आइपिओ जारी गर्दै अन्नपूर्ण केबलकार

३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने

समाधान संवाददाता २०८० वैशाख २८ गते ११:४५

पोखरा ।
दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । आइपिओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सर्वसाधारणका लागि २० प्रतिशत आइपिओ निष्कासन गर्ने छ ।

Advertisement

केवलकारमा जनताको सहभागिता बढाउन २० प्रतिशत आइपिओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँको दरले आइपिओ निकाल्ने छ । ५ वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा द्द वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको थियो ।

आइपिओ निस्कासनपछि कम्पनीले थप परियोजनामासमेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए । पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरस्थित अन्नपूर्ण केवलकारको बटम स्टेसन निर्माण गरिएको छ । जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

Advertisement

केवलकारको माथिल्लो स्टेसन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ । सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाइ छ । यो मूर्ति विश्वकै ठूलोमध्ये एक हो । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

केवलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ । विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केवलकारबाट ३ किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृंखलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ ।

हिमालको सबैभन्दा नजिक रहेको केवलकार नेपालकै पहिलो हो । नेपालमा सञ्चालनमा रहेका केवलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो । केवलकार परियोजनामा जापानिज निप्पोन केवलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ । २०७८ साल फागुन देखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छ ।

केवलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घन्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया