मुस्ताङमा हिउँ परेपछि किसानमा उत्साह

समाधान संवाददाता २०७५ पुष २४ गते १५:०८

सुन्दरकुमार थकाली

मुस्ताङ गएरातिदेखि लगातार छिटफुट हिउँ परिरहेको छ । पोहोर पुस २७ गते आंशिक हिउँ परेकोमा आइतबारको मध्यरातदेखि लगातार हिउँ पर्न सुरु गरेको हो ।
मुस्ताङमा सोमबार बिहान पनि लगातार हिउँ परिरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । हिउँपरेपछि यहाँका नाङ्गा डाँडा सेताम्मे बनेको उनले बताए । मौसम परिवर्तन भएकाले थप हिउँ पर्ने अनुमान छ । उनका अनुसार आइतबार राति घरपझोङ गाउँपालिका अन्तर्गतका जोमसोम, मार्फा, स्याङ, ठिनी, छैरोमा छिटफुट हिउँ परेको हो । जिल्लाको तल्लो भेग थासाङ गाउँपालिका अन्तर्गतका गाउँमा समेत आंशिक हिउँ परेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र कागबेनी लगायत अन्य ग्रामीण बस्तीहरुमा समेत हिउँ परेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । हिउँ परेपछि स्थानीयमा खुसीयाली छाएको रेग्मीले सुनाए ।
सीमा प्रहरी चौकी लोमन्थाङका असई नरेन्द्रकुमार पौडेलले उत्तरी सीमावर्ती क्षेत्रका गाउँहरु छोसेर र छोनुपमा हिमपात भइरहेको जानकारी दिए । उनले गएराति परेको हिउँ दोस्रो भएको बताए । उनका अनुसार उपल्लो मुस्ताङको बस्ती माथिका पुरै डाडाकाँढाहरु हिउले सेताम्मे भएको जनाए ।
उपल्लो मुस्ताङको व्यापारिक केन्द्र लोमान्थाङमा ७ इन्च जति हिउँ जमेको असई पौडेलले जानकारी दिए । ‘उपल्लो मुस्ताङमा तापक्रम माइनस १८ पुगेको छ । त्यहाँका नदी नाला र पानीका स्रोतहरु चिसोले जमेका छन्,’ असई पौडेल भने, ‘लोमान्थाङ बजारमा करिब ७ इन्च जति हिउँ छ । यहाँ आएका पर्र्यटक मोटरबाटो हिँड्ने अवस्था छैन, कालिगण्डकीको तिरैतिर हिँड्न बाध्य छन् ।’


हिउँ परेपछि खुसीयाली
सिजनकै पहिलोपटक हिउँ परेपछि मुस्ताङमा खुसीयाली छाएको छ । हिउँ हेर्न र खेल्न कर्मचारी, पर्यटक र स्थानीयबासीमा हिउँको रौनक थपिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनले हिउँले मुस्ताङको पर्यटन र कृषिक्षेत्रलाई फाइदा पुग्ने दाबी गरे । जोमसोमका पर्यटन व्यवसायी राकेश भट्टचनले हिउँ परेपछि पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरे । उनले गए रातिको हिउँ कृषि र पर्यटन व्यवसायीका लागि वरदान भएकाले जिल्लाको हितका लागि हिउँ पर्नु महत्वपूर्ण भएको उल्लेख गरे । उनले सदरमुकाम जोमसोम नजिकका डाँडाकाँडा पुगेर हिउँमा खेल्ने र तस्बिर खिचाउन पर्यटक लालायित भएको सुनाए ।

Advertisement

किसानमा आशाको सञ्चार
जिल्लाका कृषि व्यवसायमा आवद्ध किसानहरुमा आशाको सञ्चार पलाएको छ । हिउँ परेपछि अन्नबाली सप्रने विश्वास किसानले गरेका छन् । हिउँले किसानलाई राहत दिएको जोमसोमका किसान अजित थकालीले सुनाए । उनले हिउँ परेपछि स्याउ, आलु, फापर, जौ, उवा र अन्य बालीनालीलाई फाइदा पुगेको प्रतिक्रिया दिए । शीतोषण बागवानी विकास केन्द्रका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले हिउँले जमिनमा उर्र्वरशक्तिको विकास गर्न सहयोग पु¥याउने बताए ।
अधिकारीका अनुसार वायुमण्डलमा ७६ प्रतिशत नाइट्रोजन हुन्छ र हिउँ पर्दा वायुमण्डलको नाइट्रोजन हिउँसँगै मिसिएर जमिनको सतहमा आउँछ । ‘त्यसैले हिउँ किसानका लागि अमृत सावित हुन्छ,’ उनले भने । हिउँ नपरे हिमताल फुट्ने र यसले मानविय जोखिम निम्तन सक्ने उनको भनाइ छ । उनले मुस्ताङमा हाइसिलिङ भेराइटीका स्याउ बोट लगाइएकाले बढी मात्रामा जमिनलाई चिस्यान चाहिने र यो हिउँले पूरा गर्ने बताए । हिउँले पानीका स्रोत नभएका स्थानमा समेत सिँचाइको काम गर्ने उनले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया