घरभित्र मृत अवस्थामा भेटियो चितुवा

पोखरा ।
स्याङजाको वालिङ नगरपालिका १४ कफ्लेटीमा मृत अवस्थामा चितुवा फेला परेको छ ।वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मरेको अवस्थामा भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले जानकारी दिए।
शुक्रबार बिहान खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो। घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो। मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए। थुनेको चितुवा दिउँसो खोजी गर्दा मृत अवस्थामा भेटिएको बताइएको छ।
चितुवा बिरामी भएर वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएको छ।
चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए। घाइतेको अनुहार, छाती र पाखुरामा चोट छ । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया