सालिक संस्कृति

समाधान संवाददाता २०७५ फागुन २ गते ९:००

जनबोलीमा पृथ्वीचोक भनेर चिनिएको पोखराको चल्तीको चोकमा माघ २९ गते मंगलबार प्रथम सहिद लखन थापाको पूर्णकदको सालिक राखियो । आज फागुन २ मै उनको स्मृति दिवस हो । त्यही छेकोमा मगर समुदायको पहल कदमीमा त्यहाँको अर्धकदको सालिक हटाएर मंगलबार राति पूर्णकदको सालिक राखिएको छ । गएको असोजसम्म त्यहाँ लखन थापाको पूर्णकदकै सालिक थियो । पोखरा महानगरपालिकाले चोकका आइल्यान्ड साँघुरो बनाउने क्रममा पूर्णकदको सालिक हटायो र मगर संघ कास्कीलाई साँघुरो आइल्यान्ड बनाएर सालिक राख्ने जिम्मेवारी दियो ।

त्यहाँ सालिक छँदै थियो, पूर्णकदको राखियो र त्यो पनि रात्रिको समयमा त्यसैले चासो बन्यो । संयोग कस्तो भने महानगरपालिकाले आइल्यान्ड साँघु¥याउँदा पनि रातिको समय रोजेको थियो । अहिले फेरि आएर सालिक भएका ठाउँमा सालिकै राखिँदा कोही विस्मित नहुनुपर्ने हो । तर यसको कारण अरु केही नभएर त्यो काम रातबिरात हुनु हो । यद्यपि त्यो चोक विवादास्पद पनि बनेको छ । त्यहाँ पहिले आधुनिक नेपालका प्रथम राजा पृथ्वीनारायण शाहको सालिक थियो । राजा महेन्द्रले पोखरालाई काठमाडौंसँग जोड्ने सडक निर्माण गरेपछि र गोरखा पनि छुँदै सडक आएपछि उनले राजमार्गको नामकरण आफ्ना पुर्खाबाट गराए । त्यसको जिरोकिलोमिटरमा पञ्चायतकालमै पृथ्वीनारायणको सालिक राखियो । २०६४ मा तत्कालीन माओवादीको भातृसंगठन वाइसिएलले पृथ्वीनारायणको सालिक ढाल्यो । त्यही खालि ठाउँमा लखन थापाको सालिक ठड्याइयो । कतिपयको मत पृथ्वीनारायण शाहको सालिकै पुन स्थापित हुनुपर्छ भन्ने छ भने कतिपयको मत लखन थापाकै सालिक राखिनुपर्छ भन्ने छ ।

प्रश्न त्यहाँ सालिक कसको राखिनुपर्छ भन्ने हुनुहुँदैन । बरु यो मुलुकका लागि योगदान गरेका जनताको न्यायका लागि संघर्ष गरेकाहरुको सम्मान कसरी गर्ने भन्ने हो । ढुंगाको मूर्तिलाई देवता मानेर पुज्दैमा धर्म हुन्थ्यो भने यो संसारमा कोही दुखी नहुनुपर्ने थियो । हुन पनि मूर्ति पूजाका प्रखर विरोधी भगवान बुद्धको देशमा मूर्तिपूजाको संस्कृति विछट्टैको छ । जो कसैको सालिक कहीं कतै राख्दैमा सम्मान हुने र नहुने भन्ने होइन । त्यो पृथ्वीनारायण शाहका हकमा पनि लागु हुन्छ र लखन थापाका हकमा पनि । आज केही कुरा तपशीलमा राख्नै परे पनि आजको नेपाली भूगोल निर्माणको जस पृथ्वीनारायण शाहलाई र पहिलो सहिद हुनुको श्रेय लखन थापालाई दिनैपर्छ । जनजनले यी दुवै सत्यलाई मानेका छन् । सम्मान गरेका छन् ।

राष्ट्रिय विभूतिहरुको सम्मान राष्ट्रले गर्नुपर्छ । जनताले गर्नुपर्छ । उनीहरुको योगदानको कदर गर्दै नयाँ पुस्तालाई जानकारी दिने र प्रेरणा दिलाउने गर्नुपर्छ । सालिककै सन्दर्भमाचाहिँ स्थानीय, प्रदेश र संघ सरकारले एउटा मापदण्ड तय गर्नु उपयुक्त हुन्छ । एउटाको सालिक राख्दा कसैको मन बिझाउने र अर्काेको सालिक राख्दा फेरि कसैको मन बिझाउने वातावरण सिर्जना हुनु हुँदैन । सालिक कसकसको बनाउने र कहाँ–कहाँ राख्ने ? चोकमै राख्ने कि पार्कमा भन्ने कुराको बहस र छलफल गरी टुंगो लगाउन सके कुनै विवादको जन्म हुन पाउँदैन । सबैको अस्तित्व, पहिचान र योगदानको कदर हुने वातावरण सिर्जना गरेर समाजमा सौहार्द सदभाव कायम हुने थिति बसाल्ने दायित्व सरकारकोमात्रै होइन सबै नागरिकको हो ।

तपाईको प्रतिक्रिया