बलात्कार आराेपी ‘हाइ प्राेफाइल’ सुन्दरलाई ६ दिन म्याद थप

समाधान संवाददाता २०७५ चैत ११ गते ७:५३

समाधान सम्वाददाता

बालिका बलात्कार र यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका २ जनालाई जिल्ला अदालत कास्कीले आइतबार ६ दिन म्याद थप गरेको छ । शुक्रबार पक्राउ परेका पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ र बैंकर सुवास सुवेदी क्रमश बलात्कार र यौन दुव्र्यवहार मुद्दामा अनुसन्धानका लागि म्याद थप भएको हो ।

श्रेष्ठ स्वामित्वको होटल कान्तिपुरको छिमेकी घरमा बस्दै आएकी १६ वर्षीया बालिकामाथि बारम्बार बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उपस्थित गराएलगत्तै श्रेष्ठ र सुवेदीलाई अदालतमा पेस गरेका थिए । जिल्ला न्यायाधीश काजिबहादुर राईको इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप्ने आदेश गरेको हो ।

श्रेष्ठ पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष र पोखरा पर्यटन परिषद पूर्वअध्यक्ष हुन् । उनै बालिकामाथि यौन दुर्व्यवहार आरोप लागेका सुवेदी एनआइसी एसिया पस्र्याङ शाखाका प्रबन्धक हुन् ।

Advertisement

चितवन घर भएकी ती बालिका सानै उमेरदेखि कान्तिपुर होटल नजिकैको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएकी थिइन् । गत भदौदेखि विभिन्न लोभ देखाएर श्रेष्ठले बलात्कार गर्दै आएको बालिकाले प्रहरीसमक्ष बताएकी छन् । गत बिहीबार बेलुकादेखि बालिका सम्पर्कमा नआएपछि खोजीका लागि संरक्षकले प्रहरीमा निवेदन दिएका थिए ।

खहरेस्थित साथीको घरमा शुक्रबार उनी फेला परेकी थिइन् । प्रहरीले उनलाई सोध्दा केही भन्ने नमाने पनि महिला प्रहरीसँग भने उनी खुलेकी थिइन् ।

आफू बारम्बार बलात्कारको सिकार भएकै कारण विक्षिप्त भएर हिँडेर र आफूलाई मर्न मन लागेको उनले प्रहरीसमक्ष बताएकी छन् । आफू काम गर्ने घरमा आइरहने सुवेदीले पनि आफूलाई धेरैपटक बलात्कारको प्रयास गरेको बालिकाको आरोप छ ।

तपाईको प्रतिक्रिया