आदिकवि र मिजौरी सदनबीच शैक्षिक सहकार्य

समाधान संवाददाता, दमौली
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी सदन स्टेट विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि हस्ताक्षर भएको छ । बिहीबार आदिकवि भानुभक्त क्याम्पसमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी सदन स्टेटका तर्फबाट उपाध्यक्ष ब्राड हडसनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात २ वटै शैक्षिक संस्थाका विद्यार्थी तथा प्राध्यापकले शैक्षिक संस्थामा उच्च शिक्षाको अध्ययन, तालिम तथा अनुसन्धान, अध्ययन भ्रमण, गोष्ठी तथा बैठकमा सहभागिता जनाउन पाउने छन् । हस्ताक्षरमा अन्तर्राष्ट्रियस्तरको शिक्षा पद्धतिबारे ज्ञान लिन सहज हुने आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि उक्त विश्वविद्यालयका उपाध्यक्ष ब्राड हडसनले आदिकविसँग सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । विश्वका १७ देशका विभिन्न क्याम्पससँग विश्वविद्यालयले यसखाले सम्झौता गरेको र नेपालको पहिलो क्याम्पसको रुपमा आदिकविसँग सम्झौता गर्न पाएकामा नयाँ अनुभव भएको बताए ।
‘समुदायबाट सञ्चालित आदिकविसँग सम्झौता गर्न पाउँदा हामीहरुलाई ज्यादै खुशी लागेको छ,’ उनले भने, ‘यो सहकार्य वर्षौवर्षसम्म रहिरहोस् भन्ने चाहन्छौं ।’ उनका अनुसार आदिकविका विद्यार्थीले मिजौरी सदनमा १ सय भन्दा बढि विषयमा अध्ययन गर्न सक्नेछन् । विश्वविद्यालयका डीन माइकेल स्यान्डरस्का अनुसार जर्मनी, स्वीडेन, फ्रान्स, जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको, युक्रेन लगायतका देशका क्याम्पससँग विश्वविद्यालयले सहकार्य गरेका छ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि दुबै शैक्षिक संस्थाका विद्यार्थी आदानप्रदान र प्राध्यापकबीच अनुभव आदानप्रदान गर्न सहयोग पुगेको उनले बताए । उनले भने, ‘आदिकविका धेरै भन्दा धेरै विद्यार्थी अब यहाँ अध्ययन गर्न सक्नेछन् । त्यसको लागि यो सम्झौता फलदायी हुनेछ ।’ उनका अनुसार उक्त विश्वविद्यालयमा हाल २ जना नेपाली अध्ययनरत छन् ।
आदिकविबाट विश्वविद्यालय अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि भिषामा सहजताका लागि नेपालस्थित अमेरिकी दूतावाससँग महत्वपूर्ण छलफलसमेत भइसकेको उनले जानकारी गराए । उनले भने, ‘विश्वविद्यालयमा अध्ययनका लागि शुल्क तिर्न सक्ने, अमेरिका नै पढ्न चाहनुको कारण खुलाउन सके भिषा प्रक्रियाका लागि कुनै समस्या हुँदैन ।’ उक्त विश्वविद्यालयमा ४५ देशका ६ हजार विद्यार्थी अध्ययनरत रहेको निर्देशक च्याड स्टेविन्सले जानकारी दिए ।
उनले विभिन्न देशका क्याम्पससँग सम्झौता गर्नु पूर्व अध्ययन गर्ने गरिएको र आदिकवि त्यसमा छनौट हुन सफल भएको बताए । आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष रामचन्द्र बस्नेतले विदेशी विश्वविद्यालयसँगको सहकार्य गर्ने अवसरले ‘उत्तम प्राध्यापन सर्वोत्कृष्ट नतिजा’ मूल नारालाई मूर्त रुप दिँद क्याम्पसको शैक्षिक गुणस्तर माथि उकास्न सहयोग पुग्ने बताए ।
विसं २०४३ सालमा स्थापित आदिकवि भानुभक्त क्याम्पसमा २ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पस प्रमुख हड्खलेका अनुसार तीमध्ये ८० प्रतिशत छात्रा छन् । त्यस्तै १८ प्रतिशत दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । कुल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् ।
क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थीहरु क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको हड्खलेले बताए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया