म्याग्दीका ११ हजार घरमा छैन केन्द्रीय लाइन

समाधान संवाददाता २०७६ भदौ ४ गते १३:२०

राकेश शर्मा
म्याग्दी

म्याग्दीका ११ हजार ४ सय ६२ घरमा अझै केन्द्रीय प्रशारण लाइन पुगेको छैन । २०५८ को जनगणना अनुसार म्याग्दीमा २७ हजार ७ सय ६२ घरधुरी छन् । अहिलेसम्म १६ हजार ३ सय घरमा मात्र केन्द्रीय प्रशारण लाइन पुगेको नेपाल विद्युत प्राविधिकरण म्याग्दी वितरण शाखाले जनाएको छ । बिजुली नपुगेको धेरै जसो ठाउँमा टुकी र सोलारमै स्थानीय निर्भर छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा म्याग्दीका ७ सयभन्दा बढी घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले थप १ हजार घरमा विद्युत विस्तार तयारी भएको जनाएको छ । धवलागिरी गाउँपालिकाको मुना, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मंगलाको सातबिसे, नेटामा गत आर्थिक वर्षमा विद्युत विस्तार भएको हो ।

Advertisement

७ सय ११ घरधुरी थपिएको बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए । ताकम र मुनाका १ हजार घरधुरीमा नयाँ मिटर बक्स जडानको माग आएको छ । केन्द्रका प्राविधिक हेमराज शर्माले देवीस्थान, रुम, ओखरबोट, ताकम, मराङमा पनि विद्युतीकरणका कारण मुख्य र शाखा लाइन विस्तारको काम भइरहेको जानकारी दिए । म्याग्दीमा २४ हजार घरधुरी छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रसहित बेनी वितरण केन्द्र अन्तर्गत १६ हजार ३ सय उपभोक्ता छन् ।

दुर्गम गाउँ बस्तीमा विद्युत सुविधा विस्तार भएपछि स्थानीयको दैनिकी सहज भएको छ । उज्यालोका लागि टुकी र सोलारमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सजिलो भएको छ । फर्निचर, राइस मिल, कुखुरापालन लगायत व्यवसाय र उद्योग सञ्चालन हुन थालेका छन् । म्याग्दीमा यस वर्ष केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न सिंचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले २ वटा शीर्षकमा १२ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । ४५ मध्ये ११ वटा वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छैन । पिक आवरको समयमा ४ मेगावाट विद्युत खपत हुने गर्छ ।

Advertisement

रघुगंगगाको कुइनेमंगले, चिमखोला, दग्नाम, धवलागिरीको मुदी, बगरा, चेचुङ, खिबाङ, मालिकाको रुमका केही गाउँमा अझै विद्युुत पुगेको छैन । यसको विवरण केन्द्रमा पठाएको प्राविधिक शर्माले बताए । केन्द्रले गत आर्थिक वर्षमा ७ करोड ३७ लाख ४१ हजार ७ सय १३ रुपैयाँ विद्युत महसुल संकलन गरेको छ । सहलेखा अधिकृत रामप्रसाद मुडभरीका अनुसार ७ करोड ४५ लाख ६६ हजार ९ सय ४० रुपैयाँको विद्युत बिक्री भएको थियो । ८ लाख २५ हजार २ सय २७ रुपैयाँ बक्यौला उठाउन बाँकी छ । ‘कोहीको बिल काट्ने मान्छे तिर्न नआएको, कोहीले तीन महिनामा तिर्ने भनेर बसेकाले यो रकम बाँकी हुन आएको हो,’ उनले भने, ‘हामीले अहिले राजश्व संकलनमा कडाई गरेका छौं । त्यसले पनी बिक्री र राजश्व संकलनमा धेरै अन्तर छैन ।’

गत वर्षमा १९ लाख ९६ हजार २५७ रुपैयाँ महसुल नतिरेका १ सय ८७ जनाको लाइन काटिएको थियो । १ सय ६१ जनाले जरिवानासहित २२ लाख ४३ हजार ७४५ रुपैयाँ भुक्तानी गरेपछि विद्युत लाइन पुन जडान गरिएको थियो । ५५ जनाले ६ महिनासम्म पनि आफूले प्रयोग गरेको ९ लाख ७२ हजार ५ सय ७२ रुपैयाँ महसुल नबुझाएका कारण उनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको केन्द्रका सरोज आचार्यले बताए । बेनीका साथै राखुको पिप्ले, भगवती, शिख, घार, दरबाङमा ३ महिनामा घुम्ती शिविर राखेर विद्युत महसुल सोही ठाउँमा लिने गरिएको छ ।

पछिल्लो समय विद्युुत महसुल इसेवाबाट पनि भुक्तानी गर्नेको संख्यामा वृद्धि आएको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ । गत वर्ष अनलाइनबाट १० हजार ३ सय ९७ जनाले ७० लाख ३९ हजार ४ सय ९३ रुपैयाँ महसुल तिरेका छन् । जसमा प्रभु बैंकबाट तिर्नेको संख्या बढी छ ।

नयाँ ठाउँमा विद्युत विस्तार भएको बाहेक वर्षाैंदेखि विद्युत सेवा पुगेका स्थानबाट दैनिक १० जनाको अनुपातमा ग्राहक थपिदै गएको कार्यालय जनाएको छ । ‘यो लाइन मुस्ताङसम्म पुगेको ३ जिल्लामा कुनै समस्या आएर लाइन काट्न प¥यो भने म्याग्दीमा लाइन जाने भएकाले बढी लोडसेडिङ हुने गरेको हो,’ उनले भने, ‘मोदी खोलाबाट म्याग्दीका लागि छुट्टै फिडर लिएर विद्युत विस्तार गरेको भए अहिले जस्तो लोडसेडिङको समस्या म्याग्दीले बेहोर्नु नपर्ने उनको भनाइ छ । दाना खुर्कोट लाइन बनेपछि अनियमित विद्युत आपूर्ति समाधान हुने प्रमुख न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया