स्मृतिमा हरि खनाल काका

बद्रीविनोद प्रतीक २०७८ मंसिर ६ गते १५:१७


बद्रीविनोद खनाल


प्रत्येक व्यक्ति कसैको सन्तान हुन्छ । तर कुनै कुनै व्यक्ति कुलखलककै सन्तान बन्न जान्छ, गाउँकै र समाजकै पनि बन्न जान्छ । हाम्रा लागि हरिप्रसाद खनाल हाम्रा काका हुनुहुन्थ्यो । खनाल वंशका नक्षत्र हुनुहुन्थ्यो र अभिभावक । तर त्यतिमात्रै उहाँको परिचय हुन सक्दैन । समाजकै नक्षत्र हुनुहुन्थ्यो र शिक्षाको ज्योति हुनुहुन्थ्यो । हुनुहुन्थ्यो किनभने अब उहाँ यो धर्तीमा रहनुभएन । हाम्रो स्मृतिमा हुनुहुन्छ ।

उहाँलाई गुमाएको पनि मंसिर ७ गते १३ दिन पुग्छ । उहाँलाई गुमाउँदाको क्षण यो आकाश खसेझै भएको छ । तर जे जस्तो अवस्था आइलागे पनि सहनुको विकल्प नहुँदो रहेछ । स्व काकाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै हामीलाई यस दुखद घडीमा साथ, सहयोग सद्भाव प्रकट गर्ने स्वजनहरु प्रति आभार व्यक्त गर्दछु ।

Advertisement


हरि काकाको जन्म विसं १९९७ असार २९ गते कास्की जिल्लाको सुदूरपूर्वी गाउँ फल्याङकोट हालको रुपा गाउँपालिका वडा १ मा सामान्य किसान परिवारमा भएको थियो । निधन विसं २०७८ साल कात्तिक २५ गते बिहीबार बिहानको ४ वजेको समयमा भएको परिवारिक स्रोतबाट थाहा भयो । कात्तिक २४ गते बेलुका सधैझै खानपिन गरेर सुत्नुभएका काका बिहान एक्कासि ब्रह्मलीन भएको खबरले हामी सबैलाई स्तभ्ध बनाएको थियो । जे भए पनि प्रारव्धको खेल छल्न कसैले पनि नसक्दो रहेछ ।

छोरा, नातिपुस्ताहरु विभिन्न प्रविधिक विषयका विज्ञ बनेका छन् । आज पोखरामात्र होइन गण्डकी प्रदेश र राज्यको केन्द्रमा समेत काकाको प्रभाव परेको छ ।

Advertisement


उहाँको जन्म एउटा सामान्य किसान परिवार भए पनि विसं २००७ सालको राजनीतिक परिवर्तनको उज्यालो गाउँगाउँसम्म छिरेको थिरेको थियो । त्यही उज्यालो हाम्रो घर परिवारमा पनि छिरेको थियो । हरिकाका त्यही परिवर्तित उज्यालोको एउटा ज्योति हुनुहुन्थ्यो ।


बाल्यकालमै गाउँ घरका दाजुभाइ तथा दौतरीहरुलाई चटक्क छोडेर शिक्षाको उज्यालो खोज्दै उहाँ लमजुङ दुराडाँडामा पुग्नुभएको थियो । देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो । कांग्रेसका प्रभावशाली नेताहरुले आफ्ना गाउँहरुमा हाई स्कुल खोलेका थिए । श्रीकान्त अधिकारीहरुले खोलेको दुराडाँडाको सर्वाेदय माविमा पढेर त्यहीबाट विसं २०१४ सालमा म्याट्रिक पास गर्नुभएको थियो । विसं २०१४ सालमा हामी त साना फुच्चे थियौं । पछि हामी पढ्ने बेलामा बाबाले भन्नुहुन्थ्यो, ‘हरिले झै पढनुपर्छ । उसले म्याट्रिक पास गर्दा बाजा बजाएर अबिर जात्रा गरी गाउँ घुमाएका थिए । हो त्यस्तै गरी पढनुपर्छ तिमीहरुलाई पनि घुमाउने हो ।’


