रीता अधिकारीको सेल्फ पोट्रेट लोकार्पण

समाधान संवाददाता २०७९ वैशाख १० गते १६:५९

पोखरा ।

कवि रीता अधिकारी ’ऋतु’ ले कवितासङ्ग्रह ल्याएकी छन् । ’ऋतु’को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । 

कवि तथा साहित्यकार ’ऋतु’ ले ३ दसक लगाएर लेखिएका आफ्ना कविताहरुको कृति ल्याएकी हुन् । कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि ऋतु समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबि भएको बताए ।

Advertisement

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए ।  सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे ।

कवि रमेश श्रेष्ठले रीतालाई आँफैले आँफैलाई कोर्न सक्ने कलाकारका रुपामा देखेको बताए । गायिका हरिदेवी कोइरालाले कवि ऋतु सरल,सबै कुरा बुझ्ने आमा जस्तै लागेको बताइन् ।

Advertisement

लामो समयमा कविता आफ्नो कविता सङ्ग्रहलिएर आएकी स्रष्टा ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिहरुलाइ फेरी फेरी पनि कविता कर्ममा उतार्ने बताइन् । साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा चिनारी राख्दै ऋतुलाई समकालीन साहित्य सिर्जनकर्ममा निरन्तर लागीरहने र अग्रजहरुको सम्मान गर्ने अध्ययनशील प्रतिभा भएको जिकिर गरे । कृति समीक्षागर्दै कवि आख्यानकार सरस्वती प्रतीक्षाले ऋतुलाई समसामयिक विषय चेतमा कलम चलाउन र समय बेवस्थापन गर्न जान्ने स्रष्टाका रुपमा पाएको बताइन् । कार्यक्रममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, दीपक समीप रीता अधिकारी ऋतु, शिब त्रिपाठी, उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया