फेवातालः मेरो अनुभव र प्रयत्न

समाधान संवाददाता २०७५ माघ २१ गते १५:०१

पुण्यप्रसाद पौडेल

म पाउँदुरमा जन्मेको हुँ र बाल्यकालमा नै घरको आँगनबाट देखिने बैदामताल वा फेवाताल, अर्को आँगनबाट देखिने पञ्चासेको लेक, शिद्धबाबा र जैविक विविधताको भरिपूर्ण पठशाला बनेको छ । मेरो घर–बस्तीको दक्षिणमा अधेंरी खोलाको पहिरोबाट बस्तीमा खतरा भएको सानै उमेरबाट देखेको थिएँ । त्यस पहिरोबाट फेवाताल पुरिन्छ भन्ने पहिला मेरो मष्तिस्कमा थिएन ।

अधेंरी खोलाको कारणबाट पहिरो गएर मेरो घरबाट १.५ किमी तलसम्म २० घर बगाएर मानिस अन्यत्र बसाई सरेका थिए भन्ने बुझेको थिएँ । म र मेरा छिमेकी पनि त्यो पहिरोका कारण त्रसित थियौं । पछि मलाई जलाधारको विकासबाट पहिरो रोकिने कार्यक्रम ल्याउँदैछ र वन संरक्षण गरेर पहिरो रोक्न लागेको छ भन्ने कुरा जलाधारका मानिस अएर छलफल गरेपछि फेवाताल यो पहिरोले पुरिने रहेछ थाहा भयो । नेदरल्यान्ड सरकारको सहयोगमा फेवाताल संरक्षणका लागि फेवा जलाधार कार्यक्रम सुरु भयो । सो कार्यक्रमले जलाधार क्षेत्रको संक्षणमा राम्रो सफलता पाएको थियो । फेवा जलाधार कार्यक्रमबाट चापाकोटको बाम्दी, खहरेको छेक बाँध, कास्कीकोट र सराङकोटका डाँडामा जंगलले हरियाली बनाउन सफल भएको थियो ।

Advertisement

म जिल्ला विकास समितिको सभापति निर्वाचित भएपछि मलाई अझ फेवातालको विकासका बारेमा स्वाभाविकै जागरुकता ल्यायो । सोही बेला आइयुसिएनका निर्देशक कृष्ण ओलीबाट समस्या र समाधानका बारेमा धेरै जान्ने मौका मिल्यो । उहाँले फेवा लेक कन्जर्भेसन एक्सन प्लान थम्याएर यसको आधारमा तालको विकास गर्न सकियो भने तालको आयु धेरै बढ्छ भनेर मलाई कन्भिन्स गराउनुभयो । त्यसका आधरमा स्थानीय निकायको सहकार्यमा भए पनि केही गर्नैपर्‍¥यो भन्ने लाग्यो । उहाँको भनाइ र गाउँमा भोगेको भोगाइबाट मलाई प्रेरण मिल्यो ।

प्रथम फेवाताल विकासका लागि आइयुसिएनबाट २ लाख, हिमागृह र रत्नमन्दिरबाट २–२ लाख, उपमहानगरपालिकाबाट २ लाख, जिल्ला विकासबाट १ लाख, हानबाट १ लाख, पोखरा उपत्यका नगर विकासबाट २ लाख, यस्तै विभिन्न क्षेत्रबाट २८ लाख जति संकलन गराएर मेयरको अध्यक्षतामा फेवा ट्रस्ट नाममा कमिटी बन्यो । त्यो रकम त केबल बीउ पुँजी थियो । फेवाको विकासमा अरु धेरै पहल गर्ने भन्ने थियो । तर त्यस कमिटीबाट अन्य कुनै प्रयत्न र पहल हुन सकेन्न । त्यो संकलित रकम अझै पनि माछापुच्छ«े बैंकमा यथावत छ । त्यो रकम जम्मा त भयो तर त्यसबाट अगाडि बढाउने नयाँ कार्यक्रम बन्न सकेनन् । यस बारेमा मैले सिँचाइ कार्यालयका इन्जिनियर महेन्द्र गुरुङसँग पुन सरसल्लाह गरें ।

Advertisement

उहाँले जाइकासँग कुरा गरौं भन्नु भयो । हामी दुवै भएर जापानी साहयता नियोग जाइकासँग गई कुराकानी भएपछि जाइकाले हाम्रो प्रस्तावलाई स्वीकार ग¥यो । तत्कालीन सरकार वातावरण मन्त्रालयसमेतको छलफलपछि जाइकाको सहयोगमा फेवातालको गुरुयोजना बनाउने अवसर जिविसलाई मिल्यो । त्यो योजना बनाउने काम वातावरण मन्त्रालयल, जाइकासँग जिविस मिलेर दी इन्भाइरोमेन्ट कन्जर्भेसन या फेवा लेक प्रोजेक्ट बनाएका थियौं । आजसम्म त्यो योजना कार्यान्वयन भएको छैन ।

त्यस समयमा नै कास्की जिल्ला विकास समितिले आफ्नो पहलमा जिल्लाको ७ वर्र्षे आवधिक योजना बनाएको थियो । हाम्रो आवधिक योजनामा तालको विकासका लागि आइसियुएन रिपोर्टका आधारमा सीमा निर्धारण र गुरुयोजना बाउने तथा विकासलाई अगाडि बढाउने कार्य प्रारम्भ भएको भयो । त्यही आवधिक योजनाको आधारमा फेवा गुरु योजना र फेवातालको सीमा निर्धारण गरेका हौं । सोही आवधिक योजनामा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका चक्रपथ, कास्की जिल्लाका प्रत्येक ग्रामीण बस्तीबाट बढीमा १ घन्टाभित्रमा सदरमुकाम पुग्नसक्ने गरी सडकको योजना, खानेपानी, विद्युतीकरण, स्वास्थ, शिक्षालगायत समग्र विकासका लागि योजना बनाएर कास्की जिल्ला देशकै पहिलो आवधिक योजना बनाउने स्थानीय निकाय मध्येमा १ परेको थियो । यो समयमा मलाई सबै क्षेत्रबाट सहयोग र साथ मिलेको थियोे । तर, फेवातालको चासोमा बढी सहयोग र सल्लाह तत्कालीन उपत्यका नगर विकास समितिका अध्यक्ष अशोक पालिखेज्यूबाट प्राप्त भएको थियो ।

पञ्चासे नेपालको प्रसिद्ध धार्मिक र संस्कृत केन्द्रको रूपमा थियो । तर, त्यसको कुनै विकास हुन सकिरहेको थिएन । त्यसलाई धार्मिक क्षेत्रको रूपमा विकास गराउन आवश्यक थियो । त्यसमा स्याङ्जाका श्री नीरविक्रम पौडेलज्यूले अग्रह गर्नुभयो । सो अग्रहले मलाई प्रभाव पारेर योगी नरहरि नाथको प्रमुख अथित्यतामा ७ दिने कोटी होमको आयोजना गरिने कार्यक्रमलाई सहयोग गर्न म सहमत भएँ । जसले यो क्षेत्रको महत्वका बारेमा सबै क्षेत्रको प्रचार गर्ने काम पनि कास्की जिविसबाटै थालनी भएको हो । पञ्चासे, कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगम क्षेत्र, जलस्रोतको भण्डार हुनाले ३ वटै जिल्लालाई जलस्रोत उपलब्ध गराउने रुद्र बाबा रूपमा प्रसिद्ध छ ।

स्याङ्जाको आँधीखोला, पर्वतको रती खोला र कास्कीको हर्पन खोलाको उत्पत्ति यही पञ्चासेबाट भएको हो । त्यो क्षेत्रमा वन तथा वातावरणको विकासले जलस्रोतको संरक्षण, वन वातावरण संरक्षणबाट धार्मिक, पर्यटकीय र जैविक विविधताले पनि विकासको महत्व हुने हुँदा मैले यसको विकासमा सुरुमा संलग्न हुने सुअवसर जुट्यो । फेवातालमा मिसिने पानीको स्रोतमा मुख्य हर्पन खोलाको उद्गमस्थल पञ्चासे भएकाले यस्को पर्यावरणीय र जैविक विविधताले भरिपूर्ण क्षेत्रको संरक्षण गर्न आवश्यक सम्झेर सोही समयमा कास्की जिविसले संरक्षणको पहल थाल्यो ।

०५८÷३÷३० मा कास्की, स्याङ्जा, पर्वतका सभापति र जिल्ला वन कार्यलयका प्रमुखसमेतलाई वन निर्देशकज्यूद्वारा समन्वय गर्दै वन र वातावरण संरक्षणका कार्यक्रम बनाएर पर्वत र स्याङ्जाले १÷१ लाख र कास्कीबाट २ लाख बीउ पुँजीको राख्ने अन्य वन मन्त्रालयबाट लगानी गर्ने निर्णय भयो । कास्कीले रकम विनियोजन गरेर सुरु गरियो । अन्तमा अरु जिविसबाट रकम आएन कास्कीबाट मात्र सहयोग र समन्वय भयो । सो समयमा त्यस क्षेत्रको विकास गर्न माछापुच्छ्रे विकास संघ एनजिओ सक्रिय रहेकोले उसैलाई प्रचारको लागि ब्रोसर निकाल्ने जिम्मा दियौ । हामीले योजनाबद्ध रूपमा कार्यान्वयन गर्न वन मन्त्रालय जिम्मा दियो । त्यपछि वनको थालनीको परिणामले आज पञ्चासे नेपालको पर्यटनका १ सय गन्तव्य स्थालमध्य पञ्चासे १ पर्न सकेको मा पनि म गर्भ गर्छु ।

पञ्चासेबाट देखिने बैदामतालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला प्रतिबिम्ब तालबारही मन्दिरको तालबीचमा सुशोभित साथै त्यहीबाट देखिने हिमशृंखलाको दृश्य यो नै पर्यटक लाभ्यउने एउटा चमक हो । संसारका प्रसिद्ध प्राकृतिक दृष्य मध्येको एउटा दृश्य हो । यो ताल र पञ्चासेको सम्बन्धको प्रसंग कोट्याउँदा फेवातालको शिर पञ्चासे प्राकृतिक रूपमा पानीको स्रोत, अर्को सिद्धबाबा र तालबाराहीबीचको सेतुको रूपमा हर्पन खोला लिन सकिन्छ । जसका कारणले यी दुवैलाई सांस्कृतिक र धार्मिक रूपबाटै एकाकार गरेको छ भन्न सकिन्छ । अत यी दुवै प्रकृतिक र धार्मिक क्षेत्रमा सुन्दर र मनमोहक स्थालरूपमा विश्वभरि प्रसिद्ध छन् ।

जब हामीले बनाएको आवधिक योजनाको सन्द्धर्भ निकाल्दा फेवातालको सीमा निर्धारण गर्न म विभिन्न क्षेत्रका व्यक्ति, फेवातालसँग सरोकार राख्ने संघसस्थासँग धेरै पटक बैठक बसियो । जसबाट तालको विकासमा मुख्य काम सीमा निर्धारण सुरु गर्नुपर्छ भन्ने राय रह्यो । फरि यो तालमा मिसिन आउने मुख्य खोला हर्पनसँग ५४ र अँधेरीमा ३२ खोला र खोल्सा मिसिएका छन् । यी २ मुख्य तालको पानीको स्रोतका रूपमा रहेका छन् । यस बाहेक पनि उत्तरतिरबाट १५ र दक्षिणबाट ससाना खोला मिसिएका छन् । यी सबैबाट वार्षिक १ लाख ५९ हजार ५ सय ५३ मेट्रिक टन माटो तालमा ल्याउँछन् । तर हर्पन र अधेंरीखोलाले नै ९५ भन्दा बढी माटो ल्याएर तालपुर्ने मुख्य खोला हुन् । यी बाहेक अरु खोला बरु सामान्य देखिन्छ ।

सामान्य अवस्थामा १ वर्र्षमा ८.७० हेक्टर ताल पुरेर मैदान निर्माण गर्छन् । तर बाढीमा धेरै भूक्षय भएका अवस्थामा त अझ बढी माटो ल्याउँछन् । यो अवस्थाले गर्दा वास्तविक तालको आयु कति रहला ? यो अवस्थाबाट फेवातालको आयु लम्याउन जरुरत रहेको विभिन्न प्रतिवेदनले देखाएका छन् । तालको क्षेत्रफलमा सबभन्दा उपयुक्त २०३० बाँध भत्केर ताल घटेको अवस्था थियो । सोही समयमा नयाँ नापी र बाँधको निराकरणले २०३८ सालको एनएमजी–युएनडिपीले तालको नक्सांकन गरेर ५.८ वर्ग किमी निकाल्यो ।

बाँध भत्केर तालको आकार घटेको र नयाँ जग्गा नापी पुन बाँधपछि सीमांकन गर्दा जत्रो तालको रूप थियो त्योसम्म बढाएर लान सकिन्छ । यो कुरा हामीले सीमांकन गरेपछि थाहा लाग्यो । यो सीमांकनले बिना झनझट सीमा कायम गर्‍यौं । जसले पछि सरकारलाई काम गर्न सजिलो बनाउन सीमाङ्कनले मद्दत्त गर्ने छ भनेर शुरु गरियो । तत् समयमा ताल वरिपरि रहने समुदाय र अन्य सबै क्षेत्रका मानिसले त्यो सीमांकनको स्वागत र सम्मान गरे । यो कार्यको थालनी आइयुसिएनको पहिलो योजनामा समावेश कार्यक्रमको आधारमा गरिएको मुख्य काम थियो । पछि ती सीमास्तम्भहरू लामो समयको अन्तारलमा यसको पछि अन्य कुनै गतिविधि वा योजना सुरु नभएपछि सबै सीमाका पिलर नष्ट भए रक्षा गर्ने कुनै आधिकारिक संस्था देखिएन ।

यो कामको थालनीमा जिविसको निर्णयमा सबै राजनीतिक पार्टीका प्रतिनिधि, स्थानीय निकायका जनप्रतिनिधि, स्थानीय सरोकारवाला र सबै सरकारी कार्यलयका प्रमुखको उपस्थितिले एउटा कार्यदल बनाउने निर्णय गरियो । सो कार्यदलमा जिविस, मालपोत, सिँचाइ निर्देशनालय र नापी कार्यलय सम्मिलित गरी कार्यदल गठन गरियो र जसको नेतृत्व मालपोत कार्यालयका प्रमुखज्यूलाई दिने निर्णय गरिएको थियो (२०५८।४।२) । यो कार्यको प्ररम्भमा ९ सय ७३.७० मिटर एनएमजी–युएनडिपीले मानेको अपरेटिङ लेभल भ्ठिढघ।ठण् १९८२ का लागि मानी टिओ र दिएर सुरु भयो ।

यो टिमले ३ महिना लगाएर सीमांकनमा ३ पिलर एकै स्थानमा सुख्खा समयको पानी तह, मध्यम तह र तेस्रो वर्र्षको पानी तहको अवस्थालाई कायम गरिएर बनाएको थियो । अपरेटिङ पिलरमा– काउन्टर पिलर ७९३.७० अन्य दोस्रोमा ७९४.७० मिटर र सबभन्दा माथि ७९५.७० मिटर कायम गर्दा तालको पहिलोमा ४.२५ वर्ग किमी, तेस्रो नापबाट ५.८ वर्ग किमी तालको क्षेत्रफल हुन आएकोे थियो ।

हामीले त्यो समयमा २०३८ मा युएनडिपीको आधार बनाएर निर्धारण गरेको क्षेत्रफल बराबर तेस्रो पिलरको नापबाट आएको थियो । अत त्यसलाई कायम गराउँदा वास्तवमा तालको क्षेत्रफल ५.८ वर्ग किमी हुँदो रहेछ । यो कार्य सम्पन्न भएपछि कसैको पनि समर्थन नरहेको देखिएन । ०३० मा बाँँध भत्किएको समयमा नापी भएकाले त्यसभन्दा अघिका जमिनको ४ किल्लाभित्र पानीको छाललाई सीमा मनेर त्यसै सीमा परेका कारणले दर्तामा पनि सोही बमोजिम हुने हुँदा बाँध बन्नुभन्दा पहिले कित्ता काट भई दर्ता गरिएका केही जमिन पानीमुनि पनि परेका छन् ।

त्यसकारण हामीले ०३८ सम्ममा आ–आफ्ना जग्गा पनि दर्ता गराइ सकेका थियौं । त्यसैलाई आधार मानेर युएनडिपीले निर्धारण गरेको क्षेत्रफलको गणना कन्टुर ७९५.७० का आधरमा बनाउँदा ०५८ को नापीमा १५४.२८ हेक्टर जमिनलाई सीमाबहिर देखिएकोमा सो जमिनलाई ७९५.७० को कन्टुर लाइनबाट तालको क्षेत्रभित्र कायम भएकाले तालको आकारमा १५४.२८ हेक्टरको माटो बाहिर निकाल्ना साथ तालको आकार बढी ५.८ वर्ग किमी हुने भयो । तालको सीमा पनि त्यही सीमांकनलाई आधार मानेर टुंग्याएका थियौं ।

०५८ सम्ममा १५४.२८ हेक्टरको माटो बाहिर लग्यो भने ०३८ को तालको आकारमा आउँछ । हर्पन खोला र अधेंरीखोला एकआपसमा मिलेका स्थानको केही तलदेखि सिल्टेसन ड्याम ३ स्थानमा बनाउँदा पहिलोमा ठूला ढुंगा, दोस्रोमा ग्राभल र तेस्रोमा मसिनो बलुवाजम्मा गराउने र भरिने बित्तिकै स्काभेटरबाट झिक्ने व्यवस्था गरेमा तालमा बगी आउने धेरै माटो रोक्न सकिन्छ र रोकिएपछि तालपुर्ने रफ्तार धेरैे कम हुन्छ । अर्को त्यो समयमा पुरिएको तालको माटो बहिर लगेमा १५४.२८ हेक्टर ताल सिधैं बढ्ने छ । अर्को तालमा पोखरा महानगरपालिकाको वडा नं. २, ४, ५, ८, ७, ६, १७ र ९ बाट बगी आउने फोहर नालालाई रोक्नका लागि गैराको चौतरादेखि बाँधमुनिसम्म डाइभर्सन क्यानल निर्माण गरी अहिलेको तालमा आउने प्रदूषण कम गराउन र छेक बाँधले आयु बढाउने महत्वपूर्ण कार्य हुनेछ ।

यो कार्य गर्नुपर्छ भनेर विभिन्न समयमा सरकार, नेता, र प्रशासक सबैमा पोखरेलीले हारगुहार मागेका अनेको उदाहरण छन् । तर अहिलेसम्म तालका लागि राज्यद्वारा कुनै महत्वपूर्ण काम भएका छैनन् । राज्य भन्नाले प्रदेश, केन्द्र सरकारको भूमिका देखिएको छैन भने बल्ल केही मात्रमा स्थानीय सरकारको सिल्टेसन ड्याम बनाउन सुरुसम्म गराउँछ कि जस्तो थियो, त्यो पनि प्रदेश सरकारका कारणबाट अवरोध भएको जस्तो छ । यता सर्वोच्च अदालतले तालका बारेमा महत्वपूर्ण फैसला यसै वर्र्ष गरेको छ । त्यो फैसलामा ६ महिनाभित्र काम सुरु गर्नु भनेर अदालतले निर्देशन दिएको छ । यद्यपि यी ३ तहकै सरकार भने आजसम्म पनि अलमलमा देखिन्छ ।

मेरो सभापतिकालको अन्त्यपछि राजाको निरंकुशको शासन विरोधमा विभिन्न आन्दोलनमा सहभागी भइयो । तत्कालीन सरकार र माओवादी विद्रोहीबीचको शान्ति सम्झौतापछि पुन म तालको विकासमा फर्कें । मन्त्रालयबाट १ करोडको फेवातालको विकासको ल्यायौं । त्यो रकमको सदुपयोग हर्पन खोलाको मुखको माटोको व्यवस्थापन, पूर्वी किनार बाराही मन्दिरबाट गैराको चौतारोतर्फ किनारको फिनिसिङ गर्ने २ योजना, एउटा सिल्टेसन बेसिन बनाउन ५७ लाख भनेर निर्णय भयो । माटो व्यवस्थापन गर्ने र पूर्वी तट फनिसिङगर्ने ४ योजनामा जनताबाट २० प्रतिशत र सरकारबाट ८० प्रतिशत व्यहोर्ने गरी २० लाख र १ करोडको कार्यक्रम उपमहानगरबाट सञ्चालनको प्रक्रियामा सुरु भयो । सो काममा प्रथमिकतामा परेको सिल्टेसन बेसिन निर्माणका लागि उपभोक्ता समिति बनाएर ढुंगा र तारको व्यवस्थापन भएपछि इन्जिनियरबाट काम अगाडि बढाउन नसकेर त्यो जम्मा गरेको वस्तुका सामानको उपभोक्ता समितिबाट ब्यहोराउने गरिएको घटना आजसम्म ताजै छ ।

पूर्वी तट निर्माणको काम पनि तत्कालीन उपमहानगरपालिकाको असहयोगका कारणबाट सम्पन्न हुन सकेनन् । यस कार्यका लागि जनतासँग उठेको रकम जिल्ला पर्यटन कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीको संयुक्त खाता खोलिएर राखिएको थियो । त्यो खातामा रकम छ कि छैन ? भए कति छ ? हालसम्म खोजीनिजी भएको छैन । विश्वप्रकाश लामिछानेज्यूको अध्यक्षतामा पोखरा उपत्यका नगर विकास समिति गठन भयो । उहाँको आगमनबाट फेवातालको विकासमा फेरि उत्साह जगाउन प्रयास गर्नु भयो । सो प्रयासमा उहाँले तालको पूर्वी तटमा फुट ट्र्याक बनाउनु र पुन सीमांकनको काम पनि गराउनुभयो ।

पछि बाबुराम भट्टराईको पालामा उहाँकै नेतृत्वमा उच्चस्तरीय फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न ३ सदस्य समिति गठन गरेर छानबिन सम्पन्न गरेर प्रतिवेदन पनि बुझायो । आजसम्म पनि त्यो प्रतिवेदन कार्यान्वयन नभएर सर्वाेच्च अदालतले हालै गरेको फैसेलामा प्रतिवेदनअनुसार कार्यान्वयन गर भनेर सरकारका नाममा निर्देशनात्मक आदेश दिँदा पनि सरकार कानमा तेल राखेर बसेको अवस्था छ ।

फेवातालको अब गर्नुपर्ने काममा ताल संकुचन हुँदै जाने जुन प्रक्रियालाई सल्ट्याउन सिल्टेसन बेसिनको निर्माण तत्कालै सुरु गर्न आवश्यक छ । यो कार्य तत्कालै भएन भने १ वर्र्षमा ८.७० हेक्टर सामान्य अवस्थामा जमिन बृद्धि हुन्छ । यो अवस्थालाई न्युनीकरण गर्न यो तालको पहिलो प्राथमिकता हो । दोस्रोमा पोखरा माहानगरपालिकाबाट बगी आउने फोहोर अन्य पोलुटेट पानीको अवस्थाले तालमा परेको असर हो ।

सो पानी पूर्ण प्रदूषित बनेको छ, जसका कारण तालमा रहेका जीवको जिउन सक्ने अवस्थामा पनि गम्भीर असर परेकाले र रैथाने जातका जीव लोपको अवस्थामा पुगेका छन् । यसको समाधानका लागि माहानगरपालिकाबाट आउने फोहर र प्रदूषित पानीलाई फेवातालको पूर्वी किनारबाट डाइभर्सन नहरमार्फत फुर्सेखोला वा सेती नदीमा विसर्जन गर्नु उपयुक्त तरिको हो । अब तेस्रोमा २०५८ मा १५४.७० हेक्टरभन्दा बढीको हर्पन खोलाबाट पुरिएको ताल आजसम्म कति भयो त्यो माटोलाई ताल क्षेत्रबाट बाहिर ल्याएर व्यवस्थापन गर्न अति आवश्यक भइसकेको छ ।

चौथो तालको जलाधार क्षेत्र १ सय २३ वर्ग किमी छ । त्यसमा माटो खियाउने क्रियाकलापलाई कम गराउन वनको उचित व्यवस्थापन र त्यस क्षेत्रमा गरिने कृषिमा वातावरणमैत्री बनाउन सोइल इरोजन प्रक्रियामा कमी ल्याउने खालका खेती प्रणालीतिर जनतालाई अभ्यस्त गराउने खालका योजना बनाएर तत्कालै कार्यान्वयन गरिनुपर्छ । यी बाहेक पनि तालको सौन्दर्यकरणका विविध कार्य त ताललाई जीवन्त राख्नसके पर्यटकको विकास निरन्तर गर्न सकिने हुन्छ ।

यी विषय धेरै पटक उठाएका हुन् तर सरकार र सरोकारवलाले चासो नदिँदा ताल गम्भीर समस्यामा परेको छ भन्ने कुरा माथिका तथ्यले प्रस्ट पार्छ । अबका दिनमा सरकारका जिम्मेवार निकाय निदाएको बहानाबाट मुक्त हुनुहोस् ।

पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेर मात्र हुँदैन प्रदेश सरकारले आफूले छुट्याएको रकमको काम महानगरसँग मिलेर पहिलो प्रथमिकतामा ताल रक्षाको लागि कामको सुरु गर्नु भयो भन्ने यसबाट जनतामा राम्रो सन्देश दिन सकिन्छ र दुवै सरकार मिलेर अगाडि बढून् भन्ने जनचाहनाले पनि परिपूर्ति हुन्छ । ताललाई योजनाअनुसार अगाडि बढाएर लाँदा तालको मात्र आयु हैन गण्डकी प्रदेशको मात्र हैन देशले नै पर्यटकीय राजधानी बनाउने योजना पनि मुर्त बन्ने छ ।

(पौडेल पूर्व जिविस सभापति हुन् ।)

तपाईको प्रतिक्रिया