सुपर मादी जलविद्युतमा सुरुङको ब्रेक थ्रु

सञ्जय रानाभाट २०७८ पुष २३ गते १२:०७

सञ्जय रानाभाट
पोखरा ।
मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । जलविद्युतको सुरुङको बुधबार ब्रेक थ्रु भएको आयोजनाका रेसिडेन्ट इन्जिनियर पुष्प भट्टराईले जानकारी दिए । करिब ३ वर्षमा सुरुङ पूरा भएको हो ।


इन्जिनियर भट्टका अनुसार ब्रेक थु्र भएपछि आयोजनाको सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताए । भन्छन्, ‘हामीहरुले लामो समयदेखि ब्रेक थ्रुमा लागे पनि हुन सकेको थिएन । बुधबार बेलुका ब्रेक थ्रु गर्न सफल भयौं । ब्रेक थु्र गर्न हामीहरुले दुईतर्फबाट काम गरिरहेका थियौं । सुरुङ ६ किलोमिटर ९ सय मिटर लामो छ,’ उनले भने । सुपर मादी हाइड्रोको निर्माण २०७५ जेठदेखि सुरु भएको हो ।


आयोजनाले यसअघि पुस मसान्तभित्र सक्ने भने पनि कोरोना भाइरसका कारण निर्माण कार्य ढिला भएको भन्दै आउँदो आर्थिक वर्षबाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ । जलविद्युत निर्माणको ठेक्का फेवा कन्ट्रक्सनले पाएको छ ।

Advertisement


आयोजनाको मुख्य काम ब्रेक थ्रु हो । ब्रेक थु्र निर्माण काम टुंगो लाग्दा जलविद्युत कहिले बन्ने टुंगो लागेको उनले बताए । ‘अब हामीहरुले आर्थिक वर्षबाट विद्युत उत्पादन गर्न थाल्छौं । ब्रेक थ्रु नै मुख्य काम भएकाले अब काम रफ्तारमा जान्छ,’ उनले भने । आयोजनाको यसअघि ७.५ किलोमिटर सुरुङ मार्ग भने पनि ६.९ किलोमिटरमा सकिएको हो । आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले कुनै अप्रिय घटनाबिना जलविद्युतको सुरुङ मार्ग निर्माण सकिनु खुसीको कुरा भएको बताए । ‘हामी सबैजनालाई आभारी छौं, जोजो यो कामका लागि खटिनुभयो,’ उनले भने ।


सुपर मादी जलविद्युतको काम समग्रमा ८० प्रतिशत सकिएको इन्जिनियर भट्टले बताए । उनले भने, ‘हामीहरु अन्तिम चरणमा छौं । अब फिनिसिङ हुनमात्र बाँकी छ । आयोजनाको काम ओभरअल अन्तिम चरणमा पुगेको हो ।’

Advertisement


सुपर मादी निर्माण भएपछि ४४ मेगावाटको जलविद्युत उत्पादन हुने आयोजनाले बताएको छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत सबै संरचना निर्माणको काम फिनिसिङको चरणमा भएको भट्टले बताए । उनले निर्माण सुरु गरेको करिब ३ वर्षमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको बताए । विद्युतगृह, हाइड्रोमेकानिकल, फलामको पाता तथा पाइपको काम सम्पन्न हुने चरणमा छ ।


आयोजनाले २०७८ असारदेखि विद्युत उत्पादन गर्ने भने पनि १ वर्ष ढिला भएर ०७९ साउनदेखि विद्युत उत्पादन हुनेछ । कोरोना महामारीका करण १ वर्ष ढिला गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भट्टले सुनाए । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत लेखनाथ सबस्टेसनमा लगेर जोडिने उनले जनाए ।


आयोजना सम्पन्न हुँदा ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा ७ बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ५ अर्ब ६१ करोड रुपैयाँ विभिन्न बैंकको ऋण लगानी छ ।


आयोजनाले थप पुँजी जुटाउन ३१ करोड ५० लाख रुपैयाँ मूल्यको ३१ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ । सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ करोड ५० लाख कित्ता सेयर निस्कासन गर्न लागेको छ । सर्वसाधारण लगानीकर्तामा निस्कासन गर्न सानिमा क्यापिटल लिमिटेडलाई निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।


सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिका (तत्कालीन नामाजुङ र पार्चे गाउँ विकास समिति) बहने मादी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको हो । मादीमा सुपर मादी, मद्क्यु खोला, माथिल्लो मादी, माद्मे खोला मद्क्यु खोला, नामार्जुङ मादी सञ्चालनमा आइसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया