२८५५ औँ सोनम लोसारको अवसरमा प्रथम लोसार महोत्सव आजदेखि पाेखरा प्रदशनी केन्द्रमा

समाधान संवाददाता
नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट प्रथम ल्होसार महोत्सव हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म चल्ने महोत्सवको तयारी पूरा भएको संयोजक अमन तामाङले जानकारी दिए ।
‘आफ्नो जाति, भाषा, धर्म, संस्कार, पर्व, परम्परा, रहनसहन आदि समस्त सभ्यताको एकीकृत स्वरुप आधुनिक नेपालको पहिचान हो,’ संयोजक तामाङले भने । नेपाल तामाङ घेदुङ नालामुख इकाइका अध्यक्ष लघुराम तामाङले घरमा मनाउँदै आएको लोसारलाई मन्जुश्री संवत् २८५५ औँ सोनम लोसारको अवसरमा प्रथम लोसार महोत्सव–२०७५ आयोजना गर्न लागेको बताए । महोत्सवको पहिलो दिन पोखराका विभिन्न ठाउँबाट झाँकीसहितको र्याली निकालिने छ ।
महोत्सवमा तामाङ संस्कृति र सभ्यतासँग सम्बन्धित विषयवस्तुका अलावा विभिन्न सांस्कृतिक प्रस्तुति, यूवा वर्गमा लक्षित पप तथा आधुनिक कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, सेलो नृत्य प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, दैनिक जीवनसँग सम्बन्धित घरायसी प्रयोजनका सामग्रीको स्टल रहने आयोजकले जनाएको छ ।
महोत्सवमा खुला एकल नृत्य प्रतियोगिता पनि समावेश छ । नृत्य प्रतियोगिताको विजेताले ३० हजार, गोल्डेन क्याप र प्रमाण पत्र प्राप्त गर्नेछन् । द्वितीय हुनेले २० हजार, ट्रफी र प्रमाणपत्र तथा तृतीय हुनेले १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । महोत्सवमा बाल उद्यान, लोकदोहोरी प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य, नेपालमै पहिलो पटक कमेडी नृत्य प्रतियोगिता, जादु प्रदर्शन गरिनेछ ।
वल्र्डडान्स लिग नेपाल क्वालिफायरका विजेताको प्रस्तुति, जनजाति संग्रहालय, तामाङ संस्कृतिसँग सम्बन्धित स्टल, स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको पप तथा आधुनिक कन्सर्ट प्रस्तुत गरिने संस्थाका सचिव टेकबहादुर तामाङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया