काठमाडौंमा पनि हाेटल बाराही, आजदेखि सञ्चालन

समाधान संवाददाता २०८० जेठ ७ गते १५:२६

पाेखरा ।

पाेखराकाे प्रतिष्ठित पर्यटन व्यवसायी बाराही ग्रुपले संघीय राजधानी काठमाडौंमा पनि शाखा बिस्तार गरेकाे छ । झण्डै चार दशक अघि पाेखराकाे लेकसाइडमा सञ्चालनमा आएकाे हाेटल बाराहीले चितवन र सराङकाेट हुँदै काठमाण्डाैंसम्म सेवा बिस्तार गरेकाे हाे ।

बाराही हस्पिटालिटी अन्तर्गत निर्माण भएकाे हाेटल ‘बाराही काठमाडौं’ प्राइम लाेकेशनमा रहेकाे छ । कान्तिपथस्थित ठमेल प्रवेश गर्ने चाेकमा रहेकाे चार तारे स्तरको यो होटलमा ८ सुइट र ७२ डिलक्स गरी ८० वटा कोठा रहेका छन् । आइतबारदेखि हाेटल सञ्चालनमा ल्याएकाे बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले समाधानलाई बताए ।

Advertisement

औपचारिक रुपमा हाेटल सञ्चालनमा आएपछिका पहिलाे पाहुनालाई हाेटलका कर्पाेरेट डाइरेक्टरसहितका कर्मचारीले खाँदा र माला लगाएर स्वागत गरेका थिए । छिमेकी देश भारतकाे दिल्ली राज्यका समित कुमारकाे टाेली पहिलाे गेष्टकाे रुपमा आइतबार विहान हाेटल प्रवेश गरेका थिए ।

होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुने थापाले बताए । केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा ’इन्फिनिटी स्विमिङ पुल’ छ । स्विमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य देखिन्छ ।

Advertisement

हाेटल रहेकै भवनमा बाराही ग्रुपले व्यावसायिक कम्प्लेक्स समेत छन् । दुइ तला अण्डर ग्राउण्ड पार्किङ रहेकाे कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ ।

काठमाडौंको मध्यविन्दुमा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुने होटलको भनाइ छ । घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भु तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला होटेलबाटै देख्न सकिन्छ ।

सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला गरेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

नेपाली पर्यटनको ’गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपले सेवा सञ्चालनमा ल्याइसकेको छ ।

४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी होटल बाराही नामाकरण गरिएको हो । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् ।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् । बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ ।

तपाईको प्रतिक्रिया