नयाँबजारमा महानगर मुख्यालय

सञ्जय रानाभाट २०७८ मंसिर २८ गते १३:३८

पोखरा ।
पोखरा महानगरमा कामका लागि जानेहरुले महाशाखाको मेसो हम्मेसी पाउँदैनन् । ९ महाशाखा महानगरपालिकाका विभिन्न वडामा छन् । शिक्षा महाशाखा ड्यामसाइडको पर्यटन बोर्ड नजिकै महानगरको गेस्ट हाउसमा छ । कृषि महाशाखा बिरौटामा र पशु महाशाखा रामघाटमा छन् । महानगरको सामाजिक महाशाखा सिर्जनाचोकमा र स्वास्थ्य महाशाखा नगरपालिका नजिकै न्युरोडमा छ ।


बाँकी महाशाखा भने महानगरको कार्यपालिका कार्यालय रहेको न्युरोडकै भवन छन् । सेवाग्राहीलाई सरल तवरले सेवा दिन र विभिन्न महाशाखाको सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले महानगरले प्रशासनिक भवन बनाउँदै छ ।


पोखरा ८ दमकल मार्गमा रहेको महानगरको जग्गामा सोमबार प्रशासनिक भवन शिलान्यास गरिएको छ । महानगरपालिकाले पोखरा ८ दमकल मार्गमा प्रशासकीय भवनको शिलन्यास गरेको हो । करिब ४ रोपनीमा अत्याधुनिक भवन बनाउन लागिएको हो । कार्यबहाक मेयर मञ्जुदेवी गुरुङले भवन शिलान्यास गरिन् ।

Advertisement


१९ करोड ५ लाख ६ हजार ३ सय ५ लागतमा महानगरका सबै महाशाखाले एकै ठाउँबाट सेवा दिने गरी भवनमा बनाउन लागिएको हो । कार्यक्रममा मेयर मानबहादुर जिसीले महानगरपालिकाकाले भवन साँघुरो हुँदा काम गर्न कठिन भएको बताए । ‘भवन निर्माणको काम समयमै सक्नुपर्छ । धेरै ठाउँमा भौतारिनुपर्ने सेवाग्राहीलाई भवन बनेपछि सहज हुन्छ,’ उनले भने ।


भवन बनाउनका लागि भूमि बुद्ध ओम बुद्ध जेभी विराटनगरसँग असोज १० गते ठेक्का सम्झौता भइसकेको छ । यहाँ अन्डरग्राउन्ड पार्किङसहितको ५ तले भवन बन्नेछ । ठेकेदार कम्पनीले १८ महिनाभित्रै काम सक्नुपर्ने सम्झौता छ । अपांगमैत्री भवनमा पहुँचयोग्य शौचालय, लिफ्ट, सेन्सरसहितका ढोका र आपत्कालमा प्रयोग हुने भ¥याङ लगायतका सुविधा रहने छन् ।

Advertisement


भवन बनाउन लागिएको जग्गामा पहिले दमकल राख्ने गरिएको थियो भने अहिले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र छ । संघीयता कार्यान्वयनपछि कार्यालय समायोजन भएर पोखरा महानगरपालिका अन्तर्गत आएका महाशाखा विभिन्न ठाउँमा छरिएका छन् । महाशाखा र महानगरको काम लिन सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । सेवाग्राहीले महाशाखा खोज्नमात्र होइन् । पार्किङको सुविधासमेत पाउँदैनन् । पुरानो भवन, साँघुरा कोठा, कर्मचारीकै हुलमुहाली र सेवाग्राहीको चाप हुन्छ । महानगरको कार्यालयका छुट्टै समस्या छन् ।


आर्थिक, प्रशासन, कानुन, भवन निर्माण, सहरी विकास लगायत महाशाखा र अन्तर्गतका सेवा महानगरकै कार्यालयबाट सेवा दिइँदै आएको सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । सेवाग्राहीलाई एउटै भवनबाट सेवा दिन महानगरका सबै महाशाखा राख्न भवन बनाएको महानगरका सूचना अधिकारी पौडेल बताउँछन् । ‘सबै महाशाखा राख्ने आफ्नै भवन नभएपछि कतै भाडामा त कतै महानगरकै कार्यालय प्रयोग गरिएको छ,’ पौडेलले भने ।


तत्कालीन पोखरा लेखनाथ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि २०७४ असार ५ गते पहिलो कार्यपालिका बैठक बसेको थियो । त्यो बैठकले १० निर्णय गरेको थियो । ५ औं बुँदामा भइरहेको कार्यालय साँघुरो र पुरानोसमेत भएकाले महानगरपालिकाको नयाँ भवन बनाउने उल्लेख थियो । कार्यपालिकाले गरेको निर्णय महानगरपालिकाले अझै कार्यान्वयन गर्न सकेको छैन ।


पहिलो बैठकले भवन निर्माण गर्ने जग्गा खोजी गर्न वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली र वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला र इन्जिनियर शारदामोहन काफ्ले समितिमा सदस्य थिए ।


यो समितिले पोखरा १२ स्थित जिल्ला पशु स्वास्थ्य कार्यालय, मालेपाटनस्थित बागवानी केन्द्र र पृथ्वीचोक दमकल रहेको जग्गामध्येमा महानगरको कार्यालय बनाउन उपयुक्त रहेको सिफारिस गरेको थियो । समितिको सिफारिसकै आधारमा २०७४ साल भदौ १ गते बसेको कार्यपालिका बैठकले जिल्ला पशु स्वास्थ्य कार्यालय रहेको जग्गामै महानगरको नयाँ भवन बनाउने निर्णय गरेको थियो ।


पशु स्वास्थ्य कार्यालयको ९९ रोपनी भएको र महानगरपालिकाको भवन बनाउन उपयुक्त रहेको ठहर गरेको थियो । जग्गामा प्रमुख प्रशासकीय भवन बनाउने महानगरको योजना सरकारबीचको समन्वय नभएकै कारण महानगरको स्वामित्वमा आउन सकेन । यसपछि दमकल मार्गमा भवन बनाउन लागिएको सूचना अधिकारी पौडेलले बताए । भन्छन्, ‘लामो समयसम्म प्रयास गर्दासमेत अरु जग्गा महानगरपालिकाको स्वामित्वमा आउन सकेन । महाशाखाहरु छरिएर रहेको अवस्थामा सेवा दिन र सेवागाह्रीले पनि एकदमै गाह्रो भयो । त्यसैले दमकल मार्गमा कामअघि बढायौं ।’


सोमबार भवन शिलान्यास गर्न स्थानीयले अवरोध गरेका थिए । दमकल मार्गको सो जग्गामा भवनको साटो पार्क बनाउनुपर्ने उनीहरुको माग छ । नगरपालिकाले प्रहरी परिचालन गरी भवन शिलान्यास गरेको हो । पोखराको न्युरोड आसपासमा ठूलै विपत्ति आउँदा चाहिने खालका पार्क वा खाली ठाउँ नभएकाले त्यहाँ भवन बनाउनु नहुने स्थानीय बताउँछन् ।


स्थानीय भन्छन्, ‘मानिस हावा खान निस्कने ठाउँ छैन । यहाँ भवन बने पाकिङ कहाँ गर्ने ?,’ चारैतिर मापदण्ड लाग्ने ४ रोपनी जग्गामा बन्ने महानगर कार्यालयले सेवाग्राही चाप धान्न नसक्ने उनीहरु बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया