पत्रमित्रलाई बिहे गरेर पोखरा आएका नारायण गोपाल

समाधान संवाददाता २०७९ मंसिर १९ गते २०:५१

पोखरा ।
२०४७ सालको मंसिर १९ गते स्वर सम्राट नारायण गोपालको भौतिक रुपमा विदा भएको दिन । उनी यो संसारबाट विदा भएको सोमबार ३२ वर्ष पूरा भयो । तर पनि उनको नामका अगाडि ‘स्वर्गीय’ शब्द सुहाउँदैन भन्छन् कवि तीर्थ श्रेष्ठ । ‘नारायण गोपालका अघि स्वर्गीय राख्न मनै मान्दैन, उहाँ तपाईं हामीहरु सबैका मनमा जीवन्त हुनुहुन्छ,’ उनै स्वर सम्राटका गीत संगीतलाई जीवन्त राख्ने ध्येयले सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘कैंयन पुस्तासम्म उहाँ जीवन्त रहनुहुन्छ ।’


विश्वभर जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ नारायण गोपालको गीतमार्फत पनि नेपालीहरु जोडिन्छन् । पोखरासँग नारायण गोपाल आफैं पनि जोडिन आएको कवि श्रेष्ठले सुनाए । दार्जीलिङकी पत्रमित्र पेमला लामासँग प्रेम विवाहपछि उनले पोखरामा प्रेमिल बसाइ बसेको उनले स्मरण गरे । ‘पोखरा आएर उहाँहरु कवि भूपी शेरचनको सेतो दरबारमा बस्नुभयो, पेमलाले रत्नराज्य कन्या माविमा अंग्रेजी र नारायण गोपालले अमरसिंह स्कुलमा इतिहास पढाउन थाल्नुभयो,’ श्रेष्ठले जानकारी दिए ।


पोखरेली युवा सांस्कृतिक परिवार, रेडियो अन्नपूर्ण र पोखरेली सांगीतिक कलाकार संघले सोमबार नारायण गोपाल स्मृति साँझ आयोजना गरेका थिए । परिवारका पूर्वअध्यक्ष कवि श्रेष्ठले त्यही मेसोमा गायक नारायण गोपालको योगदानको चर्चा गरे । गायक नारायण गोपालका साथीसंगीहरुलाई उद्धृत गर्दै श्रेष्ठले भने, ‘उहाँका गीत किन लोकप्रिय भए भन्दा उहाँले राम्रो गीत (शब्द÷रचना) छनोट गर्न सक्नुभयो ।’

Advertisement


रेडियो अन्नपूर्णकी निर्देशक सुनयना पालिखेले आफ्नो माइती घर काठमाडौं इन्द्रचोकनजिकै नारायण गोपालको पनि निवास रहेको सम्झना गरिन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरा, हिमाल र तालको मात्रै नभई कला र संस्कृतिको पनि सहर भएको हुँदा नारायण गोपाल साँझ जस्ता कार्यक्रमहरु गरिरहनुपर्ने आवश्यकता औंल्याए ।


एमडी काफ्लेले ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’ बोलको गीत गाएर सुरु साँझको गायन सत्र अन्तिममा विनोद बानियाँले ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ…’ गाएपछि मैझारो भएको थियो । त्यसबीचमा सन्तोष बस्याल, रामभक्त जोजिजु, इतु जोजिजु, उषा गुरुङ, रजनी ऋदम राईले नारायण गोपालका गीतहरु गाए ।

Advertisement


गायक विनोद बानियाले पहिलोपटक काठमाडौं देखाउने काम नारायण गोपालको गीतले गरेको सम्झना गरे । उनी २०५७ सालमा नारायण गोपाल स्मृतिकै सन्दर्भको कार्यक्रममा गायनका लागि काठमाडौं गएका थिए । बानियाले नारायण गोपालका गीतहरु गायकहरुका लागि साधना भएको बताए । ‘उहाँका गीत सुन्दा जति मजा आउँछ, गाउँदा उति गाह्रो लाग्छ,’ उनले भने ।


जारी विश्वकप फुटबलको सन्दर्भ कोट्याउँदै गायक बानियाले फुटबलमा राम्रो पास पाउँदा गोल गर्न मजा हुन्छ, त्यस्तै उहाँहरुले हामीलाई पास दिनुहुन्छ र हामी गोल गर्छाैं भन्दै वाद्यवादकहरुसँग जस बाँडे । महिपाल लामा, उपासना लामा, राजा मुखिया, तेज केसी, विजय क्षेत्री र सुमन तामाङ वाद्यवादनमा थिए ।

तपाईको प्रतिक्रिया