तनहुँमा नेकपा एसको विद्रोह

पोखरा ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ५७ उम्मेदवार कायम भएका छन् । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा ५ जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएका हुन् । जिल्लामा सत्ता गठबन्धनलाई स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले सकस बनाएका छन् ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा–१ (क)का लागि ११ र प्रदेशसभा (ख)का लागि सात जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–२ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा (क)का लागि आठ र प्रदेशसभा (ख)का लागि ६ जनाको उम्मेदवारी कायम छ ।
तनहुँ क्षेत्र नं १ तर्फ दुई र तनहुँ क्षेत्र नं २ तर्फ तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवार विश्व बाँस्तोला र प्रदेशसभा (क) तर्फ उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार नगेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।
तनहुँ क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख)का जनता समाजवादीका उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेशसभा (क)का नेपाली कांग्रेस (बीपी)का उम्मेदवार डा शेषरमण न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेम परियारले उम्मेदवारी फिर्ता लिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)बाट एकबहादुर राना, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेश्नलिस्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् ।
स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नं २ तर्फ नेकपा (एमाले)बाट किरण गुरुङ, नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा छन् ।
तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क)तर्फ एमालेबाट रामबहादुर गुरुङ, कांग्रेसबाट अशोककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजयकुमार शाही, मंगोल नेसनल अर्गनाइजेशनबाट भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी)बाट विद्यानाथ ढकाल, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, स्वतन्त्रबाट हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।
तनहुँ क्षेत्र नं १ प्रदेशसभा (ख)तर्फ एमालेबाट पूर्णबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, जनता समाजवादी पार्टी नेपालबाट किसन भुजेल, मङ्गोल नेसनल अर्गनाइजेशनबाट रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी)बाट कलिला खातुन, राप्रपाबाट राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
तनहुँ क्षेत्र नं २ प्रदेशसभा (क)तर्फ एमालेबाट श्यामराजा महत, माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट टोलराज वाग्ले, मंगोल नेसनल अर्गनाइजेसनबाट सुमन थापामगर, एकीकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ, राप्रपाबाट रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।
तनहुँ क्षेत्र नं २ प्रदेशसभा (ख)तर्फ एमालेबाट केदार सिग्देल, कांग्रेसबाट जितप्रकाश आलेमगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर राना, एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ, राप्रपाबाट श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) तनहुँले ४ प्रदेशसभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ । सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेको एकीकृत समाजवादीले तनहुँमा १ सिट पनि नपाएपछि ४ वटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
सत्तारुढ दलका शीर्षनेताले सहमतिविपरीत उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तनहुँमा उम्मेदवारी फिर्ता भएन । आफूहरूको पार्टीका तर्फबाट चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने समाजवादीका अध्यक्ष श्रीराम कार्कीले बताए ।
तपाईको प्रतिक्रिया