सरकारको बजेट खर्चबारे संसदमा दोहोरी र व्यंग्य

समाधान संवाददाता २०७५ माघ २४ गते १०:१९

समाधान संवाददाता

गण्डकी प्रदेश सभाको वर्ष दिन सकिएसँगै सरकार, उसको काम, बजेट खर्चबारे सांसदको दोहोरी चलेको छ । प्रतिपक्षका सांसदले सरकारको प्रवृत्ति र कामबारे व्यंग्य गर्दै असन्तुष्टि पोख्दा सत्ता पक्षका सांसदले सरकारको बचाउ गरे ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा सांसद सरकारको पक्षविपक्षमा उभिएका हुन् । यसअघिका बैठकमा यसरी एकपछि अर्को बोल्दा प्रतिवाद खासै देखिएको थिएन । सत्ता पक्षका सांसदले सरकार ठिक र विपक्षका सांसदले बेठिक भन्ने नौलो होइन तर बुधबारको बैठकमा दोहोरी नै चल्यो । प्रतीपक्षका सांसदले यो सरकारले महँगी, बरात्कार र भ्रष्टाचारमा चमस्कार गरेको बताए भने सत्ता पक्षका सांसदले प्रतिपक्षले आन्दोलनका नाममा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए ।

Advertisement

सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर थापाले सरकारले १ वर्षमा उल्लेख्य काम गरेको भन्दै आन्दोलनका नाममा अस्थिरता निम्त्याउन खोजिएको बताए । सरकारी गाडी जलाइएकोप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने र सार्वजनिक सम्पति नोक्सानी पु¥याइएको थापाकोे भनाइ थियो ।

त्यसलगत्तै बोल्ने पालो पाएका प्रतिपक्ष कांग्रेस सांसद विन्दुकुमार थापाले कृष्णबहादुरसँग आपत्ति जनाउँदै सरकारको व्यंग्य गरे । दुई तिहाई बहुमतको सरकारको पालामा १ वर्षमै भ्रष्टाचार मौलाएको उनको भनाइ थियो । प्रदेश र स्थानीय सरकारले करको भारी बोकाएको भन्दै सांसद थापाले अहिले महानगरको सम्पत्ति कर तिर्न एउटा घडेरी बेच्नुपर्ने अवस्था आएको बताए । पोखरा महानगरको सरकारी गाडी जलाउन घुसपैठ भएको बताउँदै थापाले प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई रिहा गर्न माग गरे ।

Advertisement

थापालगत्तै नेकपा सांसद इन्द्रलाल सापकोटाले थापाले बोलेका कुरामा प्रतिवाद गरे । सरकारी गाडी जलाउनेलाई खुलेआम रिहाइ भन्नु हाँस्यास्पद भएको उनको भनाइ थियो । ‘सरकारी गाडी जलाउने विषय राजनीतिक होइन, कानुनी विषय हो,’ सापकोटाले भने, ‘म कानुनी कारबाहीको माग गर्छु ।’
कांग्रेस सांसद डोबाटे विकले सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाए । सरकारले ल्याएको बोके बजेट यतिबेला धोके बजेटजस्तो लागिरहेको विकले ब्यंग्य गरे । ‘पोके बजेट होइन, अब धोके बजेट भएको छ । मन्त्रालयबाट मनपरी पैसा बाँड्ने काम भएको छ,’ विकले भने, ‘मन्त्रालयबाट बाँडिएका बजेट कसरी बाँडिएका हुन्, जानकारी दिनुहोला ।’ बजेट कार्यान्वयन र लक्षित रकम कहाँ कसरी छ भन्ने जानकारी दिन उनको आग्रह थियो । विकले दमौली अस्पताललाई ५० शैड्ढ्याको बनाउन प्रदेश सरकारसँग माग गरे ।
..
गण्डकी मेडिकलले विद्यार्थीको पैसा फिर्ता गरोस्
प्रदेश सभा बैठकमा बोल्दै सांसद इन्द्रलाल सापकोटाले गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट बिना बिल बढी शुल्क लिएको बताउँदै शुल्क फिर्ता आग्रह गरेका छन् । कलेजले सरकारले तोकेभन्दा २ देखि ७ लाख रुपैयाँसम्म बढी पैसा लिएको र विद्यार्थीको मागप्रति सुनुवाइ नै नगरेको उनको भनाइ थियो । ‘गण्डकी मेडिकल कलेजमा १ सातादेखि ताला लागेको छ तर कलेज प्रशासन विद्यार्थीको माग सुन्दैन, वार्ता गर्ने तदारुकता देखाउँदैन,’ सापकोटाले भने, ‘कलेजले कानुनमाथि नै धाबा बोलेको छ ।’

मनपरी शुल्क लिने र सम्झौता कार्यान्वयन नगर्ने काम कलेजले गरेको सापकोटाले बताए । कलेजका विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन सापकोटाले प्रदेश सरकारसँग आग्रह गरे । बढी लिएको पैसा फिर्ता गर्न उनले कलेजसँग माग गरे ।

विधायन समितिमा सुर्तीजन्य विधेयक
बुधबारको गण्डकी प्रदेश सभा बैठकले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रस्तुत गरेको विधेयक संसदमा सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो ।

संसदमा विधेयकमाथि बोल्दै नेकपा सांसद मीना गुरुङले सुर्तीजन्य पदार्थको सेवनबाट ज्यान गुमाउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको बताइन् । सुर्तीजन्य पदार्थको नियमन्त्रण र नियमनमा सरकारले विषेश भूमिका खेल्न यो विधेयकले सहयोग पु¥याएको बताइन् । कांग्रेस सांसद ललितकला गुरुङले सुर्तीजन्य पदार्थबाट उठेको करको सीमित रकम अस्पतालमा जाने गरी यसअघि गिरिजाप्रसाद कोइरालाको पालामा भएकोजस्तो व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरिन् ।
..
सांसद पियारी अब विधायन समितिमा
सांसद पियारी थापाको जिम्मेवारी हेरफेर भएको छ । अर्थ तथा विकास समिति सदस्य पियारीलाई अब विधायन समिति सदस्य रहने गरी बुधबारको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । विधायन समिति सदस्य रहेका जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएर पद रिक्तपछि थापाको जिम्मेवारी फेरिएको हो ।

तपाईको प्रतिक्रिया