दलबहादुर चेपाङको ‘ड्राइभर’ सपना

समाधान संवाददाता २०७५ पुष २४ गते १७:४५


मोहसिन अलि मियाँ
गोरखा
पुसको जाडो । प्वालैप्वाल भएको झुत्रो कपडा लगाएका छन् दलबहादुर चेपाङ । न बस्ने ठेगान छ न खाने । गण्डकी गाउँपालिका ६ पालेवनका दलबहादुर उमेरले १४ वर्ष टेके ।

बुवाआमा जीवितै भएर पनि सानैमा अनाथ बनेर भौतारिएका उनले १ दशकमा उनले धेरै अभाव व्यहोरे । कैयौ रात भोकै सुते कहिले सडकमा सुते, कहिले गोठमा, कहिले गाडीमा त कहिले टौवाको ओत लाग्दै पनि सुते ।

उनी ६ वर्षका थिए । गाउँमा आफू सँगैका साथीभाइ स्कुल गएको देखेर उनले पनि बाबुलाई कर गरे । बुवाले गाउँकै भद्रकाली माध्यामिक विद्यालयमा भर्ना गरिदिए । तर दलबहादुर १ कक्षाबाट २ मा पनि जान नपाउँदै उनको जिन्दगीमा ठूलो बज्रपात आइलाग्यो । ‘सानोमा बासँग मास्टर बन्छु भन्थें रे म,’ दलबहादुरले भने, ‘तर के गर्ने जिन्दगी पूरै बदलियो, सानैमा आमाले छाडिन्, त्यसपछि बाले घर छाडे ।’

Advertisement

आमा अर्कैसँग गएपछि दलबहादुरका बुवा काम गर्न भन्दै चितवन झरे । आँखाभरि आँसु बनाउँदै दलबहादुर सम्झन्छन्, ‘बाले अर्कैको घरमा काम गर्न थाले, बा उता गएपछि म पनि उतै गएँ ।’ चितवन गए पनि उनको पढ्ने इच्छा भने मरेको थिएन । उनी भन्छन्, ‘पढ्न मन त थियो तर साहुले बालाई कहिले कता कहिले कता पठाउँथ्यो, आफू एक्लै बस्न नसक्ने, जहाँ नि बासँगसँगै पछि लाग्दा स्कुल त कता हो कता ।’

मास्टर बनेर गाउँकै स्कुलमा पढाउने सपना देखेका दलबहादुर अहिले आफ्नै गाउँ फर्किएका छन् । यस अन्तरालमा उनका २ दिदीले पनि बिहे गरिसके । दाइ पनि चितवनतिरै ट्र्याक्टर चलाउछन् । ‘बुवालाई दाइले नि वास्ता गर्दैनन्, दिदीहरुले आफै बिहे गरे,’ दलबहादु भन्छन्, ‘बुवाले नि अर्की आमा ल्याउनु भएको छ, मलाई त्यहाँ बस्नै मन नभएर गाउँ फर्केको हुँ ।’

Advertisement

उनी गाउँ फर्केर उताउता भौतारिएर हिँडेको पनि डेढ वर्ष बित्यो । उनलाई अहिले जन्म दिने आमाको अनुहारसमेत याद छैन । ‘डेढ वर्ष भयो गाउँमा आएको, यहाँ पनि आफ्ना भन्ने कोही छैनन्, गाउँमा कसैको काम भए गर्दिन्छु, नत्र हल्लिएरै हिँड्ने हो ।’ चेपाङले थपे ‘कसैले दिए खान्छु, नभए कहिलेकाहीँ त भोकै सुतिन्छ ।’

चितवनबाट फेरि स्कुल पढ्ने सपना बोकेर गाउँ फर्केका चेपाङ अहिले झनै निराश देखिन्छन् । ‘पढ्ने रहर भएरै गाउँ आएको, तर हामीलाई कसले पढाइदिने,’ उनले दुखेसो पोखे, ‘अहिले ट्र्याक्टरमा झुन्डिएर हिँड्ने गरेको छु, गाडी सिकेर ड्राइभर बन्छु अब ।’

तपाईको प्रतिक्रिया