‘डाक्टर केसी अनसन तोड्नुस’–कांग्रेस प्रवक्ता शर्मा

समाधान संवाददाता २०७५ माघ १८ गते १५:१४

समाधान संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो सरकारका अगाडि अनसन बस्नु अर्थहीन रहेको भन्दै डा. गोविन्द केसीलाई अनसन त्याग्न आग्रह गरेका छन् । शुक्रबार बिहान नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाटमा उनले भने,‘यो सरकार तपाईंका मागप्रति गम्भीर देखिएन, तपाईं अनसन तोड्नुस तपाईंका मुद्दा बोकेर हामी लड्छौं ।’

अनसन बसेको २३ दिन पुग्दै गर्दा डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गरे पनि सरकार जिम्मेबार रुपमा प्रस्तुत नभएको आरोप लगाउँदै शर्माले केसीले उठाएका मागलाई अब कांग्रेसले बोकेर अघि बढाउने बताए ।
डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि गरेका सम्झौता तोड्दै राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेकोप्रति उनले आपत्ति प्रकट गरेका छन् ।

Advertisement

एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डाक्टर केसीसँगको सम्झौता भए पनि त्यसमा समेत कुनै सुनुवाई नभएको उनको भनाइ थियो । प्रवक्ता शर्माले भने, ‘२०४६ अघि २ मेडिकल कलेज भएको देशमा अहिले २ दर्जन पुगेका छन्, राजधानी काठमाडांैमा मेडिकल कलेज आवश्यक छैन ।’

डा. गोविन्द केसीका माग वर्तमान सरकारले सम्वोधन नगरे पनि पछि कांग्रेसको वहुमत आउँदाको बखत ती माग सम्बोधन गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो । २०४७ पछि बनेको कांग्रेस सरकारले स्वाथ्य क्षेत्रको बचत ३५ अर्ब रुपैयाँ मेडिकल कलेजमा लगानी नगरी गाउँगाउँमा स्वास्थ्य चौकी विस्तार गर्न खर्चेको स्मरण उनले गरे ।

Advertisement

५ वर्षको लागि निर्वाचित केपी शर्मा नेतृत्व सरकारले १ वर्षमा एउटा पनि जनपक्षीय काम गर्न नसकेको बर उल्टै अनियमितता बढेको, शान्ति सुरक्षा खलबलिएको, हत्या, हिंसा, बलात्बार बढेको आरोप उनको थियो ।

तपाईको प्रतिक्रिया