फिल्म प्रचारमा बाबरी टीम पोखरामा

समाधान संवाददाता २०७९ असोज १० गते १६:५०

पोखरा ।
फिल्म ‘बाबरी’ टीमले पोखरा आएर पत्रकारसँग भेटघाट गरेको छ । असोज १४ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबरी’ का कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नटकर फिल्म प्रचारका लागि पोखरा आएका हुन् । उनीहरुले पोखराबाट आफुले मुटुभरीको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

फिल्मकी मुख्य पात्र अदिती बुढाथोकीले आफु बाबरीको प्रेमीकाको रुपमा प्रस्तुत भएको बताएकी छिन् । केटाहरुसँग नडराउने तर प्रेमील भूमिका उनको छ । आफ्नो दोस्रो फिल्म भएको उल्लेख गर्दै अदितीले बाबरीबाट धेरै अपेक्षा राखेकी छिन् । ‘बाबरी’ मेरा लागि दोस्रो फिल्म हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’, उनले भनिन् ।

उसो त अदिती भारत बस्दै आएकी छिन् । भारतीय केही म्युजिक भिडियोहरुमा समेत उनको अभिनयलाई देख्न सकिन्छ । अदितीलाई नेपाली फिल्म उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाई उनको छ । बाबरी एक प्रेमील कथा भएकाले र आफुलाई मन परेकाले अनुबन्धित भएको उनले बताइन् ।

Advertisement

यसअघि ‘इन्टुमिन्टु लण्डनमा’ फिल्ममा अभिनय गरेका धिरज मगर पनि बाबरीबाट आशावादी देखिन्छन् । आफ्नो पहिलो फिल्ममा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको भनाई उनको छ । बाबरीमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर उनको छ । भन्छन्, ‘करिब तीन वर्ष पछि बाबरी मार्फत पर्दामा आएको छु । पहिलो फिल्ममा मेरो अभिनयलाई जसरी दर्शकले मन पराउनुभएको थियो, बाबरीमा पनि मन पराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’, उनले भने ‘बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा हो ।’

बाबरी मार्फत डेब्यु गरेका कलाकार हुन् धिरज नटकर । लामो समय भारतमा बसेका धिरजलाई नेपाली भाषा बोल्न समस्या छ । तर पनि उनले कोसिस गरेका छन् । जसलाई बाबरीको ट्रेलरमा देख्न सकिन्छ । उनी आफै पनि नेपाली भाषा सिक्दै गरेको बताउँछन् । नटकर बाबरीबाट आशावादी छन् । भन्छन्,
‘फिल्म बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । लवजमा केही समस्या अवश्य छ । जसलाई सुधार्दै लैजाने प्रयत्न रहनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।’ बाबरीमा उनी प्रेमील भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगर सँग हुन्छ ।

Advertisement

पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरबीन वान्तवा राई बाबरी फिल्म सफल हुनेमा विश्वस्त छन् । हर प्रेमी प्रेमीकाको कथा भएकाले पनि दर्शकले मायालु तवरले चलचित्रलाई हेर्ने भनाई उनको छ । उनले फिल्म हङकङ, जापान, कोरिया, युके लगायतका देशमा समेत प्रदर्शन हुने बताए ।

मोरङको लेताङ, भारतको सिक्किम र काठमाडौंमा छायाँकन गरिएको फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेको हुन् । गणेश बुढाथोकी र पुष्पा लता बुढाथोकीकाे लगानीमा फिल्म बनेकाे हाे । फिल्ममा धिरज मगर, अदिती बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट, कमलमनि नेपाल, उर्मिला बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

काली प्रसाद बासकोटा, सुजन चापागाई, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

तपाईको प्रतिक्रिया