पत्रकारिता साइबर अपराध होइन

पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ताण्डव र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइमसम्बन्धी उजुरी परेका आधार प्रहरीले समातेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेपछि काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी कास्की प्रहरीको सहायतामा पत्रकार गिरीलाई सोमबार काठमाडौं लगिएको छ ।
अर्काे समाचार लेखनको विषय साइबर अपराध होइन । विद्युतीय कारोबार ऐन अनुसार पत्रकारलाई मुद्दा लगाउन मिल्दैन । पत्रकार र पत्रकारिताबारे आकर्षित हुने कानुन त्यो होइन । किनभने उक्त ऐनको प्रस्तावनामा प्रष्टसँग ‘विद्युतीय तथ्यांक आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेख सिर्जना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न’ भनिएको छ ।
कानुनको सामान्य सिद्धान्त के हो भने कुनै विषयसँग सम्बन्धि विशेष र खास कानुन छ भने त्यो विषय खास वा विशेष कानुन नै आकर्षित हुन्छ । समाचारको मामलामा आकर्षित हुने कानुन थुप्रै छन् । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, प्रेस काउन्सिल ऐन र राष्ट्रिय प्रसारण ऐन पत्रकार र पत्रकारिता वा समाचार तथा लेखबारे आकर्षित हुन्छन् ।
त्यसैले एउटा विषयलाई अर्काे कानुनका आधारमा आरोपित गरेर पत्रकार पक्राउ गर्नुबाटै प्रहरीको नियतमै खोट भएको बुझ्न कठिन हुँदैन । यो विषय पत्रकारहरु आफ्नो छाता संगठन नेपाल पत्रकार महासंघमार्फत धेरैपटक उठाइसकेका छन् । प्रहरीले यो नबुझेको पक्कै छैन । विद्युतीय कारोबार ऐन आएयता प्रहरीले झन्डै सयजना पत्रकारलाई पक्रेर दुख दिइसकेको छ ।
समाचारमा सन्तुलन हुनुपर्छ भनिन्छ । ताण्डवले व्यवसायी विपिन बतासले जग्गा कारोबारका क्रममा ठगी गरेको समाचार लेख्दा उनको भनाइ राख्ने धर्म निर्वाहको प्रयास गरेको छ । विपिनको भिडियो अन्तर्वार्ता नै लिएर उनका आफ्ना कुरा राख्न मौका दिएको छ । एकतर्फी कुरामात्रै लेखेको छैन । त्यस हिसाबले पत्रकारिताकै धर्म पनि उसले निर्वाह गरेको देखिन्छ । त्यसो हुँदाहुँदै पत्रकारलाई दुख दिने मनसाय राखी साइबर अपराध गरेको उजुरीलाई स्वीकारेर पक्राउसम्म गर्नुबाट प्रहरी कतैबाट प्रभावित भयो कि भन्ने शंका उठ्नु स्वाभाविक छ ।
यसै पनि बतास ग्रुपलाई शक्तिशाली व्यक्ति, नेता, कर्मचारी, प्रहरी प्रशासनमा प्रभाव राख्ने भनेर आममानिसहरुले शंका गर्दै आएका छन् । यो घटनाले त्यस्तो शंकालाई मलजल गरेको छ । विपिनबाट पीडित भयौं भन्नेहरुले गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको छैन तर समाचार लेखेकै भरमा पत्रकार गिरीलाई भने पक्राउ गरिएको छ । यत्तिबाटै प्रष्ट हुन्छ कि प्रहरी संगठनका अधिकारी प्रेसप्रति कति निर्मम छन् ।
संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको हकलाई आघात पुर्याउँदै प्रहरीबाट भएगरेका यस्ता कार्यले सरकारकै छविलाई धुमिल पारेको छ । तसर्थ सरकारले प्रहरीलाई निर्देशन जरुरी छ कि समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ नगर्नू र पत्रकारिता साइबर अपराध होइन । होइन भने देशभरका पत्रकार फेरि पनि प्रेस स्वतन्त्रताको लडाइँ लड्न तयार छन् । पत्रकारिता पेसा आखिर संघर्षकै अर्काे नाम हो ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया