगायत अन्यत्रतिर राख्नु पर्दा त्यस्तो सुविधा सुविधा पाएका छैनन् ।

Advertisement


महिलाहरु आर्थिक रुपमा सम्पन्न भएको खण्डमा आत्मबल बढ्ने पार्वती बताउँछिन् । महिला सहनशील हुन्छन, तोकिएको जिम्मेवारी समेत पुरा गर्छन् । समय क्रम अनुसार एक्लै भन्दा सामूहिक र संस्थागत रुपमा काम गर्न सके दिगो हुन सक्छ । महिलाको उद्यमशीलताको विकासका लागि संस्थाले सरकारी निकायसँग समन्वय र सहकार्य गर्ने योजना बनाएको छ । महिला सशक्तीकरणको क्षेत्रमा सरकारी बजेट बेसी छ । पाण्डेले उद्यमी महिलाका लागि व्यवसाय प्रवद्र्धनका लागि पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पर्यटन बोर्ड उपमेयरसँग महिला कार्यक्रममा जोड्ने योजना अगाडि बढाएकी छिन् ।


अहिलेको अवस्थामा केही असहज भएता पनि उनी पर्यटन व्यवसायबाट पाण्डे सन्तुष्ट छिन् । उनले नेतृत्व गरेको पर्यटन क्षेत्र सन्तोषजनक ढंगले अगाडि बढेको छ । पर्यटन क्षेत्रमा लागेपछि देश घुम्ने अवस्था बुझ्ने मौका मिल्ने रहेछ । ‘जुनसुकै पेसा व्यवसाय आफैमा चुनौती हुन्छ । सानो तिनो व्यवसाय गर्दा फरक ढंगले गर्ने र नयाँनयाँ सम्भावना खोज्नुपर्छ । धैर्य गरेर काम गरे सफलता मिल्छ । आत्म विश्वासका साथ काम गर्नुपर्छ,’ पाण्डे भन्छिन् ।


अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मेकी पाण्डे अरुको प्रेरणाभन्दा पनि कसैको प्रेरणाबाट भन्दा पनि संयुक्त परिवारको अभ्यासबाट पर्यटन क्षेत्रमा लागेकी हुन् । उनका श्रीमान् ओमप्रकाश पाण्डे पोखराका स्थापित पर्यटन व्यवसायी हुन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल च्याप्टरका पूर्व अध्यक्ष समेत रहेका पाण्डे होटल ल्यान्डमार्कका प्रबन्ध निर्देशक हुन् । होटलमा १ सयजना हाराहारीले रोजगारी पाएका छन् ।


संयुक्त परिवारको लगानीमा काम गरेको कारण आफूले छुट्टै रुपमा महिला उद्यमीको रुपमा सम्मान नपाएको पाण्डेको अनुभव छ । पुरुषसँगै व्यवसाय गर्दा सकारात्मक भावनाको विकास हुने रहेछ । महिला घर बस्ने पुरुषले व्यवसाय गर्दा कहिलेकाहिँ एकले अर्कोलाई शंका गर्ने परिपाटीको विकास हुन सक्छ । सँगै व्यवसाय गर्दा महिलाले पुरुषको समस्या बुझेर घरको वातावरण समेत राम्रो भए पारिवारिक द्वन्द्व नहुने रहेछ ।


पर्यटकीय सहर पोखरा गण्डकी प्रदेशको राजधानी र पर्यटनको केन्द्र हो । आन्तरिक पर्यटकका लागि सहरी क्षेत्र बढी आकर्षण हुन सक्छ । पर्यटकीय क्षेत्र लेकसाइड विदेशी पर्यटको आकर्षणको केन्द्र बनेको छ । उद्योग धन्दा कलकारखाना छैनन् । शान्त वातावरण छ । पोखरा आसपासको क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सके पर्यटकको बसाइ लम्बाउन सकिन्छ । पर्यटकले धेरै पैसा खर्च गरेर नेपाललाई फाइदा हुन्छ । पर्यटन क्षेत्रमा भौतिक पूर्वाधारको काम गर्ने सरकारको दायित्व हो भन्ने पाण्डेको मान्यता छ ।


निजी क्षेत्रको सहकार्यमा समेत पर्यटन प्रवद्र्धनका नमुना काम गर्न सकिन्छ । प्राकृतिक स्थल, धार्मिक स्थल, पार्कको संरक्षण तथा विकास गर्दै सरकारले लगानीको वातावरण सिर्जना गर्नुपर्छ । निजी क्षेत्रसमेत लगानी गर्न सक्छ । पर्यटन व्यवसायीले पाहुनाको स्वागत सत्कार, सन्तुष्टिमा विशेष ध्यान दिएर काम गर्नुपर्छ । बाहिरी वातावरण राम्रो नभए होटलमा गरेको लगानी डुब्न सक्छ । पोखरा आसपासको क्षेत्रमा घुम्नुपर्ने ठाउँ धेरै छन् । सडकको अवस्था नाजुक भएकाले सरकारी निकायले सडक पूर्वाधारमा ध्यान दिनुपर्ने पाण्डे बताउँछिन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका र पर्यटन क्षेत्रको सहकार्यमा पोखराको पर्यटन प्रवद्र्धनका काम गर्नुपर्छ ।


पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सके समृद्धि हासिल गर्न सकिन्छ भन्ने पाण्डेको विश्वास छ । पर्यटन व्यवसायी तथा श्रमिकलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्दै पर्यटकीय क्षेत्र विस्तारै खोल्दै पर्छ । ‘पर्यटन प्रवद्धर्नका लागि प्रचारको ठूलो महत्व छ । सरकारी निकायबाट गरिने प्रचारको अभाव छ । घुम्न आऊ भन्ने सन्देश सबैका लागि प्रसारण गर्नुपर्छ । भारततर्फका नाका खोल्दै सुरक्षित वातावरणमा पेसा व्यवसायी गर्न दिनुपर्छ,’ पाण्डे भन्छिन्, ‘पर्यटकीय सिजन सुरुआतको संघारमा छौं । पर्यटकीय सिजनको महत्वलाई बुझेर पर्यटकीय क्षेत्र पूर्ण रुपमा खुल्ला गर्नुपर्छ । स्वदेशी र विदेशी पर्यटक आउने माहोल बनाउनुपर्छ ।’

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया