मुस्ताङमा वर्सेनी ६० हजार विदेशी पर्यटककाे ओइराे

समाधान संवाददाता २०७६ जेठ ३ गते १३:४२

सुन्दरकुमार थकाली
मुस्ताङ

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तव्य मुस्ताङमा वर्सेनी औसत ६० हजार विदेशी पर्यटक भित्रिने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमस्थित चेकपोस्टले दिएको जानकारी अनुसार सन् २०१६ देखि सोही अनुपातमा पर्यटक मुस्ताङ आउने गरेका हुन् ।

एक्याप जोमसोमका अनुसार मुस्ताङ भ्रमण गर्ने पर्यटकमा ४५ प्रतिशत भारतीय, ५० प्रतिशत तस्रो मुलुकका र ५ प्रतिशत अन्य सार्क मुलुकका छन् । एक्यापका पर्यटन सहायक शिव पुर्जाका अनुसार सन् २०१९ को चालु वर्ष जनवरीदेखि अप्रिलसम्मको ४ महिनामा कुल १६ हजार ९ सय ७१ विदेशी पर्यटक मुस्ताङ आएका छन् । जसमा १० हजार ७ सय ८२ भारतीय पर्यटक छन् भने केही भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका छन् ।

Advertisement

सन् २०१८ मा ५९ हजार ८ सय ३८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये ३३ हजार १ सय ५९ भारतीयसहित र अन्य सार्कका ७३ जना पर्यटक छन् । उपल्लो मुस्ताङलाई राष्ट्रिय प्रकृति संरक्षणकोष अन्तर्गत निषेधित तथा नियन्त्रित क्षेत्र घोषित गरिएको छ । कागबेनीदेखि तल्लो संरक्षित क्षेत्र अन्तर्गत पर्दछ ।

सरकारले उपल्लो मुस्ताङको नियन्त्रित क्षेत्र जान सार्क तथा तेस्रो मुलुकका पर्यटकलाई ५ सय डलर शुल्क तोकेको छ । वर्सेनी ६० हजार पर्यटक मुस्ताङ आउँदा ८ प्रतिशतले मात्र उपल्लो मुस्ताङ भ्रमण गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । उपल्लो मुस्ताङमा विदेशी पर्यटक उपस्थिति न्युन हुनुमा चर्को शुल्क भएको पर्यटन व्यवसायीको गुनासो छ । व्यवसायीले सरकारले सार्क मुलुकका पर्यटकलाई शुल्क घटाउनसमेत माग गर्दै आएका छन् ।

Advertisement

पोखरा – जोमसोम दैनिक १८ उडान


मार्च, अप्रिल, मे, जुन, सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा विदेशी पर्यटक मुस्ताङ आउँछन् । मार्चदेखि सुरु भएको विदेशी पर्यटकको चाप हालसम्म पनि थामिएको छैन । पर्यटकको चापसँगै पोखरा जोमसोम हवाई सेवा दैनिक १८ पटकसम्म उडान भर्दै आएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन म्यानेजर सुजन लालचनले हवाई सेवामार्फत मुस्ताङ आउनेमा ८० प्रतिशत भारतीय, १५ प्रतिशत तेस्रो मुलुक र ५ प्रतिशत नेपाली पर्यटक आउने गरेको जानकारी दिए ।

मुस्ताङमा तारा एयरले वर्षभर नै सेवा प्रवाह गर्दै आएको छ । पोखरा जोमसोम उडानका लागि तारासहित समिट र नेपाल वायु सेवा निगमले उडान मिलाएको छ । तारा एयरले १ हजार डलरले दोहोरो उडान भर्दै आएको छ । एयरका अनुसार पोखरा–जोमसोम एकतर्फी हवाई भाडादर विदेशीलाई १ सय २५ डलर, भारतीयलाई ८ हजार ४ सय ५० नेपाली र स्वदेशीलाई ४ हजार ५ सय ६५ र साधारण ३ हजार १५ रुपैयाँ तोकेको छ ।

तपाईको प्रतिक्रिया