मापदण्ड विपरीत ठूलो क्षमताका ग्यास सिलिन्डर बजारमा

समाधान संवाददाता २०८० असोज ५ गते ११:२५

काठमाडौं ।
बजारमा सरकारले तोकेको मापदण्डविपरीत ठूला एलपीजी ग्यास सिलिन्डरको बिक्री–वितरण भइरहेको पाइएको छ । उत्पादन तथा बजारीकरण गर्न सरकारले तोकेको मापदण्डबाहिर गएर केही व्यवसायीले आफूखुसी ठूलो तौल क्षमताको सिलिन्डर आयात गर्नुका साथै खाना पकाउने ग्यास रिफिलिङ गरी बिक्री गर्दै आएका छन् ।

Advertisement


सरकारी मापदण्ड र विनियावलीको धज्जी उडाउँदै केही उद्योगीले सर्वसाधारणको ज्यान धरापमा पर्ने गरी आफूखुसी ठूलो तौल क्षमताको सिलिन्डरको बजारीकरण गर्दै आएका छन् । बजारभन्दा ठूला अपार्टमेन्ट, उद्योग, रेष्टुराँ, होटल तथा क्यान्टिनलाई ग्यास उद्योगीले १९ किलो, ४२.५ किलो र ४५० किलो क्षमताको ग्याससहितको सिलिन्डर बिक्री गर्दै आएका छन् ।


देशभर अहिले ५९ वटा वोटलिङ तथा रिफिलिङ प्लान्ट छन् । यस्ता प्लान्टले खाना पकाउने एलपीजी ग्यास सिलिन्डर भरेर बजारीकरण गर्दै आएका छन् । यसबाहेक अटोमा इन्धनको रुपमा खपत हुने छुट्टै सिलिन्डर दुईवटा उद्योगले उत्पादन गर्दै आएका छन् । चितवनस्थित नेपाल ग्यास उद्योग र वीरगन्जस्थित मनोज ग्यास उद्योगले बढी तौल क्षमताको सिलिन्डरमा ग्यास भरेर बजारीकरण गर्दै आएका छन् ।


ठूलो उद्योगमा सयौं अहिले यस्ता सिलिन्डर प्रयोग भइरहँदा पनि सरोकार राख्ने निकाय भने उक्त सिलिन्डर जफत गर्नुको साटो मौन छन् । नेपाल आयल निगमले संशोधनसहित २०६५ सालमा जारी गरेको एलपीजी ग्यास विनियावलीले भने हाललाई १४.२ किलो तौलको सिलिन्डरमात्रै उत्पादन गरी बजारीकरण गर्न अनुमति दिएको छ ।

मापदण्ड विपरीत केही उद्योगले बजारको माग भन्दै ठूलो तौल क्षमताको ग्यास सिलिन्डरमा ग्याँस बजारमा पठाएका छन्

Advertisement


सोहि विनियावलीको दफा ३ को उपदफा ३ को (च) ले पहाडी र उच्च हिमाली क्षेत्रको लागि ५ किलो र व्यावसायिक प्रयोजनको लागि १९ किलो क्षमताको सिलिन्डरका लागि सैद्धान्तिक अनुमति दिन सक्ने व्यवस्था गरे पनि हाललाई १४.२ किलोमा मात्रै ग्यास भरेर बजारीकरण गर्न पाइने व्यवस्था छ । यो विनियावलीले ग्यास विक्रेता (डिलर) को हकमा पनि नियम बनाएको छ ।

विनियावलीको दफा १५ ले ग्यास बिक्री गर्दा हाल बजारमा घरेलु प्रयोजनका लागि १४.२ किलो क्षमताको सिलिन्डरमात्रै बिक्री भइरहेकाले उक्त तौलभन्दा घटी बिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।


हाल १४.२ किलो तौलको हकमा मापदण्ड कार्यान्वयनमा रहेको अवस्थामा भवितव्य घटना घटी सिलिन्डर विस्फोट हुँदा ठूलो जनधनको क्षतिमा क्षतिपूर्ति उपलब्ध गराउन समस्या भइरहेको छ । नेपाल ग्यास उद्योग प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक गोकुल भण्डारीले बजारको मागअनुसार ठूलो तौल क्षमताको ग्यास सिलिन्डर उत्पादन गरेको स्वीकारे ।

मुख्यगरी उद्योग, रेष्टुराँ र ठूला होटलमा सानो सिलिन्डर ठूलो परिमाणमा भण्डारण गर्न समस्या र प्रयोग गर्न समस्या भएको भन्दै उनीहरुबाट ठूलो तौल भएको सिलिन्डरको माग अत्यधिक आएकाले परीक्षण गर्न बढी तौलको सिलिन्डर उत्पादन गरेको उनले जानकारी दिए ।


‘उद्योग, रेष्टुराँ, होटेल, ठूला अपार्टमेन्ट, अस्पताल, ठूलो क्यान्टिनलगायतबाट ठूलो तौल भएको सिलिन्डरका अत्यधिक माग दैनिक आइरहेको छ,’ भण्डारीले भने, ‘हामीले घरासयीभन्दा पनि व्यावसायिक प्रयोजनका लागि भनेर परीक्षण (ट्रायल) को रुपमा १४.२ तौलभन्दा बढी तौलको सिलिन्डर ग्याससहित ल्याएका छौं । यो बजारका लागि होइन ।’


सानो मानवीय त्रुटि र असावधानीले कति बेला यस्ता अवैध सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगीले जिम्मेवारी लिन चाहन्छ न त राज्य कडाइका साथ कारबाही गर्न चाहन्छ । यसले गर्दा यस्ता त्रासदीपूर्ण घटना दिनानुदिन बढ्दो क्रममा रहेको उपभोक्तावादी प्रेमलाल महर्जनको भनाइ छ ।


‘यस्ता घटना दोहोरिनुमा जति उद्योगी जिम्मेवार छन्, त्योभन्दा बढी राज्य दोषी छ । राज्य सधैं घटना घटेपछि मात्रै गहिरो निद्राबाट व्युझिन्छ, त्यसपछि केही दिन निक्कै हाट गर्छ,’ उपभोक्तावादी महर्जनले भने ।


निगमका प्रवक्ता मनोज ठाकुरले एलपिजी ग्यास विनियावलीले हाललाई १४.२ किलो तौलको मात्रै सिलिन्डर भरी बजारीकरण गर्न व्यवस्था गरेकाले त्योबाहेक बढी तौल क्षमताको सिलिन्डरको बजारीकरण गर्नु कानुनविपरीत भएको जनाए ।


‘दुई उद्योगीले १४.२ तौलभन्दा बढी तौलको सिलिन्डरमा ग्यास भर्न र बजारीकरण गर्नका लागि लिखित रुपमा अनुमति मागेको थियो,’ निगमका प्रवक्ता ठाकुरले भने, ‘हामीले विनियावलीले १४.२ किलो तौलको सिलिन्डरमा मात्रै ग्यास भरेर बजारीकरण गर्न पाउने मापदण्ड निर्धारण गरेकाले त्योभन्दा बढी तौलको सिलिन्डर उत्पादन गरी बजारीकरण गर्न पाइँदैन भनेर लिखित रुपमा ती दुई उद्योगलाई पत्र पठाइसकेका छौं ।’


बजारमा विनियावलीविपरीत बढी तौल क्षमताको सिलिन्डर बजारमा पुगेको विषयमा निगमलाई जानकारी प्राप्त भएको बताउँदै प्रवक्ता ठाकुरले यो विषयमा निगम गम्भीर भएर आवश्यक गृहकार्यमा जुटेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया