पर्वतमा पहिलो पटक सडक खाना महोत्सव हुँदै

समाधान संवाददाता २०७५ चैत ९ गते ९:०३

समाधान संवाददाता

पर्वत जेसीजको आयोजनामा पर्वत जिल्लामा पहिलो पटक सडक खाना महोत्सव हुने भएको छ । नयाँवर्ष २०७६ सालको अवसरमा आन्तरिक तथा वाह्य पर्यटक भिœयाएर आर्थिक विकासमा पर्यटनलाई जोड्न सडक खाना महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजकले चैत ३० देखि २०७६ वैशाख २ गतेसम्म महोत्सव हुने जनाएको छ ।

आयोजकले सडक खाना महोत्सवमा २५ हजार पर्यटक आउने अनुमान गरेको छ । महोत्सव सफल बनाउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ र जिल्लाका स्थानीय तहसँग सहकार्य गरिने पर्वत जेसीज अध्यक्ष मोहन आचार्यले बताए । उनले भने, ‘पर्वतलाई विश्व समूदायमा चिनाउने अपेक्षा गरेका छौं । महोत्सवमा २५ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ ।’

Advertisement

सडक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको संगीत प्रस्तुत, स्थलगत दृश्यावलोकन, मःम र जेरी खाने प्रतियोगिता हुने छ । नेपालकै अग्ला ४ वटा पुल, एसियाकै नमूना बन्जिजम्प, मानव निर्मित यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन गर्न पाइने भएपछि महोत्सव आकर्षणको केन्द्र बनेको छ ।

जेसीजले प्रथम महोत्सव सफल भए नियमित महोत्सव गर्ने लक्ष्य आयोजकले लिएको छ । पोखरामा आउने पर्यटक पर्वतसम्म नआउने गरेको प्रसंग कोट्याउँदै पर्वतसम्म आउने अवसर पर्वतले दिन सक्नु पर्नेमा पत्रकार सम्मेलनमा आयोजकले जोड दिएका थिए । पोखरामा आउने पर्यटकहरुलाई पर्वतमा पनि ल्याउन पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गरिने कार्यक्रम संयोजक केदारनाथ आचार्यले बताए । कार्यक्रममा जेसीज निर्देशक शिवप्रसाद सुवेदी र महासचिव रामु शर्मा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया