फाइभजी विस्तार गर्दै टेलिकम

समाधान संवाददाता २०८० असार ६ गते १३:४७

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । ‘सरकारी सेवा गुणस्तरीय हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’ उनले भने, ‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नु हुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।

Advertisement


अध्यक्ष प्रजापति नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै थिए । नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले टेलिकमले आम्दानीभन्दा पनि संचारमार्फत् देशलाई जोड्ने काम गरिरहेको जिकिर गरे ।


उनले नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधा थपिएको पनि बताए । उनले भने, ‘पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको छ, काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको छ ।’ अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले जानकारी दिए ।


टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै उनले सोचेजस्तो गतिमा काम नभएको स्वीकारे । ‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ, अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’ उनले भने, ‘कतै फाइबर बिच्छ्याउने काम गर्‍यो, समन्वय हुँदैन, एउटा पोल गाड्न खोज्यो,अवरोध हुन्छ, पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ, सेवाग्राहीले कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।’


निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८ सय ४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोस्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२ हजार ५०४ जना रहेको पनि उनले बताए ।

Advertisement


नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्, सस्तो र भरपर्दो भएको पनि बताए । पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम (एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा, अन्तर्राष्ट्रिय रोमिङ, कर्पोरेट युजर ग्रुप (सियुजी)नमस्ते वाइफाइ, डेडिकेटेट लिज सर्भिस, नोटिस बोर्ड, टोल फ्रि नम्बर जस्ता सेवाबारे उनले विस्तृतमा व्याख्या गरे । टेलिकमले प्रदान गर्ने प्याकेजहरुले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ छ ।


पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरे । टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठ र पोखरा कार्यालय प्रमुख वसन्त माझीले पनि कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया