निर्मला बलात्कार- हत्या प्रकरण : पूर्वएसपी विष्टले गरे अदालतमा आत्मसमर्पण

समाधान संवाददाता २०७५ चैत ५ गते १४:५१
बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट।

समाधान संवाददाता

निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो।

Advertisement

विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख थिए। नेपाल प्रहरीले उनी लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा लगेपछि उनी फरार थिए। आज भने उनी जिल्ला अदालत कञ्चनपुरमा बयानका लागि उपस्थित भएका छन्।

‘उहाँ आज उपस्थित हुने निवेदन लिएर आउनुभएको छ। एकछिनमा बयान सुरू हुन्छ,’ जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने।

Advertisement

न्यायाधीश राजेन्द्र आचार्यको इजलासमा उनको थुनछेक बयान हुनेछ। बयान सकिए बहस सुरू हुनेछ। बहस पनि सकियो भने उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा तारेखमा छोड्ने निर्णय अदालतले गर्ने छ।

आज बयान र बहस सकिए आज नभए भोलिसम्ममा उनलाई थुनामा पठाउने वा तारेखमा छोड्ने निर्णय हुन सक्ने श्रेष्तेदार अवस्थीले जानकारी दिए।

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन्। गत फागुन ३० गते जिल्ला अदालत कञ्चनपुरका न्यायधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी, रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने हालसम्म फरार रहेको जिल्ला अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया