मत हाल्न जाने बाटोमा हिमपात

जोमसोम ।
मुस्ताङ–डोल्पा सडकमा हिउँ थुप्रिएपछि सडक अवरुद्ध भएको छ । मौसम प्रतिकूलतासँगै दसैंअघि परेको भारी हिमपात अझैसडकमा जमेर बस्दा पटक पटक सडकमा हिउँ थुप्रिन पुगेको हो । हिउँ थुप्रिएसँगै मंसिर ४ गतेको लागि मतदान केन्द्रमा खटिएका कर्मचारी समयमै पुग्न कठिन पर्ने देखिएको छ ।
जोमसोमदेखि करिब ४० किमी उत्तर पश्चिमतर्फको वारागुङ मुक्तिक्षेत्र ५ साङ्ता गाउँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जाने कर्मचारी र सुरक्षाकर्मीलाई त्यहाँ पुग्न कठिन पर्ने देखिएको हो । १३ घरधुरी रहेको साङ्तामा ३५ मतदाता छन् ।
मंसिर ४ गतेको मतदान, मतदान केन्द्रको पूर्वाधार निर्माण तथा व्यवस्थापन, आवश्यक तयारी र सर्वदलीय बैठक बसेर मतदान प्रक्रियाअघि बढाउन निर्वाचन आयोगले मंसिर १ गते सबै मतदान केन्द्रमा आवश्यक मतदान सामाग्रीसहित उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
मुस्ताङको साङ्ता मतदान केन्द्र जाने मुस्ताङ डोल्पा सडकका २ स्थानमा गरी करिब सय मिटरमा हिउँ जमेकाले सहजै सवारी साधन लैजान समस्या छ । २ साताअघि सोही स्थानको मतदान केन्द्र निरीक्षण गर्न मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्मा, मुख्य निर्वाचन अधिकृत लगायत सुरक्षाकर्मीको टोली साङ्ता पुगेको थियो ।
त्यस बेला पनि मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेकाले सुरक्षाकर्मीले जेनतेन हिउँ पन्छ्याएर सडक मार्ग काम चलाउ बनाएका थिए । त्यसअघि पनि वारागुङ मुक्तिक्षेत्रले डोजर परिचालन गरी सडकको हिउँ पन्छ्याएको थियो ।
तर, त्यसपछि हिमपात नभए पनि सडक माथिको पाखोका थुप्रिएको हिउँ भीरालो सतह भएकाले पुन सडकमै आएर थुप्रिन पुगेको वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । ‘मतदानको दिन नजिकिँदै छ, सडक हिउँ फेरि जस्ताको त्यस्तै छ,’ वडाध्यक्ष गुरुङले भने, ‘भोलि जाने भनेका कर्मचारी पर्सि जानुस् भनेका छौं, पालिकाले डोजर लगेर हिउँ पन्छाउन पहल गर्छौं ।’
गाउँमा छैनन् मतदाता
भौगोलिक रुपले अन्त्यन्तै विकट साङ्ता गाउँमा मतदान केन्द्र तोकिएको छ । हिउँदयामको अत्यधिक चिसोले स्थानीयबासी गाउँमा नरहेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । बर्खायाममा ८ महिना गाउँमा र ४ महिना गाउँबाट अन्यन्त्र बसाई सर्ने साङ्ताका बासिन्दा अहिले अधिकांश जोमसाम, फल्याक, धाकार्जुङ र तिरी आई बसेको वडाध्यक्ष गुरुङले बताए ।
‘जाडो सिजनमा साङ्तेली गाउँमा बस्दैनन्, बर्खायाममा मात्र खेतीपाती र पशुपालन गरी बस्छन्,’ उनले भने, ‘जाडो बढेकाले अन्य गाउँमा कोठा भाडामा लिएर ज्याला मजदूरी गरी बस्छन् ।’ उनले अहिले गाउँमा १/२ घरका मानिस पशुपालन रेखदेखका लागि बसेका छन् ।
साङ्तेली गाउँ छोडेर अन्यत्र बसे पनि मंसिर ४ गतेको चुनावमा भोट खसाल्न जाने वडाध्यक्ष गुरुङले उल्लेख गरे । ‘गाउँबाट सबै साङ्तेली बाहिर छन्,’ उनले भने,‘ भोट हाल्नका लागि मतदान केन्द्रमा पुग्छन् ।’
तपाईको प्रतिक्रिया