हाम्रो स्मृतिमा पिताजी

समाधान संवाददाता २०७९ असार १७ गते १२:०१

हेमन्त/जनक/राजीव पहारी
होइन जस्तो लाग्छ, विश्वास गर्न अझै कठिन भइरहेको छ । तर, तीतो सत्य उहाँ हाम्रो बीचमा रहनु भएन । हाम्रा आदरणीय पिताजी हामीलाई छाडेर अलप हुनुभयो । उहाँ अब कहिल्यै फर्केर आउनुहुन्न भनेर सम्झदा भक्कानो फुटेर आउँछ । तर यो दैवको भयंकर खेललाई स्वीकार्नुको विकल्प छैन । जन्मसँगसँगै मृत्यु निश्चित हुन्छ । यो विधिको विधान हो, जसलाई स्वीकार्नुको विकल्प छैन । तर, सत्य कुरालाई पनि मान्न निकै कठिन भइरहेको छ । पिताजी हामीसँगसँगै हुनुहुन्छ जस्तो झझल्को लागिरहन्छ ।

पिताजीलाई उहाँकी आमाले सानैमा टुहुरो बनाएर जानुभयो । आमाको माया, ममता, प्रेमबाट बञ्चित उहाँ सानोमा आफ्ना पिताजीको छत्रछायाँमा पनि रहन पाउनुभएन । किनकी हजुरबुवा परिवारको लालनपालन गर्न विदेशिनु भएको थियो । मातापिता दुवैको उचित स्नेह र ममताबाट बञ्चित भएरै उहाँको बाल्यकाल बित्यो । हाम्रा पिताजीको वैवाहिक जीवन पनि अत्यन्त अनौठो र अपत्यारिलो हुनपुग्यो । एकै दिनमा २ जना हाम्रा आमाहरुसँग उहाँको विवाह सम्पन्न भयो । पिताजीले हामी ४ सन्तान र २ आमालाई एउटै व्यवहार गर्नुभयो । दसैंमा आमाहरुलाई साडी किन्दा एउटै रङ, एउटै खालका, हामी छोराछोरीलाई पनि त्यस्तै । ३ छोरा र १ छोरी सबैलाई राम्रो केयर गर्नुभयो ।

बाबाको समय, व्यवहार, रेखदेखबाट हामी सबै प्रभावित भयौं । त्यसैले आजको दिनसम्म पनि हामी सबै एक गठ्ठा छौं । परिवारलाई उचित वातावरण दिन र अभिभावकत्व प्रदान गर्न उहाँ कहिल्यै चुक्नुभएन । उहाँ सधै आदर्श बनेर हामीलाई जीवनोपयोगी शिक्षा दिइरहनु भयो । उहाँले दिएको संस्कारले हामीलाई एकजुट हुन सिकायो । पिताजीको राजनीतिक जीवन विद्रोही र क्रान्तिकारी खालको रह्यो । हाम्रा तीनै जना हजुरबुबाहरु कांग्रेस हुनुहुन्थ्यो तर उहाँ वामपन्थी विचारधाराबाट प्रभावित हुनुभयो । जसका कारणले गर्दा हाम्रो पूरै परिवार वामपन्थी भयो । शोषित, उत्पीडित र पछि परेकाहरुको पक्षमा वकालत गर्न उहाँले हामीलाई प्रेरित गरिरहनुभयो । हामी अहिले पनि उहाँको आदर्श र उहाँले देखाएको बाटोमा यात्रारत छौं ।

Advertisement

उहाँले निष्कलंक निष्ठाको राजनीति गर्नुभयो । हाम्रो घरलाई सबै नेतालाई राख्ने सेल्टर बनाइदिनुभयो । नेताहरुलाई खुवाउँदा आनन्द मान्नु हुन्थ्यो । आफूले गरेको सेवाबाट अति खुसी हुनुहुन्थ्यो । नेताहरुसँग आफ्ना लागि केही माग राख्नु हुन्नथ्यो । घरका परिवारका सबै सदस्यलाई राजनीतिमा लाग्नुपर्छ, राजनीति देशको मुल नीति हो भन्दै हामीलाई सभा, समारोहमा जान उत्साहित गर्नुहुन्थ्यो । घरको यो वातावरणले हामीलाई विभिन्न राजनीतिक आन्दोलनमा लाग्न र कार्यक्रममा सरिक हुन सघायो ।
आयआर्जनको सिलसिलामा पिताजी भारत जानुभयो । त्यहाँ पनि कम्युनिस्ट आन्दोलनका सभा, समारोहमा सरिक हुनुहुन्थ्यो । उहाँको कमजोरी भनौं या महानता आफूले गरेको कामको जस लिनलाई कहिल्यै प्रचारबाजी र होडबाजीमा लाग्नुभएन । २०३७ सालमा नेपाल आएपछि विभिन्न सामाजिक संघ, संस्थामा र राजनीतिक गतिबिधिमा निरन्तर सक्रिय रहनुभयो ।

स्कुलको सञ्चालक समिति सदस्य, प्रभात युवा क्लबको सदस्य, वडामा जनपक्षीय जनप्रतिनिधि, पहारी कुल संरक्षण समिति स्थापना जस्ता अनगिन्ति संघ, संस्थामा उहाँले काम गर्नुभयो । राजनीति, सामाजिक क्षेत्रमा समेत निकै सक्रिय पिताजी हामीलाई छाडेर सदाका लागि जानुभएको छ भन्ने सम्झदा मन भारी हुन्छ । अब उहाँले देखाएको मार्गदर्शनमा अघि बढ्नु नै उहाँको सच्चा स्मृति र श्रद्धाञ्जली ठहरिन्छ । पिताजीको ९९ गुण थिए, एउटै अवगुण थियोः उहाँ आफ्नो परिवारको फाइदाका लागि कसैको चाकरी, चाप्लसी गर्नु हुन्नथ्यो । उहाँको आदर्श र जीवन शैलीबाट हामी अत्यन्तै प्रभावित छौं । पिताजी हामी अर्काे जुनीमा पनि हजुरका छोराछोरी भएर जन्मन पाऊँ । हजुरलाई अत्यन्तै मिस गरिरहेका छौं । जहाँ हुनुहन्छ, सुखी रहनुहोस्, हजुरको आत्माले शान्ति पाओस्, बैकुण्ठमा बास होस् !
अल बिदा !

Advertisement

तपाईको प्रतिक्रिया