माछा र गाईपालन सँगसँगै

कृष्ण न्यौपाने
दमौली
११ वर्षअघि २ वटा गाईबाट व्यवसाय सुरु गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका ३ का अमृत केसीले कुनै समय जिल्लाकै नमूना गाईपालक बन्छु भन्ने सोचेकै थिएनन् । सानो लगानीबाट गाईपालन थालेका उनी अहिले जिल्लाकै नमूना कृषकको रुपमा परिचित छन् । ‘गाईपालनबाटै जिल्लामा परिचित हुन्छु भन्ने सोचेकै थिइनँ,’ उनले भने ।
गाईपालनमा १ करोडभन्दा बढी लगानी भइसकेको छ । अझै लगानी थप्ने योजना केसीले सुनाए । उनका अनुसार गाई खरिद र पूर्वाधार निर्माणका लागि १ करोडभन्दा बढी लगानी भएको हो । २०६५ सालअघि माछापालन गरेका उनले माछालाई दाना खुवाउनका लागि नै गाईपालन सुरु गरेका थिए । केसीले भने, ‘धान खेती राम्रो नभएपछि माछापालन सुरु गरें ।
माछालाई दानाको रुपमा के दिने भनेर छलफल गर्दा गाई नै पाल्ने निष्कर्षमा पुगेको थिएँ र गाईपालन र माछापालनलाई सँगसँगै अगाडि बढाएँ ।’
केसीले गाईको गोबर माछालाई दानाको रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिए । उनको गाई फार्ममा अहिले ७० वटा दुहुना गाई छन् । फार्मबाट दैनिक २ सय ७५ लिटर दूध बिक्री हुन्छ । उत्पादित दूध आँबुखैरेनी बजारमै प्रतिलिटर ८० को दरले बिक्री हुन्छ । ‘दूध उत्पादन भएपछि बिक्री हुन्न कि भन्ने चिन्ता छैन,’ उनले थपे ।
मासिक सबै खर्चं कटाएर १ लाखसम्म आम्दानी हुने गरेको छ । फार्ममा ५ महिला र ५ पुरुष गरी १० जनाले रोजगारी पाएका छन् । उनले ७० रोपनी क्षेत्रफलमा घाँसखेतीसमेत गरेका छन् । गाईलाई दाना र चोकर खुवाउँदा लागत बढी हुने भएपछि घाँसखेती थालेको उनले खुलाए । ‘आफ्नै जग्गा त्यसै फालिएर बसेको थियो । दाना र चोकर खुवाउँदा लागत बढी परेपछि घाँसखेतीसमेत थालेको हुँ’, केसीले भने ।
बाच्छाबाच्छी पाल्नका लागि छुट्टै गोठ बनाउने तयारी भएको छ । त्यसका लागि उनलाई गण्डकी प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहयोग गर्ने भएको छ । गाई फार्ममा दूध दुहुनका लागि मेसिन किनिएको छ । नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित मन्त्रालयले उनको फार्मलाई अनुदानका लागि छानेको हो । मन्त्रालयले फार्मलाई १३ लाख अनुदान दिनेछ भने त्यसमा १३ लाख आफैंले थप गर्नुपर्ने छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया