सिकारु विद्यार्थीको अभ्यास

समाधान संवाददाता २०७५ माघ ७ गते ११:५१

खगराज बराल

२०४९ साउनदेखि मैले पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा काम गरेको थिएँ । त्यसअघि पनि सिकाइ सम्बन्धी तीता अनुभवहरु नभएका होइनन् । तर क्याम्पस पढाउन थालेपछि भने यसको तिक्ष्ण अनुभव बढ्दै गयो । अंग्रेजी विषय विभागका प्रमुख देवेन्द्र अधिकारीको आग्रह स्वीकार्दै बिहान स्नातकोत्तर तहको विद्यार्थी, दिउँसो नवीन माध्यमिक विद्यालयको शिक्षक र बेलुकी पृथ्वीनारायण क्याम्पसमा अध्यापन जस्ता दैनिक ३ वटा भूमिका निर्वाह गरेको थिएँ त्यस समय ।

शिक्षाशास्त्र संकायअन्तर्गत हरेक तहको अन्त्यमा ‘शिक्षण अभ्यास’ को अनिवार्य कार्यक्रम राखिएको छ । शिक्षण अभ्यासले अभ्यासरत विद्यार्थीलाई सीप विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको हुन्छ । यस्तै शिक्षण अभ्यासका २ टा अविस्मरणीय अनुभव छन् मसँग, सधैं ताजा ।

Advertisement

०५० सालतिर पोखरामा शिक्षण कार्यमा संलग्न हुँदा बालबालिकाको हितका लागि गठित बाल विकास सांस्कृतिक समाजको सहसचिवको नाताले मेरो संयोजकत्वमा गठित कविता प्रतियोगिताको निमन्त्रणा वितरण गर्न पोखराका माध्यमिक विद्यालय घुम्दै थिएँ । त्यसै क्रममा बाराही माध्यमिक विद्यालय जान पोखरा बागवानी केन्द्र नजिकै पुगेको थिएँ, १ जना पूर्वविद्यार्थीसँग भेट भयो । उनको शिक्षण अभ्यासको आन्तरिक सुपरिवेक्षण मैले गरेको थिएँ ।

पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र संकायको शिक्षण अभ्यास समितिका प्रमुख चूडामणि सोतीले मलाई नवीन माध्यमिक विद्यालय र छिमेकी विन्ध्यावासिनी माध्यमिक विद्यालयमा प्रवीणता प्रमाणपत्र र स्नातक तहका विद्यार्थीको नेपाली र अंग्रेजी विषयको आन्तरिक सुपरिवेक्षण जिम्मा दिनुभएको थियो । बागवानीको गेटमा भेट भएका ती विद्यार्थीले आफू प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अनुत्तीर्ण भएको र त्यसमा पनि शिक्षण अभ्यासमा अनुत्तीर्ण भएको जानकारी गराउनुभयो । मलाई निज विद्यार्थी किन अनुत्तीर्ण हुनुभयो होला भन्ने लाग्यो । म उहाँको शिक्षण अभ्यासलाई स्मरण गर्ने कोसिस गर्दै आफ्नै काममा लागें– ‘एहे ! त्यसो नहुनुपर्ने, किन त्यस्तो भयो त ? म बुझ्ने प्रयास गर्छु ।’

Advertisement

केही पर पुगेपछि म फर्किएँ र उनलाई पुन बोलाएर सोधें– ‘तपाईं यहाँ के गर्दै हुनुहुन्छ ? के तपाईं यहींको स्टाफ हो ?’

उहाँको जवाफ थियो– ‘सर ! म यो बागवानीभित्र ज्यालादारी मजदुरी गर्छु । फलफूलका बोट वरिपरिको घाँस काट्ने र झार उखेल्ने काम गर्दै पढ्दै आएको छु । काम नगरी पढ्न सक्ने उपाय छैन ।’

ज्यादै माया लाग्दो पाराले आफ्नो व्यथा सुनाए उनले । ट्वाल्ल परेर हेरेको हेर्यै भएँ म । ‘हुन्छ, भाइ ! अर्को वर्ष प्रयास गर्नुहोला । अवश्य सफल हुनुहुनेछ । केही कारण थियो होला । म बुझ्ने प्रयास गर्छु ।’

म त्यहाँबाट त हिँडें तर पटक्कै जाँगर चलेन, बागवानी नजिकैको चौतारीमा बसेर सोच्न थालें– ती विद्यार्थी शिक्षण अभ्यासमा अनुत्तीर्ण हुनुको कारण के होला ? केहीबेर सोचेपछि मलाई पूर्वदीप्ति भयो ।

आफू अध्यापन गर्ने विद्यालयबाट शिक्षण अभ्यासको सुपरिवेक्षणका लागि म विन्ध्यवासिनी माध्यमिक विद्यालय गएको थिएँ । मालेपाटनमा भेट भएका विद्यार्थीसहित ९–१० जनाको कक्षा अवलोकन गर्ने, पृष्ठपोषण दिने र बाह्य सुपरिवेक्षकलाई आन्तरिक सुपरिवेक्षकको जानकारी उपलब्ध गराउने मेरो काम थियो । अरु विद्यार्थीको कक्षा अवलोकन गरे पनि निज विद्यार्थीको कक्षा अवलोकन गर्ने अवसर त्यस दिन मिलेन । नमिल्नाको कारण थियो विद्यालयमा त्यस दिन उनको अनुपस्थिति ।

दोस्रो चरणको सुपरिवेक्षणमा उनी उपस्थित थिए तर कक्षाकोठामा गएर अवलोकन गर्दा म अन्योलमा परें । पाठयोजनाको रजिस्टरको अन्तिम योजना र उनले पढाएको कुरा मिल्दै मिलेन । मैले त्यसको मिति हेरें, १० दिनपछिको रहेछ । पढाउँदै गरेका व्यक्तिलाई सोध्ने कुरा पनि भएन । अगाडिको मितिका योजनाका पाना पल्टाउँदै जाँदा बल्ल त्यस पाठको योजना भेटियो ।

उद्देश्यदेखि मूल्यांकनसम्म कुनै पनि लेखाइ मिलेको थिएन । अध्यापन पनि प्रभावकारी हुन सकेन । कुनै शिक्षण सामग्री प्रयोग गरिएको थिएन । विद्यार्थी उत्प्रेरित देखिँदैनथे । विद्यार्थीको शून्य सहभागिताले कक्षामा हल्ला भइरहेको थियो । कक्षा अवलोकनको समय सकिएपछि म उनको पाठयोजना रजिस्टर लिएर शिक्षण अभ्यासका सहभागी बसेको कक्षतिर गएँ ।
एकान्तमा राखेर उनलाई सोधें– ‘तपाईंले ३० दिनको पाठयोजना तयार पार्नुभएको रहेछ । १ दिन बसेर ३० सै दिनको पाठयोजना बनाउन त मिल्दैन नि । आज पढाएको आधारमा भोलिको पाठयोजना बनाउने हो । त्यसैले यसलाई दैनिक पाठयोजना भनिएको हो । यो तपाईंले गलत गर्नुभयो ।’ अनुहार रातो पार्दै उनले भने– ‘सर, गल्ती भयो तर बाध्य छु । फुर्सदै हुँदैन ।’

‘तपाईं अध्ययन गर्न आएको विद्यार्थी हो । शिक्षण अभ्यासमा तपाईंलाई फुर्सद छ–छैन भनेर हेर्न मिल्दैन । प्रणालीअनुसार काम गर्नुपर्छ । यसले राम्रो नतिजा दिँदैन । तपाईंले धेरै कुरामा सुधार गर्नुपर्छ । तपाईंको पाठयोजनाको रजिस्टरमा लेखिदिएको छु । पढेर सुधार गर्नुहोला । अर्कोपटक गल्ती नदोहोर्‍याउनुहोला ।’

त्यसपछि प्रधानाध्यापकसँग पनि यसै विषयमा छलफल भयो । शिक्षण अभ्यासमा आएका विद्यार्थीको नियमिततामा चासो दिन अनुरोध गरें । उहाँले पनि निज विद्यार्थी नियमित नभएको, पठनपाठन राम्रो नभएको बताउनुभयो । निज विद्यार्थीलाई केही समयका लागि कक्षामा अभ्यास गर्न दिए पनि आफूहरुले पुन दोहोर्‍याउनेसमेत जानकारी दिनुभयो ।

शिक्षण अभ्यासको अन्तिम समय आयो । बाह्य सुपरिवेक्षकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसबाट दाह्री पालेका १ जना उपप्राध्यापक आउनुभयो । मैले पढाउने विद्यालयमा अभ्यासरत विद्यार्थीको कक्षा अवलोकन गर्नुभयो । छोटो कुराकानी गरी मेरो आन्तरिक सुपरिवेक्षण प्रतिवेदन लिनुभयो ।

दुवै जनाको सहमतिमा अंक प्रदान गर्‍यौं, तर विन्ध्यावासिनी माध्यमिक विद्यालयको शिक्षण अभ्यासको अन्तिम अवलोकन गर्दा खबर गर्नु भएन । केही सोध्नु भएन र आन्तरिक सुपरिवेक्षण प्रतिवेदन पनि लिनु भएन । आफ्नै किसिमले अंक हाल्नुभयो ।

शिक्षण अभ्यासमा अनुत्तीर्ण विद्यार्थीका उत्तीर्ण हुनुपर्ने पर्याप्त आधार त थिएनन् तर अनुत्तीर्ण नै होला भन्ने मैले सोचेको थिइनँ । बाह्य सुपरिवेक्षकले अनुत्तीर्ण गर्ने रहेछ । यो रहस्य मालेपाटनको बागवानीमा निज विद्यार्थीलाई भेटेपछि थाहा पाएँ ।

शिक्षण अभ्यासमा तोकिएका सर्त गम्भीरतापूर्वक पालना नभएमा असफल भइँदो रहेछ भन्ने उदाहरण हुन् ती विद्यार्थी । बेरोजगारी र गरिबीसँग जोडेर भावनात्मक रुपमा उत्तीर्ण गराउन सकिँदैन । हिजोआज त शिक्षाशास्त्रमा अध्ययन गर्ने विद्यार्थीले शिक्षण अभ्यासमा उपस्थितिमात्र जनाएर वा कहिलेकाहीं मात्र उपस्थित भएर पनि उत्तीर्ण भएको जानकारी पाएको छु ।

शिक्षण अभ्यासका सन्दर्भमा अर्को अनुभव पनि छ मसँग ।

कुरा ०५० सालतिरकै हो । नवीन माध्यमिक विद्यालय र विन्ध्यावासिनी माध्यमिक विद्यालयमा स्नातक तहका ४ जना विद्यार्थीको माध्यमिक तहको शिक्षण अभ्यास आन्तरिक सुपरिवेक्षण गर्नुपर्ने थियो । नवीन माविमा नेपालीका २ र अंग्रेजीका १ जना एवं विन्ध्यावासिनीमा नेपाली विषयका १ जना विद्यार्थी थिए । सुपरिवेक्षणकै क्रममा आफू अध्यापनरत विद्यालयमा नियमित र विन्ध्यावासिनी माविमा ३÷४ पटक कक्षा अवलोकन गरें ।

विभिन्न पक्षमा सुधारका लागि प्रशस्त सुझाव र पृष्ठपोषण दिएँ । प्रारम्भका तुलनामा निकै सुधार पनि देखिए । शिक्षण कार्यक्रमको प्रकृतिअनुसार ४५ दिन पुग्ने बेलामा नेपाली विषयको बाह्य सुपरिवेक्षकका रुपमा सानोठिमी क्याम्पसका माधव वाग्ले सर आउनुभयो । संयोग नै भन्नुपर्‍यो, मेरो प्रवीणता प्रमाणपत्र तहको शिक्षण अभ्यासको बाह्य सुपरिवेक्षक वाग्ले सर नै हुनुहुन्थ्यो ।

उहाँले मेरो कक्षा अवलोकन गरी बाह्य सुपरिवेक्षकका रुपमा मलाई औसत अंक दिनुभयो । त्यस समयमा पनि मेरो कक्षाको बाह्य सुपरिवेक्षणको समयमा आन्तरिक सुपरिवेक्षकको उपस्थिति थिएन ।

गुरुचेला दुवैको सल्लाह र सहमतिमा कक्षा अवलोकन भयो । ‘बरालजी, तपाईं यो विद्यालयको शिक्षक र आन्तरिक सुपरिवेक्षक दुवै हो । यो विद्यालयमा तपाईंको सुपरिवेक्षणमा राम्रो अभ्यास भएको छ । विद्यार्थी तपाईंको निर्देशन र नियन्त्रणमा काम गरेका छन् । तपाईं नै भन्नुहोस् कति अंक दिने ? म त्यसैमा सहमत छु,’ माधव सरले भन्नुभयो ।

‘विद्यार्थीले मिहिनेत गरेकै हुन्छ तर सबै समान हुँदैनन् । प्रस्तुतिका आधारमा न्यायोचित अंक दिउँ न सर !’ मैले भनें ।

हामी दुवै सहमत भयौं । अंक प्रदान गरियो । आन्तरिक सुपरिवेक्षकको भूमिकालाई सम्मान गरेकामा गर्विलो महसुस गरें । त्यसपछि हामी विन्ध्यावासिनी माध्यमिक विद्यालय गयौं । अवलोकनका लागि कक्षा ८ मा शिक्षण गर्ने विद्यार्थी शिक्षकको कक्षामा प्रवेश गर्‍यौं । विद्यार्थीले उठेर अभिवादन गरे । अभ्यासरत शिक्षक पनि पूरा तयारीमा थिए । नेपाली किताबको ‘नीतिशतकबाट’ शीर्षकको कविता शिक्षण गर्ने जानकारी निज शिक्षकले कालोपाटीमा लेखेको पाठ शीर्षक र मितिले जनाउँथ्यो । विद्यार्थी शिक्षकले आफ्नो पाठयोजनाको रजिस्टर हामीलाई बुझाएर कक्षा सञ्चालन गर्न थाले ।

चक्रपाणि चालिसेद्वारा लिखित अनुष्टप् छन्दको यस कवितालाई लयबोध, शब्दार्थ, वाक्यगठन र भावबोध गराउने विशिष्ट उद्देश्य निर्धारण गरी शिक्षण गर्ने योजना बनाइएको रहेछ । ती अभ्यास शिक्षकले लयबोधका लागि आफूले सस्वर वाचन गरे तर गति, यति र लयमा ध्यान दिएनन् । छन्दोबद्ध कवितामा सकेसम्म लयबोधका चरण अनुसरण त गरे तर उनलाई तोकिएको छन्दमा लयबोध गराउन कठिन भएको महसुस भयो । त्यसलाई पनि ठूलो विषय बनाइएन, लयबोध तोकिएको लयमा भए राम्रो हुन्थ्यो ।

अभ्यास शिक्षक जब शब्दार्थ शिक्षणमा पुगे, समस्या त्यहाँ देखियो । कतिपय शब्दहरुको अर्थ शब्दार्थ पत्तीबाट दिए । उनको शब्दार्थ पत्ती यति सानो थियो कि पछाडिका विद्यार्थी र हामीले पनि देख्न मुस्किल भयो । १ जना विद्यार्थीले ‘सुत’ शब्दको अर्थ सोधे । ती शिक्षक अलमलमा परे । उनले ‘सुत’ शब्दको अर्थ भन्नै सकेनन् । ‘नीतिशतक’ कविताको श्लोकमा थियो त्यो शब्दः
‘मूर्ख पुत्र हजारौंमा वेश यौटै गुणी सुत ।’

तपाईको प्रतिक्रिया