हरिकाका म्याट्रिक पास गरेर रोकिनु भएन । पढेर केही गर्नुपर्छ भन्ने चेत उहाँमा प्रचुर थियो । त्यही चेतले गर्दा उहाँले पढाउदै पढ्दै गर्नुभयो । अंग्रेजी भाषामा बिए बिएड गर्नुभो । उहाँले गाउँको बाह्रपिर्के प्रवि हालको जटेश्वर मावि फल्याङकोट, लक्ष्मी प्रावि हालको लक्ष्मी मावि अर्घाै, भद्रकाली मावि कँुडहर, अमरसिंह मावि रामघाट, जनजागृति मावि वरपान्डेथुम, नवप्रभात मावि नयाँबजार, भवानी कालिका मावि विजयपुर पोखरा र राष्ट्रिय मावि टँुडिखेल पोखरामा प्रअ भएर नै कुशल नेतृत्व गर्नुभएको थियो । उल्लेखित सबै विद्यालयहरुमा उहाँको भूमिका विद्यालय प्रशासक अर्थात प्रअको रुपमा रह्यो ।


काकाले पोखरालाई कर्मथलो बनाउनु भयो । हामीले पनि उहाकै पाइला पछ्याएर पोखरालाई कर्मथलो बनायांै । काकाको प्रेरणाले पढ्यौं । फल्याङकोटे गंगाधर खनालको वंशले मात्र होईन उहाको पदचाप फल्यागकोट र वरपरका गाउँका युवाहरूले समेत पछ्याए र पढे । अधिकले शिक्षण पेशा पनि अगाले । अहिले उहाँका छोरा, नातिपुस्ताहरु विभिन्न प्रविधिक विषयका विज्ञ बनेका छन् । आज पोखरामात्र होइन गण्डकी प्रदेश र राज्यको केन्द्रमा समेत काकाको प्रभाव परेको छ ।


हरिकाका आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाको अगाडि जो पायो त्यो व्यक्ति आँखा जुधाएर हेर्न समेत सक्तैनथे । शिक्षक विद्यार्थीहरु उहाँसँग हम्मेसी बोल्न डराउँथे त्यसैले गर्दा लथालिङ्ग भएका विद्यालय सह्माल्न सरकारले उहाँलाई नै खटाउने गर्दथ्यो । उहाँको नेतृत्वमा कास्कीका धेरै विद्यालयहरूले काँचुली फेरेका उदाहरण छन् । आज उहाँको निधनपछि यी कुरा सिनेमा हेरेझै भएका छन ।


हरिकाकाले शिक्षण पेसालाई सेवाको रूपमा लिनुभयो । उपयोगको नीति कहिल्यै लिनुभएन । आफ्नो अर्काे भन्नुभएन योग्यता र क्षमतालाई महत्व दिनुभयो । जसको कारण विद्यालय स्तर वढन सक्यो र विद्यालयहरुले आफ्नो गुमेको शाख फर्काउन सकेका थिए । अहिले पनि ती विद्यालयहरुमा उहाँको सम्झना र व्यक्तित्वको चर्चा भइरहन्छ ।


वाम विचारबाट प्रशिक्षित भएर पनि पार्टीको झण्डा कहिल्यै बोक्नु भएन । उहाँलाई गुरु मान्ने वामपन्थीहरु सयौ छन तर उहाले विद्यालयमा राजनीतिको र समेत छिर्न दिनुभएन । विद्यालयलाई राजनीतिवाट मुक्त राख्नु पर्छ भन्ने मान्यतावाट उहा कहिल्यै पछाडि हटनु भएन । आफ्नो विचारमा चट्टन जस्तै हुनुहुन्थ्यो । झुक्नु भन्दा टुट्नु उचित मान्नु हुन्थ्यो । बहुदल आए पछि काग्रेस कम्युनिस्ट राप्रपा जस्ता पार्टीहरुले उहाँलाई प्रयोग गर्न खोजे पनि सकेनन् । स्तरीय शिक्षाले मात्र लाोकतन्त्रलाई मजवुत बनाउन सक्छ भन्ने मान्यतामा उहा उभिई रहनु भो ।


भौतिक शरीर छाडेर जानु भए पनि काका आफ्ना कृति र योगदानका कारण अझै यही वरिपरि घुमिरहनु भएको छ । उहाँको भौतिक शरीर नभए पनि उहाँका जीवनोपयोगी गुणहरुले हामीलाई सधा मार्गदर्शन गरिरहने छन् । हरिकाकाप्रति पुन भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै गोमा काकी, श्याम र कृष्ण भाइ, भाइबुहारी प्रेमकला र गंगा, सावित्री, वन्दना र पूजा बहिनी लगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

बद्रीविनोद प्रतीक

पोखराका वरिष्ठ पत्रकार प्रतीक प्रेस स्वतन्त्रता सेनानी हुन् 

तपाईको प्रतिक्रिया