के नेविसंघ आतंककारी हो

समाधान संवाददाता २०७५ माघ २७ गते ११:२८

सम्पादकीय÷समाधान राष्ट्रिय दैनिक
माघ १९ को शनिबार नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाए । त्यसको जिम्मेवारी सार्वजनिक रुपमा उनीहरुले लिएकै थिए । मात्रै त्यति कहाँ हो र पेट्रोल पम्पहरुमा आगो लगाउने धम्की प्रहरीकै सामुन्ने नेविसंघ अगुवाले दिएकै हुन् । सरकार विरोधी गतिविधि गर्दा कांग्रेस भातृ संस्थाले सरकारी गाडी विदाका दिन चल्न नदिने कार्यक्रम तय गरेको थियो । तर कार्यकर्ता यतिधेरै उल्किए कि गाडी नै जलाए ।

गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ३ जना कार्यकर्ताविरुद्ध राज्यविरुद्ध उपद्रव मुद्दा लगायो । अदालतबाट शुक्रबार उनीहरु साधारण तारेखमा रिहा भए । उनीहरुले जलाएको पुष्टि हुने प्रमाण अदालतले देखेन र रिहा गरिए । तर, ओपन सेक्रेट हो कि उनीहरु प्रमुख प्रतिपक्ष दल कांग्रेसका कार्यकर्ताहरु भएकैले यथेष्ट प्रमाण नजुटाइएको हो । सरकारवादी मुद्दामा यथेष्ट प्रमाण जुटाउने जिम्मा सरकारकै हो, उसले उदारता देखायो । जुन सही होइन । गाडी जलाउनु राज्यको सम्पति नष्ट गर्नु हो । राजनीति राज्यको सम्पति नष्ट गरेर गरिने होइन । सत्याग्रह आन्दोलनलाई आफ्नो आदर्श मान्ने प्रजातान्त्रिक दल कांग्रेसलाई त्यति हेक्का नभएको होइन । तर यो घटनामा उसले हिंसालाई आफ्नो आदर्श मान्ने पुष्टि ग¥यो ।

राजनीति गर्न निष्ठा चाहिन्छ । नैतिकता चाहिन्छ । इमान्दारीपन चाहिन्छ । उत्तरदायीपन चाहिन्छ । अध्ययन, ज्ञान र बौद्धिकता चाहिन्छ । दृढ संकल्प चाहिन्छ । देश बनाउने भिजन चाहिन्छ । तर, नेपाली राजनीतिमा यी कुरालाई महत्वहीन मानिँदै आइएको हो । ढुंगामुढा, तोडफोड, आगजनी र मानव हत्या गर्न सक्ने तागतलाई नै राजनीति गर्नेको मुख्य योग्यता मानिएकै हुँदा करियरमा आफ्नो नम्बर बढाउन नयाँपुस्ता कुकृत्यमा आफूलाई अब्बल देखाउन तँछाडमछाड गरिरहेका छन् । सरकार विरोधी कार्यक्रम तय गरेर नेविसंघले झन् त्यस्तो उल्टो बुद्धि र उदण्डता भएका ‘विद्यार्थी’ लाई मौका दियो ।

Advertisement

वास्तवमा राज्यको सम्पति नष्ट गर्नु अपराध हो, राजनीति होइन । राजनीतिले सपार्छ, बिगार्दैन । राजनीति भनेको व्यक्ति र पार्टीगत स्वार्थभन्दा धेरै माथिको विषय हो । व्यक्ति जोगाउन, पार्टी जोगाउन गरिने हर्कत राजनीति होइन, नैतिकहीन काम हो । यस सन्दर्भमा सत्तारुढ दल नेकपाले राज्यको सम्पत्ति नष्ट गर्नेहरुप्रति नरम भावना देखाएर आफूलाई प्रतिपक्षको थप आन्दोलनबाट बचाउनेमात्रै काम गरेको छ । प्रतिपक्ष कांग्रेसले अपराधलाई राजनीतिको पाइजामा भिराएर आफ्नो शान्तिपूर्ण र अहिंसाप्रतिको निष्ठा केवल ओठेभक्तिगानमात्रै हो र व्यवहारतः हिंसा नै मुख्य आदर्श हो भन्ने देखाएको छ । आउँदा दिनमा यस्तै हर्क दोहोरिन दिन यी दुवै दलले प्रोत्साहन गरेका छन् । नेता हुने यसरी पो भन्ने प्रवृत्तिको विकास हुन्छ । भोलि यस्तै उदण्डहरु सत्तामा पुगेपछि निरपराध जनताले सास्ती बेहोर्नुपर्ने हुन्छ । अपराधमा दण्डित गरेर असल नजीर बसाउनुपथ्र्याे, फेरि पनि मुख्य त कांग्रेस चुक्यो । सत्ता हिच्किचायो । कानुनका नौसिङ फेरि ठडिए । प्रारम्भिक दसीका आधारमा जो पक्राउ परे र छुटे प्रमाण नपुगेर ती अपराधी होइनन् भने अपराधी को हुन् सरकारले खोजोस् । यत्तिकै यो घटना ढिसमिस पार्ने छुट कसैलाई छैन ।

कांग्रेसका नेताले गाडी जलाउनुलाई महान् कार्य भन्ने गरी सार्वजनिक अभिव्यक्ति दिएर झन् लज्जाजनक काम गरे । बरु त्यस्तो गर्नु निन्दनीय छ भन्ने नेता गगन थापालाई कालोझण्डा देखाएर नेविसंघ कास्कीका कार्यकर्ताले अर्काे उदण्डता देखाए । हो, गाडी जलाउनेहरुलाई जोगाउन लागेपछि यस्तै हुन्छ । धन्न उनीहरु आफ्नै नेताहरुप्रति हिंसामा उत्रिएनन् । कांग्रेसले पाठ सिकोस्, अपराधको बाटो समाएर राजनीतिको वैतर्नी नदी तर्न खोज्नु महाभूलबाहेक केही होइन । राष्ट्र र जनताप्रतिको महाधोका हो ।

Advertisement

तपाईको प्रतिक्रिया