प्रधानमन्त्री होटल पुगे, आराम गरे तर उद्घाटन गरेनन्

समाधान सम्वाददाता
सामाजिक सञ्जाल र केही मिडियामा मापदण्डको विषय उठेपछि पोखराको लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर चर्चामा रह्यो ।
विदेसी चेन होटल र सञ्चालकको पृष्टभूमिले झनै विवादित बनेको होटलको उद्घाटन स्वयं प्रधानमन्त्रीले गर्ने निम्तो बाँडिएपछि थप चर्चा हुनु स्वभाविक थियो । तर, निर्धारित समय र मितिमा होटल उद्घाटन भएन ।
पोखराका हाइप्रोफाइल र पत्रकारहरुले चासो लिइरहेको बेला प्रधानमन्त्री केपी ओली होटलमा पुगेपछि उद्घाटन हुने विश्वास त गरियो । तर सबैको विश्वास विपरित प्रधानमन्त्रीले होटल उद्घाटन गरेनन् । नक्सा पास नगरिकन निर्माण भएको होटलमा पुगे पनि केही बेर आराम गरी उद्घाटनबिना नै प्रधानमन्त्री फर्किएका हुन् ।
पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा गठित प्रतिष्ठान, स्काउटको सम्मेलन र उक्त होटल उदघाटनका लागि प्रम ओली शनिबार पोखरा आइपुगेका थिए । बाँकी दुई कार्यक्रममा प्रमुख अतिथि बनेका ओलीले होटल उद्घाटन भने गरेनन् ।
प्रधानमन्त्रीले होटल उद्घाटन गर्ने कार्यक्रमसहितको निम्तो बाँडिसकिएको थियो । त्यस्तो निम्तो देखिएपछि राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र पत्रकारहरुले मापदण्ड विपरीतको होटल प्रधानमन्त्रीबाट उद्घाटन गरी चोख्याउन लागिएको भन्दै आलोचना गरेका थिए । आलोचनाको सूचना नेकपाका नेताहरुले गराएपछि प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरेका हुन् ।
उक्त होटल उद्घाटन बिहान साढे १० बजेका लागि तय गरिएको थियो । होटल उद्घाटनका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत अतिथिहरु मञ्चमा धेरैबेर कुर्दा पनि प्रधानमन्त्री गएनन् । समारोह कक्षमा उपस्थित थुप्रै अतिथि र सहभागीहरु पनि खाना खाएर फर्किए । स्काउटको कार्यक्रममा जान सरोवर होटलको कोठामा प्रधानमन्त्री ओलीले पोसाक फेरे । स्काउटको पोसाक लगाएर निस्किए ।
पोखरा महानगरपालिकाभित्र साढे २ तलाको घर तथा भवनमात्रै निर्माण गर्न पाइने मापदण्ड थियो । उक्त मापदण्ड परिवर्तन गर्न महानगरपालिकाले गठन गरेको समितिका संयोजक प्राडा इन्जिनियर भरत पहारी नै होटल सरोवरका सञ्चालक हुन् ।
नयाँ मापदण्ड आउनुअघि नै उनको होटल ९ तला अग्लो बनिसकेको थियो । साढे २ तलाभन्दा बेसीको नक्सा महानगरपालिकाले पास नगर्ने बेलामै उक्त होटल बनेको हो । मापदण्ड विपरीतको होटल बनाउनेलाई नै मापदण्ड निर्धारण समितिको संयोजक बनाइएको भनेर मेयर मानबहादुर जिसीको आलोचना हुँदै आएको छ ।
पहारीको समितिले गरेको सिफारिस अनुसार अहिले पोखरा महानगरपालिकामा अग्ला घर तथा भवन बनाउन पाइने भने भएको छ । तर उचाइअनुसार दायाँबायाँ खाली जमिन छाड्नुपर्ने नियम छ । सरोवरलगायत मापदण्डविपरीत बनेका थुप्रै होटललाई करको दायरामा ल्याउन महानगरपालिकाले सूचना प्रकाशित गरिसकेको छ ।
नयाँ मापदण्डअनुसार पनि होटल सरोवरले दायाबायाँ छाडेको जमिन पुग्दैन । पोखरा ६ लेकसाइडका वडाध्यक्ष जगत पहारीले होटल सरोवरको मापदण्ड पूरा नभएको पुष्टि गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया