प्रयोगविहीन प्रयोगात्मक कार्य

समाधान संवाददाता २०७५ चैत १५ गते १५:०७

सञ्जीव पौडेल

यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ । विद्यार्थीदेखि अभिभावक हुँदै शिक्षक र विद्यालयसमेत एक प्रकारको फरक मनोविज्ञानमा छन् । विद्यार्थी आफूमा अदृश्य तनाव लिएर परीक्षाको तयारीमा जुटिरहेका छन् । विद्यार्थीले पूरा गरिदिनु छ अभिभावकका सपना, जो उहाँहरूले आफ्नो समयमा पूरा गर्न सक्नुभएन । विद्यालयलाई खुसी तुल्याइदिनु छ, अघिल्ला वर्षभन्दा यस वर्ष नयाँ उचाईको नतिजा ल्याइदिएर । शिक्षकलाई सन्तुष्ट बनाइदिनु छ ता कि उनीहरूलाई आफूले गरेको मिहिनेतको उचित प्रतिफल प्राप्त भएको महसुस होओस् । चौतर्फी दबाबका बीचमा बसेर परीक्षा दिइरहेका विद्यार्थी उत्कृष्ट अंकको सपना देखिरहेका छन् र परीक्षा दिइरहेका छन् ।

जम्मा ८ सय पूर्णांकको माध्यमिक शिक्षा परीक्षालाई लिखित र प्रयोगात्मक गरी २ भागमा विभाजन गरिएको छ । विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित लामो समयदेखि यस प्रकारको शैक्षिक अभ्यास हुँदै आएको छ । हाल यस तहमा अनिवार्य गणित र ऐच्छिक गणितबाहेक सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । अतिरिक्त गणित अध्ययन गर्ने, नगर्ने र कम्प्युटर विषय अध्ययन गर्ने विद्यार्थीले कम्तीमा १ सय ५० पूर्णांकदेखि बढीमा २ सय पूर्णांकसम्म प्रयोगात्मक परीक्षाबाट अंक प्राप्त गर्छन् । करिब २० देखि २५ प्रतिशत अंक विद्यार्थी प्रयोगात्मक कार्यका नाममा प्राप्त गर्छन् । यसले विद्यार्थीलाई आफ्नो प्राप्तांक उकास्न निकै सहयोग पुगेको छ ।

Advertisement

प्रयोगात्मक सीप कि प्रयोगात्मक अङ्क ?
प्रयोगात्मक सीप विकास गरी सैद्धान्तिक शिक्षालाई व्यावहारिक पाटोसँग जोड्ने उद्देश्यसहित प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको हो । हरेक विषयमा संलग्न गरिएका विषयवस्तुका महत्वपूर्ण अंशलाई जीवनसँग जोड्ने सीप विद्यार्थीमा बढाउनका लागि नै यस प्रकारको व्यवस्था पाठ्यक्रममा गरिएको हो । तर यतिबेला आएर यो व्यवस्था केवल अंक बढाउने प्रयोजनका लागि मात्र सीमित हुँदै गएको छ ।

प्रयोगात्मक कार्य गर्नका लागि विद्यार्थीलाई अतिरिक्त समय आवश्यक पर्ने, कतिपय प्रयोगात्मक कार्यमा अतिरिक्त सामग्री चाहिने हुँदा अभिभावकलाई अतिरिक्त आर्थिक भारपर्ने र शिक्षकलाई समेत अतिरिक्त दिमागी कसरतको आवश्यकता रहने कारणले पनि सम्बन्धित तिनै क्षेत्रले यसलाई रुचिपूर्वक महत्व नदिएकाले यसको सफल कार्यान्वयन हुन सकिरहेको छैन ।

Advertisement

प्रयोगात्मक कार्य सीप विकासका लागि मात्र भए पनि विद्यालयमा सञ्चालन गरिनु जरुरी छ । कक्षाकोठामा निरन्तर एकै प्रकारको अध्यापनबाट मुक्त हुन पाइने हुँदा अधिकांश विद्यार्थी प्रयोगात्मक कार्य सम्पन्न गर्न थप रुचि राख्छन् । तर अतिरिक्त कार्यलाई बोझका रूपमा लिने केही विद्यार्थी र शिक्षकका कारण प्रयोगात्मक कार्य उपेक्षित बन्दै गएको छ । कहीं कसैबाट पनि अनुगमन नहुनाले पनि यसलाई झारा टराइका रूपमा सम्पन्न गरिँदै आइएको छ ।

अझ कतिपय विद्यार्थी त यस प्रकारका कार्यबारे केही जानकारी नै नपाइकन परीक्षा उत्तीर्ण गरी माथिल्लो तहमा अध्ययन गरिरहेका छन् । ‘गर्ने होइन कि गरेजस्तो गर्ने’ मै सीमित भएका प्रयोगात्मक कार्यहरू अधिकांशत विद्यार्थीको प्राप्तांक बढाउने गतिलो माध्यमका रूपमा मात्र कामयावी हुने गरेका छन् ।

लक्ष्य एकातिर कामकुरो अर्कोतिर
प्रयोगात्मक कार्यलाई कुनै पनि विषयमा २५ प्रतिशतको हाराहारीमा पाठ्यक्रममा राख्नु भनेको विद्यार्थीलाई सम्बन्धित विषयको व्यावहारिक सीपसमेत प्राप्त होओस् र विद्यार्थीले आफूले जानेको सीपलाई जीवनसँग जोडेर हेर्न सकून् भन्ने हो । अर्थात् प्रयोगात्मक परीक्षाको व्यवस्था गर्नुको उद्देश्य शिक्षालाई व्यावहारिकतासँग लगेर जोड्ने भन्ने नै हो । शिक्षाको औचित्य जीवनमा परिवर्तन ल्याउनुसँग विशेष रूपले अन्तरसम्बन्धित छ । सीपविहीन शिक्षाले हामीकहाँ शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा अनिवार्य शिक्षालाई व्यावहारिक जीवनसँग जोड्नु अत्यावश्यक भइसकेको छ ।

तर आज विद्यार्थी कक्षामा कुनै पनि प्रयोगात्मक कार्य नगरिकन माध्यमिक शिक्षा पार गरेर माथि पुग्छन् । बिना प्रयोगात्मक कार्य निर्धारित तह पार गरेर माथि पुग्नु भनेको घोडा नचिनिकन बुई चढेजस्तै हो । केही अपवाद बाहेक विद्यार्थीले प्रयोगात्मक कार्य नगरीकनै अंक प्राप्त गरिरहेका छन् । यो क्रमले यसरी समाजमा जरा गाडिसकेको छ कि लिखित परीक्षाको ७५ अंकमा २५ अंकसमेत प्राप्त नगर्ने विद्यार्थीलाई २५ अंकको प्रयोगात्मक परीक्षामा पूणांककै हाराहारीमा अंक नदिइएमा विद्यालयका प्रधानाध्यापकले र सम्बन्धित विषयका शिक्षकले अभिभावकको खप्की खानुपर्छ ।

यस प्रकारको अवस्थाले यो कुरा प्रमाणित गरिरहेको छ कि प्रयोगात्मक परीक्षाको करिब २५ प्रतिशत अंक पूर्णांक कै हाराहारी प्राप्त गर्नु मानौं कि सबै विद्यार्थीको मौलिक हक हो । यसमा १÷२ अंकमात्रै कम दिनु पनि सिधैं नैसर्गिक अधिकार उल्लंघन हो । सिंगो समाज यस प्रकारको मनोविज्ञानमा छ ।

यता विद्यालय वा शिक्षक अभिभावक तथा विद्यार्थीसँग किन दहलफसल गरिरहनु भन्ने मनोविज्ञानबाट सञ्चालित भएर क्षमता नभएका विद्यार्थीलाई पनि माथिल्लै अंक प्रदान गरिदिने संस्कार नै बनेको छ आजकल । अनि अर्कोतिर शिक्षकमा कस्तो मनोविज्ञानले काम गरिरहेको देखिन्छ भने जसै अंक प्रदान गर्दा माथिल्लै अंक प्रदान गर्नुपर्ने भएपछि प्रयोगात्मक कार्य गर्ने र परीक्षा लिने झन्झटमा किन समय र सीप खर्च गरिरहनु ? शिक्षकमा रहेको यस प्रकारको मनोविज्ञानले विद्याथीलाई ठुलो घाटा भएको छ ।

आजका विद्यार्थीलाई ज्ञानप्राप्तिमा घाटा हुनु भनेको भोलि देशको समृद्धिमा आँच आउनु हो । ज्ञानलाई अंक प्राप्तिको तुलनामा हेर्ने हो भने त तत्कालका लागि विद्यार्थीलाई यस प्रकारको गतिविधिले फाइदा नै भएको छ किन कि उनीहरू बिना कुनै अतिरिक्त मिहिनेत उपल्लो अंक प्राप्त गरिरहेका छन् । तर दीर्घकालीन हिसाबले हेर्ने हो भने विद्यार्थी आफूले प्राप्त गरेको ज्ञानलाई जीवनसँग जोड्ने सीप सिक्नबाट पूर्णत बञ्चित हुन्छन्÷भइरहेका छन् । यसले शिक्षाको उद्देश्य प्राप्तिमा समेत अवरोध सिर्जना गरेको छ ।

या त प्रयोगात्मक परीक्षाको व्यवस्था अन्त्य गरिनुपर्छ या त प्रयोगात्मक परीक्षालाई यसको उद्देश्यअनुरूप अनिवार्य बनाइनुपर्छ । अन्यथा शिक्षाले जीवनमा कुनै परिवर्तन ल्याउँदैन । जब शिक्षामा नै व्यावहारिकता लागु हुँदैन र यस प्रकारको अनियमितता हुन्छ तब देश विकासका अन्य क्षेत्रमा यसको प्रत्यक्ष असर नपर्ने कुरै छैन ।

गल्ती कसको ?
वास्तवमा कुनै पनि तहको उद्देश्य राम्रोसँग कार्यान्वयन नहुनुमा खासमा गल्ती त शिक्षा मन्त्रालयकै हो । तर शिक्षाको हरेक उद्देश्यलाई कार्यान्वयन गराउने भनेको शिक्षकले नै हो किन कि शिक्षककै माध्यमबाट विद्यार्थीसम्म शिक्षाका सैद्धान्तिक एवं व्यावहारिक पक्ष कार्यान्वयन हुने हुन् । शिक्षकको सक्रियताकै आधारमा हरेक शिक्षण सिकाइ प्रक्रिया सफल र सबल हुने हुन् ।

यदि शिक्षकले आफूलाई जिम्मेवार ढंगले प्रस्तुत गर्न सकेन भने त्यसले वर्तमानमाथि त ठूलो अन्याय हुन्छ नै भविष्य पनि अन्धकार हुनेमा कुनै दुईमत छैन । शिक्षक समाजका अगुवा हुन् । जुन दिनसम्म समाजले शिक्षकको विश्वास गर्छ त्यो दिनसम्म धेरै कुरा ठीकै हुन्छन् । तर जुन दिनदेखि समाजमा शिक्षकको महत्व हराउँछ त्यो दिनदेखि समाजमा धेरै कुरामा अस्थिरता र अराजकता बढ्न थाल्छ ।

अभिभावकको चाहना अनुसार शिक्षण गर्ने कि शिक्षाका उद्देश्यमा केन्द्रित भएर ? शिक्षा कसका लागि ? विद्यार्थीका लागि कि अभिभावकका लागि ? यस कुराको निक्र्योल शिक्षकले गर्नुपर्ने हुन्छ । विद्यार्थीका लागि शिक्षा प्रदान गरेर भविष्यका लागि सक्षम बनाउने कार्य शिक्षकले गर्ने हो । बिना प्रयोगात्मक कार्य पूर्णांककै हाराहारी अंक प्रदान गर्नाले विद्यार्थी सक्षम बन्छन् त ? यसबारेमा शिक्षक र विद्यालय प्रशासनले गम्भीर भएर सोच्नुपर्छ । प्रत्येक शिक्षकले आफूले अध्यापन गराउने विषयसँग सम्बन्धित प्रयोगात्मक कार्य कसरी प्रभावकारी बनाउने भन्ने बारेमा नियमित रूपमा खोज, अनुसन्धान र सक्रियता बढाउन सकेमा शिक्षा प्रभावकारी बन्नेमा कुनै शंका छैन । शिक्षालाई प्रभावकारी बनाउने प्रमुख जिम्मेवारी शिक्षकको नै हो ।

यसको अर्को नकारात्मक असर कहाँ परिरहेको छ भने प्रयोगात्मक अंकको सहयोगले माथिल्लो श्रेणीमा उत्तीर्ण भएपछि अंककै आधारमा विज्ञान विषय अध्ययन गर्ने र अनुत्तीर्ण हुने घटना प्रशस्त देखिँदै र दोहोरिँदै आएका छन् । विद्यार्थीको क्षमता जति हो, उसले जे जस्ता ज्ञान, सीप, धारणा विकास गरेको छ, त्यसका आधारमा मूल्यांकन गरेमा मात्र मूल्यांकन पद्धति प्रभावकारी हुने हो । एक त वर्षभरि पढाएर २÷३ घन्टा परीक्षाका आधारमा मूल्यांकन गरिन्छ, जो आफैंमा त्रुटिपूर्ण छ ।

यही त्रुटिलाई अलिकति भए पनि सच्याउन सकिने प्रयोगात्मक परीक्षालाई समेत प्रभावकारी ढंगबाट अगाडि बढाउन नसकेपछि प्रयोगात्मक व्यवस्थाको प्रयोजन अंकवृद्धि मात्रै हुन पुगेको छ । सहज तरिकाले उत्तीर्ण हुनका लागि वा राम्रो अंक ल्याउनका लागि मात्र प्रयोगात्मक व्यवस्था राखिएको हो ? अवश्य होइन । यसको प्रयोजन भनेको विद्याथीर्ले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्ने कार्यसँग सम्बन्धित छ ।

प्रयोगात्मक कार्यको व्यवस्थालाई कक्षाकोठा, पुस्तकालय, प्रयोगशालादेखि समाजसम्म सञ्चालन गरी विद्यार्थीलाई समाज र जीवनका सापेक्षमा ज्ञान सिक्न दिनु आजको हामी सबैको दायित्व हो । यस दायित्वलाई बहन गर्न शिक्षक, अभिभावक र विद्यार्थी तिनै पक्षको सक्रियता निरन्तर बढ्दै जानुपर्छ । परीक्षाको हकमा माध्यमिक परीक्षा जस्ता केन्द्रीय परीक्षामा पनि प्रयोगात्मक परीक्षालाई व्यवस्थित बनाएर सञ्चालन गरिनु अपरिहार्य भएको छ । यसो गर्न नसकेमा प्रयोगात्मक कार्यको औचित्य रहँदैन । यसको औचित्य कार्यान्वयनमार्फत प्रमाणित गर्न नसक्नु सिंगो शिक्षा नीति नै असफल हुनु हो ।

यसो हुनु हामी सबैका लागि दुखद् कुरा हो । तसर्थ परीक्षा अगावै कक्षा सञ्चालनका क्रममै प्रयोगात्मक परीक्षालाई सञ्चालन गर्ने काममा प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाई र हरेक स्थानीय तहमा रहेका शिक्षा शाखाले यसको व्यवस्थापन गर्नुपर्छ । यसो हुन सकेमा प्रयोगात्मक परीक्षा केन्द्रीय तहलाई बोझिलो पनि बन्दैन, स्थानीय सरकार शिक्षा क्षेत्रमा थप जिम्मेवार बन्दै जान्छ र स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनले प्राथमिकता पाउँछ । प्रयोगात्मक कार्यलाई प्रयोगविहीन र अंकमुखी नबनाइयोस् ।

तपाईको प्रतिक्रिया