खेलकुद

बाग्लुङ मुस्ताङमा सम्पन्न दोश्रो प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको च्याम्पियन

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको उपस्थित बलियो बनाउन प्रतियोगिता आयोजना

सुन्दरकुमार थकाली २०८० जेठ १८ गते १९:५९
दोश्रो प्रदेश स्तरीय तारा(आर्चरी)प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय हुने टोली । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—मुस्ताङमा सम्पन्न दुईदिने गण्डकी प्रदेश स्तरीय दोश्रो परम्परागत ’तारा’ खेल अर्थात आर्चरी प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको बाग्लुङ जिल्ला जितेको छ । गण्डकी खेलकुद परिषद गण्डकीको आयोजना तथा निर्मल स्पोर्टिङ क्लव र जिल्ला खेलकुद विकास समिति मुस्ताङको समन्वय बिहिबार सम्पन्न प्रतियोगितामा बाग्लुङ ८३ अंक प्राप्त गर्दै दोश्रो प्रदेश स्तरीय आर्चरी च्याम्पियन बनेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका—३ लेते स्थित थकाली समाजघरमा भएको प्रतियोगितामा गण्डकी प्रदेशको बाग्लुङ जिल्लाले कुल १०० पूर्णाङ्कमा १७ अंक गुमाउँदै दोश्रो प्रदेश स्तरीय आर्चचरी प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।योसंगै बाग्लुङले नगद ७५ हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र जितेको हो ।


गण्डकी प्रदेशको पर्वत,बाग्लुङ,म्याग्दी,कास्की र मुस्ताङको दुई टिम गरी कुल ६ वटा टिमको सहभागी रहेको तारा अर्थात (आर्चरी) प्रतियोगितामा गण्डकी प्रदेशको म्याग्दी जिल्ला उपविजेता बनेको छ ।पहिलो संस्करण अन्तर्गत मनाङमा भएको प्रदेश स्तरीय आर्चरी प्रतियोगितामा च्याम्पियन बनेको म्याग्दी बाग्लुङ जिल्ला संग दुई अंकले पछि पर्दै ८१ अंकमा समेटिदा उपविजेतामै चित्त बुझायो । म्याग्दीले प्रतियोगिताको अन्तिम डोरमा २ वटा प्रहार गुमाउँदा च्याम्पियन बन्न चुक्यो भने बाग्लुङले सबै प्रहार सदुपयोग गरेको थियो ।
यसैगरी प्रतियोगितामा मुस्ताङको ए टिमले ७८ अंक हासिल गर्दै तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको उपविजेता म्याग्दीले नगद ५० हजार र तेश्रो हुने मुस्ताङ ए टिमले नगद ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पा¥यो ।


दोश्रो प्रदेश स्तरीय परम्परागत तारा(आर्चरी¬) प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी अर्थात सर्वश्रेष्ठ ‘धनुधर’ म्याग्दीका टिकाबहादुर शेरपुन्जा बने । उनले आफ्नो व्यक्तिगत २० पूर्णाङ्कमा सतप्रतिशत २० अंक प्राप्त गर्दै सर्वश्रेष्ठ ‘धनुधर’बन्न सफल भएका हुन् । उनले सर्वश्रेष्ठ धनुधरको उपाधिसंगै नगद ५० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पाए ।
यसैगरी आर्चरी प्रतियोगिताकोे विशिष्ट ‘धुनधर’ खेलाडीको उपाधि बाग्लुङका सुनिल बुढामगरले प्राप्त गरे ।उनले प्रतियोगिताको २० धनुष प्रहारमा दुई प्रहार धसामा खोल हानेका थिए । धनुष प्रहार गर्ने काठको फ्रेम(धसा) भएको गोलाकार रिङ भित्र धनुष हान्नेलाई विशेष सम्मान र पुरस्कार समेत दिईने गरिन्छ ।
दोश्रो प्रदेश स्तरीय तारा (आर्चरी)प्रतियोगिताका विजेता टोलीलाई थासाङ—३ वडाध्यक्ष हरि प्रसाद शेरचन,निर्मल स्पोर्टिङ क्लव लेतका अध्यक्ष महेन्द्र गौचन, गाउँ मुखिया रविन्द्र तुलाचन, प्रदेश खेलकुुद परिषदका सदस्य योगेन्द्र शेरचन लगायतले नगद पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement


दोश्रो प्रदेश स्तरीय आर्चरी प्रतियोगिता कुल १० डोरमा संञ्चालन गरिएको थियो । प्रतियोगिताका भाग लिने जिल्ला र टिमले ५ जना खेलाडी र एक जना वैकल्पिक खेलाडी समावेश गर्न पाउँने प्रावधान राखेको थियो । अन्तिम ७ औं डोरसम्मको निकै प्रतिस्पर्धात्मक खेलमा मुस्ताङ ए टिमले लय गुमाएको थियो भने म्याग्दीले पनि च्याम्पियन बन्ने अवसर अन्तिम डोरमा सदुपयोग गर्न सकेन ।
प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश सरकारको सहयोगमा लोपोन्मुख अवस्थामा रहेका परम्परागत खेलहरुको संरक्षण,संम्वद्धन र प्रर्वद्धन गर्ने उद्देश्यले गत वर्षदेखी तारा(आर्चरी) र छेलो प्रतियोगिता सञ्चालन गर्दैआईरहेको खेलकुद परिषद गण्डकीका सदस्य योगेन्द्र शेरचनले जानकारी दिए । उनले परम्परागत खेलको संरक्षण र अन्तर जिल्ला खेलाडीहरुबीच आत्मिय भाईचार अभिवृद्धि गर्न र तारा खेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको उपस्थित बलियो बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । भौगोलिक विकटता र लामोदुरीबाट खेलाडीहरु मुस्ताङसम्म ल्याएर खेल संञ्चालन गर्नु चुनौतीपूर्ण भएको उल्लेख गरे । उनले प्रतियोगिता आयोजना तथा सम्पन्न गर्न सबै निकाय र थासाङबासीले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरे ।


यसअघि दोश्रो प्रदेश स्तरीय तारा(आर्चरी) प्रतियोगिताको उद्घाटन संघीय प्रतिनिधि सभा सदस्य योगश गौचन थकालीले गरेका थिए । प्रतियोगिता अघि विभिन्न सरोकारवाला निकाय र स्थानीयबासीको सहभागीमा ¥याली तथा मार्च गरिएको थियो ।प्रतियोगिता अघि धसालाई धकाली परम्परा अनुसार पुजापाठ र गीत गाएर तारा –आर्चरी) प्रतियोगिता सुभारम्भ गरिएको थियो ।
यसअघि खेलकुद परिषद गण्डकीले पहिलो संस्करणको तारा (आर्चरी)प्रतियोगिता मनाङमा सम्पन्न गरेको थियो ।परिषदले दोश्रो संस्करणको छेलो प्रतियोगिता म्याग्दीको बनीमा जेठ २० गतेदेखि संञ्चालन गर्ने जनाएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया