फिल्म समीक्षा
युद्धभूमिमा मौलाएको फूल

‘युक्रेन’ शब्द सुन्नेबित्तिकै मानसपटलमा कस्तो चित्र बन्छ ?
युद्ध, बारुदको वर्षा, अशान्ति, र आतंकको शृंखला यस्तै होला सायद ! तर, सिनेमाका पारखीले केही समययता यसलाई युद्धको जर्जर भूमिमात्र होइन, कलात्मक सिनेमाको उर्बर भूमिको रूपमा लिन थालेका छन् ।
सन् २०२२ को फेब्रअरी महिनाको अन्तिम साता । झिसमिसेमै रूसले युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र हान्यो । सैन्य आक्रमणपछि डरले केही किएभबासी सहर छाड्न लामवद्ध थिए, केही रुसी सैनिकको सामना गर्न हतियार उठाउँदै थिए ।
तर, युक्रेनी निर्देशक एन्टोनियो लुकिचको हातमा भने ‘हार्ड ड्राइभ’ थियो । जसमा थियो, सम्पादन नगरिएको चलचित्रको ‘फुटेज’ । लुकिचलाई हार्ड ड्राइभ सुरक्षित ठाउँमा सार्नुमात्र होइन, चलचित्रको सम्पूर्ण काम फत्ते गरी सेप्टेम्बरमा हुने फिल्म फेस्टिभलमार्फत विश्वलाई आफ्नो कथा भन्नु पनि थियो ।
युद्धको रापताप बाबजुद पनि उनले काम सुरु गरे । र, जन्मियो – लक्जेम्बर्ग, लक्जेम्बर्ग । भेनिस फिल्म फेस्टिभल, टोरन्टो फिल्म फेस्टिभल हुँदै गत महिना नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलसम्म आइपुग्यो, त्यो चलचित्र ।
युक्रेनको सानो सहरमा जसोतसो जीवन धानिरहेका छन्, चलचित्रका केन्द्रीय पात्रहरु कोल्या र वास्या । उनीहरु जुम्ल्याहा दाजुभाइ हुन् । हेर्दा उस्तै देखिन्छन् तर स्वभाव भने बिल्कुल फरक ।
२७ वर्ष पुगे पनि कोल्या अझै पनि परिवारसँगै बस्छन्, ऊ बस चालक हुन् । तर, बेलाबखत लागुपदार्थ ओसारपसार गर्छ । प्रहरी सेवामा रहेका वास्या भने श्रीमती र बच्चासँग बस्छन् ।
उनीहरुको जीवन सामान्य रुपमा चलिरहेको थियो । अचानक एक दिन कोल्यालाई दूतावासबाट एउटी महिलाले फोन गरेर भन्छिन्, ‘तिम्रो बुबा यति बेला लक्जेम्बर्गको अस्पतालमा जीवनमृत्युको दोसाँधमा बाँचिरहेका छन् ।’
कुनै समयका कुख्यात ग्याङस्टार बुवा जसले २० वर्षअघि घर त्यागेर हिँडेका थिए । कोल्यालाई बुवाको मुहार खासै याद थिएन । तर, खबर सुनेपछि बुवा भेट्ने तीव्र इच्छा हुन्छ । त्यसपछि लक्जेम्बर्ग जाने तयारी गर्छन् । यद्यपि, त्यसमा अवरोध जनाउँछन्, आमा र वास्याले । त्यतिमात्र नभई आफ्नै खराब आचरणको कारण कानुनसमेत उनको खिलाफमा छ ।
त्यसो त बुबाआमाको छत्रछाँयामा हुर्किन पाउने सबैको सौभाग्य हुँदैन । कोही यस्ता पनि हुन्छन्, जो नहुर्किंदै बुबाआमा टाढा भइदिन्छन् । ‘लक्जेम्बर्ग, लक्जेम्बर्ग’ बुबाको अनुपस्थितिमा हुर्केका जुम्ल्याहाको कथा हो । बुवाबिना उनीहरुको जीवनमा परेको प्रभाव र तिनले बुबालाई हेर्ने दृष्टिकोणको कथा हो । चलचित्रको अन्तिममा लेखेको वाक्यांशले स्पष्ट पारेको छ कि यस चलचित्र केही हदसम्म निर्देशककै आत्मकथा पनि हो ।
छाडेर गएका बुबाआमाप्रति सबैको दृष्टिकोण उस्तै नहोला । कसैको राम्रै होला, कसैको नराम्रो ! लेखकले दुई पात्रमार्फत बुवालाई हेर्ने फरक दृष्टिकोण देखाएका छन् । सानैमा घर त्यागेर गएका बुवालाई वास्या विस्मृतिको गर्तमा पुर्न चाहान्छ । अन्तिम अवस्थामा पनि ऊ बुवाको मुख हेर्न चाहदैन ।
तर, कोल्याको धुमिल स्मृतिमा बुवा अझै हिरो नै लाग्छ, जसले बन्दुक पड्काएर मालवाहक रेल रोक्न सक्छ । उनलाई बुवाबारे अझै धेरै जान्न मन छ । बुवाले सुन्ने ९० को दशकको बोनी एमका ‘ड्याडी कुल’ गीत सुन्न मन छ । अन्तिम अवस्थासम्म बुबाको हेरचाह गर्ने चाहना छ । फेरि एक पटक भेटेर भन्न मन छ, ‘हामीलाई किन छाडेर हिँड्नु भो ?’
कोल्या भन्छ, ‘छोरा आमा जस्तो देखिए भाग्यमानी हुन्छ रे ! हामी जुम्ल्याहा भए पनि, वास्या आमाजस्तै देखिन्छ; म बुबाजस्तै देखिन्छु ।’ यो वाक्यांशको अर्थ सिनेमाभरि झल्किन्छ ।
वास्याले बुबा भेट्न जान इन्कार गरेपछि अर्को दृश्यमा उनी भन्छन्, ‘अभिभावक आफ्नो छोराछोरीप्रति जिम्मेवार हुनुपर्छ । के हामी छोराछोरी आमाबाबुप्रति जिम्मेवार हुनु पर्दैन ?’ त्यस्तै, लक्जेम्बर्गलाई हेर्ने उनीहरुको दृष्टिकोण पनि फरक छ । एक जनाको नजरमा लक्जेम्बर्ग अत्यन्त आपराधिक गतिविधि हुने सहर हो, दोस्रोको नजरमा धनीहरु बस्ने सहर ।
लयर्सा पेट्रिनाको गतिविधि, चेन्जिङ–रूमको दृश्य, पासपोर्टको फोटो खिच्दा पुस्तकमाथि बसेको जस्ता दृश्यले हसाउँछन् । डार्क कमेडी जनरामा बनेको चलचित्र जति हाँस्यास्पद छ, उतिकै हृदयविदारक पनि ।
एउटा दृश्यमा घरेलु हिंसा पीडित महिलाको मौखिक जाहेरी परेपछि पक्राउ गर्न प्रहरी पुग्छ । क्यामराले प्रहरीलाई पछाडिबाट ‘लङ टेक सट’मा पछ्याएको छ । भित्र कोठामा श्रीमान–श्रीमतीबीच भनाभन भइरहेको छ । ढोका फोरेर प्रहरीभित्र छिर्छ । तर, क्यामरा ढोकामै अडिन्छ । बरु ढोकाबाट क्यामरा दायाँ ‘पेनिङ’ हुँदै बच्चालाई देखाउँछ । कस्तो अर्थपूर्ण दृश्य !
पहिलो त क्यामरा कथाको भाव अनुरुप चलेको छ, हिंसाको दृश्यलाई नदेखाएरै कथा भनेको छ । दोस्रो, बुबाआमाको बेमेलले बच्चाको मनोविज्ञानमा पर्ने असरबारे बताउन खोजेको छ ।
चलचित्रमा बढी देखिएका कोल्याको चरित्र गहन रुपमा निर्माण गरेका छन् । बहुचर्चित चलचित्र द गडफादरमा माइकल कोरलीओनी अरुका लागि निर्दयी हुन्छन् । तर परिवारको लागि निकै संवेदनशील । कोल्या पनि बाहिर जति कठोर देखिन्छ, आफ्नाहरुको लागि उति नै संवेदनशील छन् । कोल्याको चरित्रले कोरलीओनीको झल्को दिलाउछ ।
निर्देशकले युक्रेनको जीवनशैली, विश्वास पद्धति, वर्गबीचको खाडल, सामाजिक पक्ष, सांस्कृतिक पक्ष, यातायात प्रणाली, प्रहारी सञ्जाललाई चलचित्रमा उतारेका छन् । चलचित्रको कथा एउटै गतिमा बगेको छ ।
मुख्य कलाकार (रामिल र अमिल नासिरोभ)ले कथामा जीवन्त अभिनय गरेका छन् । उनीहरु युक्रेनी सांगीतिक समूह कुर्गन र एग्रेगटका सदस्यसमेत हुन् । युक्रेनी भाषामा बनेको यस चलचित्रका सम्पादन, ध्वनी, छायांकन पनि उल्लेखनीय छन् । सम्पादनमा प्रयोग गरिएको ‘म्याच कट’ले दृश्यहरुलाई रोचकसँगै कलात्मक पनि बनाएको छ ।
बुबाले घर छोड्दा कोल्या र वास्या ७ वर्षका थिए, अहिले २७ का । साथीले ग्याँस स्टेसनमा बुवालाई ७ वर्षअघि देख्नु । जेल सजाय ७ वर्षसम्म हुने सक्ने भन्नु । कोल्याले लागेको जर्सी सातै नम्बरको हुनु । त्यस्तै उनीहरुको स्वभाव अनुसारको कोल्याले रातो रङको कपडा लगाउनु र वास्याले नीलो लगाउनु । अंक ‘सात’ र रङको प्रयोग बिम्बात्मक छ ।
तर, कमेडी प्रधान चलचित्र भए पनि अन्तर्राष्ट्रिय दर्शकले अथवा त्यहाँको भूगोल, रहनसहन नबुझेकालाई उति कमेडी नलाग्न सक्छ । यो चलचित्रको छायांकन सकिनेबिवत्तिकै युद्ध सुरु भएको थियो । ‘पोस्ट प्रोडक्सन’ पनि अशान्तिबीच नै भयो । यसरी बम र बारुदको वर्षा थेगेर पनि आफ्नो कथाव्यथा विश्वलाई सुनाउन निर्देशक सफल भएका छन् । युद्धले थिलथिलो पारेको भूमिमा पनि सुन्दर फूल फुलाउन सफल भएका छन् ।
तपाईको प्रतिक्रिया