सहकारीको रोग पत्ता लगाउन पल्र्स तालिम

समाधान संवाददाता २०७५ फागुन ८ गते ८:३६

सुशील सुवेदी

साकोसमार्फत समावेशी, आर्थिक विकास र जीवनस्तर परिवर्तन भन्ने नारासहित वालिङमा ३ दिने पल्र्स तालिम सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आयोजना गरेको तालिममा सहकारी क्षेत्रको जोखिमलाई निराकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

डेभ रिचार्डसनले प्रतिपादन गरेका पल्र्स तालिमले सहकारीको तरलता र जोखिम पहिचान तथा समाधानमा टेवा पुग्ने

Advertisement

मानिसको नाडीमा हुने पल्र्स छामेर रोग निर्धारण गरेजस्तै सहकारीको रोग पत्ता लगाउने विधी पल्र्स सूचक हो । यो सूचकको आधारमा कुन सहकारी कस्तो छ भन्ने पहिचान हुने गर्दछ । तर, देशभरको अधिकांश सहकारीहरु आफ्नो समस्या आफैले थाहा पाउँदैनन् । उनीहरुले पल्र्स विश्लेषण नगर्ने र अन्तिम लेखा परीक्षकको भर पर्ने गर्दा सहकारीको जोखिम बढ्दै गएको जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए । उनले भने, ‘सहकारीको स्वास्थ्य ठिक छ, कि छैन मापन गर्ने औजार पल्र्स अनुगमन प्रणाली हो । अस्वस्थ प्रतिस्प्रर्धाको निराकरण गर्दै सहकारीको सदस्यलाई निक्षेप बचत र ऋणको ब्याजमा सहुलियत नगरे अधिकांश सहकारी व्यवसायिक बैंक जस्तै हुन्छन् ।’

लेखापरीक्षकले नाफा घाटामात्र जानकारी दिने तर पल्र्स विश्लेषण नगरिदिँदा सहकारीले सुधार गर्नुपर्ने विषयको पहिचान नहुँदा कतै सहकारी खतरामा त पर्दैनन् भन्ने प्रश्न चिह्न खडा भएको नेफ्स्कुनका तालिम संयोजक अनील बज्राचार्यले बताए । सहकारीको मान्यता अनुरुप सदस्य नबनाउने, ऋण लिन आउनेलाई लगानी नगर्ने, ऋण लिएसँगै सहकारीको सदस्य बनाउने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।

Advertisement

पल्र्स अनुगमन प्रणालीको डेभ रिचार्डसनले प्रतिपादन गरेका हुन् ।
उनले सन् १९८० मा अमेरिकाका ग्वाटेमालाका बचत तथा ऋण सहकारी संस्थाका लागि यस प्रणालीको विकास गरेका थिए । यसलाई १९९० मा विश्वव्यापी प्रयोगमा ल्याइएको थियो भने नेपालमा सन् १९९८ मा एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा आफ्ना सदस्यको वित्तीय अनुगमन गर्न नेफ्स्कूनद्वारा लागु गरिएको थियो । विसं २०६५ सालमा सहकारी विभागको परिपत्रमार्फत बचत तथा ऋण सहकारीले अनिवार्य पल्र्सको प्रणालीमा जानुपर्ने व्यवस्थासँगै यसको चासो बढ्दै आएको छ ।

तालिममा स्याङ्जाका ३० जना सहकारीकर्मी सहभागी थिए । तालिमले सहकारीको तरलता र जोखिम पहिचान तथा समाधान गर्न टेवा पुग्ने जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया