क्षेत्री समाजद्वारा जनसंख्याको आधारमा प्रतिनिधित्व गर्न माग

समाधान संवाददाता २०७५ चैत २१ गते १३:५८

समाधान संवाददाता
पोखरा

क्षत्री समाज नेपालले राज्यको हरेक तहमा जातीय जनसंख्याको प्रतिशतको आधारमा पूर्ण समानुपतिक प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

राज्यका विभिन्न तहमा जनसंख्या प्रतिशतको आधारमा सबैको समान पहुँचको व्यवस्था गर्न समाजको माग छ । समाजको पोखरामा चैत २३ र २४ गते हुने केन्द्रीय महाधिवेशनबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले जातीय जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गर्नसमेत आग्रह गरे ।

Advertisement

उनले आरक्षणलार्ई वैज्ञानिक र विपन्न वर्गको समेत प्रतिनिधित्वको व्यवस्था गर्नसमेत माग गरे । ‘सबै जात जातिलाई राज्यले समान व्यवहार गर्नुपर्छ,’ अध्यक्ष थापाले भने, ‘सबै जात जातीको प्रतिनिधित्व सुनिश्चित र राज्यबाट समान व्यवहार भए जातिय सद्भाव कायम हुने छ ।’ क्षत्री समाज नेपालले खस क्षत्रीलाई आइएलओ १६९ अन्तर्गत आदिवासीको सूचीमा राख्न मागसमेत गरेको छ ।

क्षत्री समाज नेपालका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले क्षत्री समाज रुपमा भए पनि सारमा जातीय समाज नभएको दाबी गरे । महाधिवेशनमा ६० जिल्लाका ५ सय जनाभन्दा बढी प्रतिनिधिले भाग लिने महासचिव रोमबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

महाधिवेशन उद्घाटन समारोहमा क्षत्री जातिको भेषभुषा, सारुन नृत्य र झाँकी प्रदर्शन गरिने केन्द्रीय सचिव तथा प्रचार समितिका संयोजक कृष्ण थापाले बताए ।

महाधिवेशनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, कमल थापा, चित्रबहादुर केसी, पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालसहित संघीय तथा प्रदेशका व्यक्तित्वको सहभागिता रहने क्षत्री महिला समाजका केन्द्रीय महासचिव विमला भण्डारीले बताइन् ।

क्षेत्री समाज नेपाल क्षेत्र नं ३ को अगुवा भेला तथा सम्मान कार्यक्रम मंगलबार हेमजामा भएको छ । भेलामा क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले क्षेत्रीको पहिचान कायम हुनुपर्ने बताउँदै केन्द्रीय अधिवेशनमा सक्रिय सहभागी हुन आग्रह गरे । कार्यक्रममा क्षेत्री समाज नेपाल गण्डकी प्रदेश सचिव लक्ष्मी अधिकारी, क्षेत्री समाज नेपाल कास्की जिल्ला वरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारी र बुद्धदेवी कुँवरले केन्द्रीय अधिवेशनमा उल्लेख्य सहभागिताका लागि आग्रह गरे ।

तपाईको प्रतिक्रिया