मुखियाले हेर्ने मुद्दा अदालततिर

सुन्दरकुमार थकाली २०७९ मंसिर १८ गते १०:२५

जोमसोम ।
मुस्ताङका ९६ वटै गाउँमा अझै मुखिया प्रचलन छ । मुखियाहरुले कुनै बेला यहाँ सामाजिक सेवाका साथै न्याय सम्पादनमा समेत कुनै न कुनै रुपमा भूमिका खेल्ने गथ्र्ये । मुस्ताङका सबै गाउँमा एक वर्ष वा दुई वर्षको सेरोफेरोमा गाउँलले नै मुखिया चुन्थे । चुनिएका मुखियाले आफूलाई काम गर्न सहज बनाउन समिति गठन गर्ने चलन छ ।

गाउँभित्र कुनै सामाजिक कार्य, समस्या र अप्ठ्यारो पर्दा मुखियाले नै निर्णायक भूमिका खेल्थे । गाउँका मानिस कुनै सहयोग लिनु पर्दा र कानुनी उपचार खोज्न मुखियाकहाँ जान्थे ।

मुखियाकहाँ न्याय निरुपणका लागि गएका व्यक्तिले चामलसहित तोकिएको केही शुल्क तिर्नुपथ्र्याे । गाउँका मुखियाले पीडित र पीडक पक्षको कुरा सुनेर निर्णय सुनाउँथे । मुखियाले गरेको निर्णय सबैले मान्नैपर्ने हुन्थ्यो । कसैले मुखियाले गरेको निर्णयको अवज्ञा गरे गाउँ बहिष्कारसम्म गरिन्थ्यो ।

Advertisement

प्रशासनको उपस्थिति, चेतनाको विकास र फेरिएको व्यवस्थाले मुखियाले मुद्दा छिन्ने मुद्दा अदालतमा जान थालेका छन्

पछिल्लो समय मुखिया प्रथा विस्तारै रुपान्तरित हुँदै गएको छ । मुस्ताङमा सडक पहुँच, प्रहरी र प्रशासनको बलियो उपस्थिति र चेतनाको विकाससँगै चलन परिवर्तन हुन थालेको हो । अहिले मुस्ताङका अधिकांश गाउँका मुखियाले सामाजिक अपराध, देवानी र फौजदारी मुद्दा अदालततिर पठाउन थालेका छन् । यस कारणले मुस्ताङ जिल्ला अदालतमा मुद्दाको संख्या वृद्धि हुँदै गएको हो ।

Advertisement

चेतनाको विकास र कानुनी साक्षरता बढ्दै गएकाले अदालतमा मुद्दा बढ्न थालेको स्रेस्तेदार आचार्यले जानकारी दिए । मुस्ताङमा पहिला थकाली, गुरुङ, बिष्ट, लोवा र दलित समुदायको मात्र बस्ती रहेकोमा पछिल्लो समय जिल्ला बाहिराका अस्थायी बसोबास गर्नेको संख्या बढेको छ । मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि तलका बस्तीमा मिश्रित जातिका मानिसको बसाइ छ । जिल्लामा पछिल्लो समय सामाजिक अपराध बढ्दै गएको देखिन्छ ।

मुस्ताङ जिल्ला अदालतमा मुद्दा दर्ता हुने क्रम बढेको छ । बर्सेनि औसत एकदेखि डेढ दर्जन मुद्दा दर्ता हुने गरेको मुस्ताङ जिल्ला अदालतमा पछिल्लो समय मुद्दाको संख्या बढ्न थालेको हो ।

अदालतले अहिलेकै गतिमा मुद्दा दर्ता भए गत वर्षको भन्दा चालु वर्ष २५ प्रतिशतले बढ्ने जनाएको छ । चालु वर्षको ५ महिनामा १४ मुद्दा दर्ता भएका छन् । गत वर्षका डेढ दर्जन मुद्दामध्ये चालु वर्ष ९ मुद्दाको जिम्मेवारी सरिआएको छ ।

आव २०७८/०७९ मा रहेका ४३ मध्ये ३४ मुद्दा पछ्र्योट भएका थिए । मुस्ताङ जिल्ला अदालतका स्रेस्तेदार मुकुन्द आचार्यका अनुसार गत वर्ष देवानी १ र फोजदारी ८ मुद्दाको जिम्मेवारी सरेको छ । दवानी मुद्दातर्फ अंश नामसारी र फौजदारीतर्फ सवारी ज्यान २, जबरजस्ती करणी ४, जालसाजी १ र चोरी तथा डाँका १ गरी ९ मुद्दाको जिम्मेवारी यस वर्षलाई सरेको हो ।

२०७९–८० को साउनदेखि हालसम्म थप १४ थान मुद्दा थपिएका छन् । तीमध्ये ४ देवानी र १० फौजदारी छन् । यस वर्ष देवानीतर्फ सम्वन्ध बिच्छेद ३ र आर्थिक लेनदेन १ गरी ४ थान मुद्दा अदालतमा नयाँ दर्ता भएका हुन् । फौजदारीतर्फ जबक ४, डाँका चोरी १, पशुपंक्षी कसुर १, कर्तव्य ज्यान ३ र सरकारी छाप किर्ते १ थान गरी १० मुद्दा दर्ता भएका छन् ।

मुस्ताङ जिल्ला अदालतले पुराना ९ र नयाँ १४ गरी २५ मध्ये चालु वर्ष ७ मुद्दा पछ्र्योट भइसकेको जनाएको छ । अब मुस्ताङ जिल्ला अदालतमा १८ मुद्दा पछ्र्योट हुन बाँकी छन् । मुस्ताङमा पछिल्लो समय जबरजस्ती करणी र सम्वन्ध बिच्छेदका मुद्दा बढ्दो देखिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया