सुनको बुद्ध मूर्ति भन्दै ठग्ने ३ जना पक्राउ

समाधान संवाददाता २०७६ भदौ २ गते १२:१५

समाधान संवाददाता, पोखरा

रमेश श्रेष्ठ भनिने देवकुमार श्रेष्ठ(३३), देवराज प्रधान भनिने वसन्तबाबु श्रेष्ठ(३६) र नवराज पाण्डे भनिने रामराज शिवाकोटी (५२) साथी हुन् । उनीहरुलाई पहिल्यैदेखि क्यासिनोमा रमाउने आदत भइसकेको छ । क्यासिनोमै उनीहरुले आफ्ना सारा सम्पत्ति गुमाए ।

भएको सम्पत्ति सबै गुमिसक्यो । तर, क्यासिनो खेल्ने बानी भने उनीहरुबाट छुटेन । विभिन्न ठाउँमा रहेका क्यासिनो पुग्ने र त्यसको रसरङमा हराउने आदत गएन । अब के गर्ने त ? एकदिन उनीहरुले योजना बनाए, ‘विभिन्न धातु मिसाएर बुद्धको मूर्ति बनाउने । अनि त्यसलाई सुनौलो रङले लेपन गरेर व्यापारीलाई महँगो मूल्यमा बेच्ने ।’

Advertisement

योजनामा सामेल रामराज र वसन्तबाबु काठमाडौंमा बस्छन् । ती २ जना योजनाअनुरुप उनीहरुले दुरुस्तै देखिने सुनको मूर्ति बनाएर पोखरा आए । पोखरा ९ बस्ने साथी देवकुमारलाई भेटे ।

मूर्ति तयार छ । अब कसलाई बेच्ने ? उनीहरुमध्ये एकजना मूर्ति खरिदकर्ता खोज्दै पोखरा घुम्छन् र पुग्छन्, पोखरा ८ बस्ने परमेश्वर विश्वकर्माकहाँ । विश्वकर्मालाई सुन व्यवसायी नै हुन् । उनलाई सुरुमा त्यो सुनै हो भन्ने विश्वास लाग्दैन । तर, मूर्ति लिएर आउनले आफैंले बोकेर ल्याएको ड्रिल घुमाएर केही धुलो झार्छन् । धुलो मापन गर्दा निक्र्यौल हुन्छ, ‘यो त सुनैको मूर्ति रहेछ ।’

Advertisement

विश्वकर्माका छोराले मूर्ति किन्न आनाकानी गरिरहेका हुन्छन् । तर, बुबालाई सुनको मूर्ति त्यसमाथि प्राचीन भएपछि आर्थिक लोभको प्रलोभन जाग्छ । उनीहरुबीच १३ लाख रुपैयाँमा कुरा मिल्छ । साउन १४ गते पैसा पाएको केही समयमै मूर्ति त्यहीं छोडेर उनीहरु फरार हुन्छन् । विश्वकर्माले पछि पुन जाँच गर्दा थाहा पाउँछन्, त्यो सुनको बुद्ध मूर्ति त नक्कली पो परेछ !

प्राचीन बुद्ध मूर्ति किन्दा आफू ठगिएको थाहा पाउँछन् र तत्कालै प्रहरीलाई खबर गर्छन् । प्रहरी त्यसपछि अनुसन्धानमा खटिन्छ । खटिएको टोलीले पोखरा ६ डिहिकोपाटनबाट शंकास्पद ३ जनालाई पक्राउ गर्छ ।

चेकजाँच गर्दा रामराज शिवाकोटीले बोकेको झोलाभित्र राखेको सुनको जस्तो देखिने पहेलो घातुको बुद्धको मूर्ति फेला पर्छ । उनकै बयानका आधारमा तत्काल अन्य २ जनासमेत पक्राउ पर्छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका ती ३ जनालाई आइतबार सार्वजनिक गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘उनीहरुबाट हामीले ६ किलोको सुनौलो रङको मूर्ति, २ वटा क्यासिनो कार्ड र भारतीय राजदूतावासको कार्ड एउटा फेला पारेका छौं ।’ उनीहरुले भारतीय ‘आधारकार्ड’ समेत बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया