सरोजगोपाल स्मृति साँझ

समाधान संवाददाता २०७९ असोज २ गते १३:४२

पोखरा ।
पोखरामा शनिबार कालजयी गीतका संकलक तथा गायक सरोजगोपाल बज्राचार्यको आठौं स्मृति दिवसमा सरोजगोपाल स्मृति साँझ आयोजना भयो । साँझमा तारा थापा, रामभक्त जोजीजू, इतु जोजीजू, विनोद बाँनिया लगायतका कलाकारले सरोज गोपालका चर्चित दर्जन गीत सुनाए ।

तारा थापाले स्मृति साँझमा गायक रामभक्त जोजिजुसँग ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर…’ र ‘खुट्टैमा निल परे पर्ला झ्याउँरेमा ननाची छोड्दिन…’ गीत सुनाइन् । २०२८ मा थापा र सरोजगोपालले सो गीत युगल रेर्कड गराएका थिए । रेडियो नेपालबाट बज्न थालेपछि यी २ गीतले दुवैलाई चर्चाको चुलीमा पुर्‍याएका थिए । ‘मेरो सांगीतिक यात्राको एउटा महत्वपूर्ण र कहिल्यै पनि भुल्न नसकिने नाम हो सरोजगोपाल,’ थापाले भनिन्, ‘जब–जब मेरो सांगीतिक यात्राबारे कुराकानी हुन्छ, तब मेरो पहिलो गीत र गीतकारको बारेमा भन्नुपर्ने हुन्छ ।’

सरोजगोपालकी श्रीमती बाबा राणाले सरोजगोपालको शब्द तथा संगीत रहेको ‘बिर्सी जाने निष्ठुरीलाई सम्झँदै सम्झँदै बसुँला…’ गाउँदा माहोल भावुक बन्यो । सरोजगोपालका छोरा फिरोजगोपालले बुबाको सम्झनामा ‘तोरी हरियो, माया लाउनाले बीचै परियो…’ र ‘गाईले पराल खायो बरिलै…’ गाए । गायक विनोद बानियाँले सरोजगोपालको पहिलो र चर्चित गीत ‘देउराली उकाली चढेर’ गीत प्रस्तुत गरे ।

Advertisement

लोक गायिका कविता आलेमगर, रामभक्त जोजीजू, इतु जोजिजुले सरोजगोपालका सदाबहार गीत प्रस्तुत गरे । ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले…,’ ‘सैको घर काँ हो काँ…’, ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल..’ लगायत गीत सुन्दै पोखरेली मन्त्रमुग्ध बने ।

साहित्यकार सरुभक्तले नेपालको सांगीतिक आकाशमा सरोजगोपालको देन अविष्मरणीय रहेको बताए । प्रकाश सायमीले सरोजगोपालसँगको आफ्नो सामीप्यता सुनाए । २००९ मंसिर २ गते जन्मेका गोपाल बज्राचार्य भए पनि गीत गाउन थालेपछि उनले सर्जक जातपातभन्दा माथि हुन्छ भन्दै नामै फेरेर सरोज गोपाल बनाएका थिए । सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो । नगर विकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वेच्छिक अवकास लिएका थिए ।

Advertisement

त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रसारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । माछापुच्छ्रे एफएममा स्टेसन प्रमुखका रुपमा समेत उनले काम गरेका थिए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा बज्राचार्यको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया