मुक्तक लेखन कार्यशाला

समाधान संवाददाता २०७५ चैत ९ गते १०:१४

समाधान

मुक्तक मञ्च पोखराको आयोजनामा मुक्तक लेखन कार्यशाला भएको छ । मुक्तक लेखनलाई थप सशक्त बनाउने उद्देश्यले मुक्तक मञ्च, पोखराले आफ्नो नियमित कार्यक्रमको तेस्रो शृंखलाको रूपमा कार्यशाला सम्पन्न गरेको हो ।

मुक्तक मञ्चको प्रशिक्षण विभागका संयोजक रोशन तलकोटेको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मुक्तक मञ्चका कार्यसमितिसहित एक दर्जन मुक्तककार सहभागी भएका थिए । कार्यशालामा संरचनापक्ष, भावपक्ष, अलंकार विधा लगायत मुक्तकीय संगठनका विषयमा विविध छलफल गरिएको थियो । सहभागी मुक्तककारका मुक्तकका विषयमा मुक्तककार सञ्जीव पौडेल र सरला लामिछाने ‘सरू’ ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस क्रममा मुक्तककारका एक एक मुक्तकमाथि तिनमा प्रयुक्त शब्द, भाषिक विन्यास र भावपक्षमा गहनतापूर्वक छलफल भएको प्रशिक्षण विभागका सदस्य श्रीराम अधिकारी ‘गोर्जे’ ले जानकारी दिए ।

Advertisement

मुक्तक लेखनका क्रममा देखिएका विविध समस्या र तिनका समाधानका विषयमा छलफल गर्ने गरी कार्यशाला सञ्चालन गरिएको मुक्तक मञ्चका अध्यक्ष प्राञ्जलले जानकारी दिए । कार्यशाला सम्पन्न भएपछि सहभागी मुक्तककारले मुक्तकबारे आफूमा रहेका कतिपय अन्योललाई चिरेर स्पष्ट धारणा बनाउन सहयोग पुगेको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया