विश्वशान्तिः देशकै पहिलो स्मार्ट स्कुल, ६० कम्युटर, प्रोजेक्टरबाट पढाइ

समाधान संवाददाता २०७६ वैशाख २० गते ८:३४

समाधान संवाददाता

न किताब न चक डस्टर । न कक्षामा कालो पाटी छ न त सेतो नै । न मार्करले पाठ्यक्रमको शीर्षक लेखिन्छ । कक्षामा प्रवेश गरेसँगै शिक्षकले कम्युटर खोल्छन् । पढाउने सामग्री शिक्षकले पेनड्राइभमा ल्याउँछन् र कम्युटरमा जोड्छन् । प्रोजेक्टरमार्फत कक्षाको सामग्री स्मार्ट बोर्डमा देखाइन्छ र सुरु हुन्छ पठनपाठन ।

पढाइलाई बल पुग्ने थप सामग्री शिक्षकले कहिले गुगलमा सर्च गरेर देखाउँछन्, विद्यार्थीले त्यसैको सिको गर्छन् । कहिले युट्युबको सहायताले विद्यार्थीलाई बुझाइन्छ । हो अब कास्कीको रुपा गाउँपालिका—५ देउरालीको विश्वशान्ति माविमा यसैगरी पढाइ हुनेछ ।

Advertisement

विश्वशान्ति मावि देशकै पहिलो सूचना तथा प्रविधिमैत्री विद्यालय घोषणा भएको छ । सरकारले ७ प्रदेशका ७ विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउँदै छ । डिजिटल नेपालः विकास र समृद्धिको आधार नाम दिएर सरकारले प्रविधिमैत्री विद्यालय बनाउने अभियानको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाटै उद्घाटन गरे ।

काठमाडौं सूचना तथा प्रविधि दिवसको कार्यक्रम हुँदैछ र रुपामा भेला भएका जनप्रतिनिधिदेखि विद्यार्थी, अभिभावक र सरकारकोवालाले प्रोजेक्टरमार्फत प्रत्यक्ष हेरिरहेका थिए । काठमाडौं भएको कार्यक्रम सञ्चालिकाले विश्वशान्तिलाई सूचना तथा प्रविधिमैत्री विद्यालयका रुपमा प्रधानमन्त्रीमार्फत उद्घाटन गर्ने उद्घोष गर्छिन् । काडमाडौंको कार्यक्रममा प्रधानमन्त्री केपी शर्माले जब ल्यापटपको बटम दबाउँछन्,

Advertisement

सूचना तथा प्रविधिमैत्री विद्यालय उद्घाटन समारोह विश्वशान्ति माध्यामिक विद्यालय लेखिएको ब्यानर पृष्ठभूमिमा देखिन्छ । काठमाडौंको कार्यक्रम र विश्वशान्तिको कार्यक्रममा एक साथ ताली बज्छ । प्रधानमन्त्रीले उद्घाटन गरिरहेको कार्यक्रमको मञ्चको पृष्ठभूमिमा देखिएको दृश्य विश्वशान्ति मावि रुपाको स्मार्ट कोठाबाट प्रत्यक्ष प्रसारण थियो ।

सरकारले यो वर्ष यस्ता एक हजार विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । त्यसको सुरुआत देउरालीको विश्वशान्तिबाट भएको हो । पहिलो चरणमा सात प्रदेशका ७ विद्यालयबाट यो अभियान सुरु गर्ने दोस्रो राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा जानकारी दिइएको छ ।

प्रविधिमैत्री विद्यालयको रुपमा उद्घाटन गरिएको विश्वशान्तिमा दुई कक्षामा ६० वटा कम्युटर हुने छन् । यसअघि नै विश्वशान्तिमा २५ वटा कम्युटरसहित ल्याब थियो । योसहित गरेर यो विद्यालयमा ९० वटा कम्युटर पुगेका छन् । प्रोजेक्टर, स्मार्टबोर्ड, टिभी र विभिन्न प्रविधिको प्रयोग गरेर कक्षामा पढाइ हुने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘गण्डकी प्रदेशकै विश्वशान्तिलाई प्रविधिमैत्री विद्यालयको रुपमा घोषणा भयो । अब पूर्णतया प्रविधिको माध्यमबाट पढाइ हुनेछ,’ ओझाले भने, ‘प्रधानमन्त्रीले उद्घाटन गरेसँगै विश्वशान्ति देशकै नमूना प्रविधिमैत्री विद्यालयको बाटोमा हिँडेको छ ।’

विद्यालयमा अहिले ३ सय ३० जना विद्यार्थी छन् । १ देखि नै कम्युटरको अभ्यास गराउँदै लैजाने र पूर्ण सूचना तथा प्रविधिमैत्री वातावरणमा कक्षा १२ सम्मै पढाइ हुने प्राध्यानध्यापक वसन्त पहारीले जानकारी दिए ।
सरकारले प्रविधिमैत्री विद्यालय बनाउन विश्वशान्तिमा झन्डै १ करोड रुपैयाँ खर्च गर्ने छ ।

सरकारको अभियानलाई नेपाल टेलिकमले इन्टरनेट लगायत प्रविधिमा सघाउने छ । गाउँका विद्यालय रित्ता हुँदै जाने र सहर केन्द्रित हुँदै गएको अवस्थामा गाउँकै विद्यालयमा आकर्षण बढाउन यो कार्यक्रमले ठूलो टेवा पुग्ने प्रतिनिध सभा सदस्य खगराज अधिकारीले बताए । ‘अब विज्ञान तथा प्रविधिलाई ग्रहण गर्दै जाने हो । शिक्षक पनि प्रविधिमा उपडेट हुँदै जानुप¥यो,’ अधिकारीले भने, ‘अब शिक्षक, अभिभावक, विद्यार्थी सबै प्रविधि बुझेको हुनुपर्छ ।’

प्रविधिमैत्री विद्यालयमा पाठ्यक्रमसँगै कार्यालयका काम पनि पेपरलेस बनाउँदै जाने र विद्यालयमा तिर्नुपर्ने कुनै रकम वा शुल्क पनि घरमै बसेर तिर्न मिल्ने गरी विकास गर्ने अवधारणा लिइएको प्रधानाध्याक पहारीले बताए ।

प्रविधिमैत्री विद्यालय छनोट गर्न निवेदनका लागि ७ प्रदेशमा आह्वान गरिएको थियो । त्यसका लागि पोखराका झन्डै ३०÷३५ विद्यालयले आवेदन दिएका दिए भने प्रदेशभरिबाट ४ सयभन्दा बढी परेका आवेदनलाई उछिन्दै विश्वशान्ति छानिएको हो । विश्वशान्तिमा ३ वटा वटा पक्की भवन छन् । जसमा १६ वटाभन्दा बढी स्मार्ट कक्षा कोठा छन् । ३० जनाभन्दा बढी शिक्षक, कर्मचारी छन् । विद्यालयका अनुसार आधाभन्दा बढी जनशक्ति प्रविधि बुझेको र विद्यार्थीलाई बुझाउन सक्ने क्षमताका छन् ।
प्रविधिमैत्री विद्यालयमा समुदायका अन्य ३० जना व्यक्तिले पनि कम्युटरमार्फत बढ्न पाउने भएका छन् ।

समुदायबाट कम्तीमा ३० जनालाई कम्प्युटर पढाउन सूचना तथा प्रविधि मन्त्रालयले नै कोर्ष डिजाइन गर्नेछ । ‘एउटा विद्यालयमा कम्तिमा समुदायका ३० जनाले वर्षमा सूचना तथा प्रविधि विषय पढ्न पाए भने पनि धेरै महत्वपूर्ण हुनेछ,’ सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले काठमाडौंमा भएको कार्यक्रममा भने, ‘हामीले १ हजार विद्यालयमा कम्प्युटरमार्फ प्रविधि पढाउँदा वर्षमा ३० हजार जनशक्ति उत्पादन हुनेछन् ।’

विसं २०२२ सालमा स्थापना विश्वशान्ति मावि १ दशक अघिदेखि नै ऐच्छिक कम्प्युटर पढाइँदै आएको छ । रुपा–५ देउरालीमा रहेको यो विद्यालयमा यसैवर्षदेखि डिप्लोमा सिभिल इन्जिनियरिङको पनि पढाइ हुँदै आएको छ । बिजुलीको सुविधा पुगिसेको विश्वशान्तिमा २ किलोवाट क्षमताको सोलारसमेत जडान गरिएको छ । जसका कारण प्रविधिमैत्री पढाइमा विद्युतकै कारण प्रभावित हुनु नपर्ने विद्यालय व्यवस्थापन समितिको विश्वास छ ।
….
क्याप्सनः
दोस्रो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अनलाइनबाट ‘नमूना स्मार्ट स्कुल’ विश्वशान्ति माविको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरःप्रधानमन्त्रीको निजी सचिवालय

तपाईको प्रतिक्रिया