‘रेमिटेन्सले धानेको अर्थतन्त्र जोखिमपूर्ण’

समाधान संवाददाता २०८० मंसिर ९ गते १०:४०

पोखरा ।
‘कुनै देशको अर्थतन्त्रमा २० प्रतिशतभन्दा बढी योगदान रेमिटेन्सको छ भने त्यो जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘नेपालमा २५ प्रतिशतभन्दा बढी योगदान छ, नेपालको अर्थतन्त्र कुनै पनि बेला संकटमा पर्न सक्छ ।’ खाडी मुलुकहरुमा निर्माण गर्नुपर्ने जति पूर्वाधार निर्माण भइसक्न लागेको प्रसंग निकाल्दै उनले यो पनि भने, ‘त्यो नेपालीको रोजगारी पनि संकटमा पर्न सक्छ ।’

Advertisement


उनी अर्थात आप्रवासनका विज्ञ डा जगन्नाथ अधिकारी शुक्रबार सयपत्री समाज पोखराले आयोजना गरेको विप्रेषणः आप्रवास र नेपालको अर्थ राजनीति शीर्षकमा बोल्दै थिए । भारत संसारमै रेमिटेन्स भित्रयाउने १ नम्बर देश भए पनि उसको अर्थतन्त्रमा त्यसको योगदान ३ प्रतिशतमात्रै रहेको उनले सुनाए । ‘उनीहरु जोखिममा छैनन्,’ उनले भने ।


मानिसहरुको बसाइसराइ भने स्वाभाविक र प्राचीनकालदेखि चल्दै आएको डा अधिकारीले बताए । यसको प्रवृत्तिमा मात्रै परिवर्तन आएको उनको भनाइ थियो । पहिला भारत, बर्मा लगायत देश जाने चलन रहेकोमा अचेल मध्यपूर्व, मलेसिया र विकसित देशहरुमा नेपाली बसाइ सरिरहेको उनले सुनाए ।

‘आन्तरिक अर्थतन्त्र बिगार्‍यौं भने पुस्ता दर पुस्ता वैदेशिक रोजगारीमा गइरहनुपर्ने हुन्छ,’


कतिपयले नेपालमा शिक्षा राम्रो भए विदेशिने क्रम रोकिने भनाइ पनि राख्छन् । तर डा अधिकारी त्यो भए पनि प्रवृत्ति बदलिने तर विदेशिने क्रम नरोकिने धारणा राख्छन् । भन्छन्, ‘पढेलेखेका र सिप भएकाहरु विदेशिन्छन् ।’ चिकित्सकहरुको विदेशिने क्रम अहिले पनि रहेको र शिक्षा उत्कृष्ट भए पनि त्यस्तो प्रवृत्ति हुनसक्ने उनको भनाइ थियो ।

Advertisement


अस्ट्रेलियासहितका विकसित देशले नेपालका विद्यार्थीलाई सस्तो कामदारका रुपमा पाइरहेको जानकारी उनले दिए । डा अधिकारी अस्ट्रेलियाबाट विद्यावारिधि हुन् । उनी नेपाल अस्ट्रेलिया गरिरहन्छन् । ‘विकसित देशमा पनि काम गाह्रो छ, तर, बत्तीमा पुतली जसरी झुम्निन्छन् ।’ अस्ट्रेलियामा नेपालीहरुले असामान्य समयमा काम गर्ने र वृद्धवृद्धाको स्याहार गर्ने लगायत काम गरिरहेको जानकारी उनले दिए ।


वैदेशिक आप्रवासन रोक्नका लागि रेमिटेन्सलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने विचार डा अधिकारीको थियो । दक्षिण कोरिया लगायत देशले त्यसो गरेको उनले सुनाए । तर नेपालमा भने रेमिटेन्सको पैसा जति उपभोगमा मात्रै सकिएको चिन्ता उनले व्यक्त गरे । ‘हामीले आन्तरिक अर्थतन्त्र बिगा¥यौं भने पुस्ता दर पुस्ता वैदेशिक रोजगारीमा गइरहनुपर्ने हुन्छ,’ उनले भने ।


विकसित देशमा गएकाहरु नेपाल फर्कने भन्नेचाहिँ कथामात्रै भएको गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारीले बताए । ‘अमेरिकामा नेपालीहरुको जमघटमा नेपाल फर्कने हो, तर केही वर्षमा भन्नेहरु भेटिन्छन्,’ उनले सुनाए, ‘तर त्यो केही वर्ष कहिल्यै आउँदैन ।’ पृथ्वीनारायण क्याम्पसको राजनीतिशास्त्र विभागका डा भीमनाथ बरालले विकसित देशमा जानेहरुले उल्टै नेपालको सम्पत्ति बेचेर उता लैजाने गरेको सुनाए ।


सोही क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वैदेशिक रोजगारीका लागि आप्रवासनमा जाने प्रवृत्ति कहिले रोकिएला भन्ने चिन्ता प्रकट गरे । डा कपिलको विश्वासचाहिँ केही वर्षमा स्थिति परिवर्तन हुने थियो । ‘अहिले जुन मासहिस्टेरियाजस्तो मास निराशा छ, त्यो सधै रहन्न,’ उनले भने, ‘कि राम्रो हुन्छ कि हामी सकिन्छौं, समय सधैं उही हुनै सक्दैन ।’ उनले विदेशमा बसेर नेपालको चिन्ता प्रकट गर्नुलाई ‘लङ डिस्टेन्स न्यासन्यालिजम’ को संज्ञा दिए ।

त्यसमा धरातलीय यथार्थभन्दा धेरै भावुकता हुने उनको तर्क थियो । सयपत्री समाजका अध्यक्ष डा कृष्ण केसी, कार्यकारी निर्देशक गिरधारी सुवेदी, राजनीतिशास्त्री ठानबहादुर केसी, इन्सेक पोखरा संयोजक शिव खकुरेल र भूगोलविद कृष्ण पौडेल लगायतले अन्तक्र्रियामा आआफ्ना विचार राखेका थिए ।

तपाईको प्रतिक्रिया