राजा त्रिभुवन र दिल्ली सम्झौता

समाधान संवाददाता २०७५ फागुन ९ गते ८:१९

टीका धमला

नेपालको इतिहासमा पृथ्वीनारायण शाहदेखि आजसम्म आइपुग्दा राजसंस्थाको परम्परा जहिले पनि जनताको पक्षमा भएको पाइन्छ । विशेषगरी २००७ सालमा भएको एकतन्त्रीय राणा शासनको अन्त्य र प्रजातन्त्रको सुरुआतीको सेरोफेरोमा राजा त्रिभुवनबाट नेपालमा प्रजातन्त्र ल्याउन खेलेका भूमिकाबारे इतिहासमा पढिएका र सुनिएका केही कुराहरू यस आलेखमा पाठकसामु पुर्‍याउने जमर्को गरिएको छ ।

१ सय४ वर्षको राणा शासनको उत्तराद्र्धमा आइपुग्दा शक्तिमा पुगेका र रोलक्रममा रहेका देश र जनताको भन्दा आ–आफ्नै सुख र सयलका लागि राज्यको ढुकुटी खर्च भएकोमा त्यस बेलाका सचेतक, बुद्धिजीवी नेपाली जनतालाई चित्त बुझिरहेको थिएन । यसमा केही सुधारवादी राणाहरू पनि थिए जसले गर्दा राणाहरूकै बीचमा द्वन्द्व बढ्दै गएको थियो र सुधारवादी राणाहरू र राजा त्रिभुवन पनि जनताको पक्षमा सशक्त रूपमा गोपनीयता कायम गर्दै लगेका थिए । त्यति बेला विश्वमा चलेको प्रजातन्त्रको लहर र विशेषगरी भारत स्वतन्त्र भइसकेपछि आएको प्रजातन्त्रले नेपाल र नेपालीमा पनि अब एकतन्त्रीय राणा शासन हटाएर नेपालमा पनि प्रजातन्त्र ल्याउनुपर्छ भन्ने अठोट बनिसकेको थियो ।

Advertisement

नेपालमा प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको सशक्त भूमिका भएको इतिहासमा प्रशस्तै पढ्न पाइन्छ । यसै सन्दर्भमा राजा त्रिभुवन जनताको नासो राजमुकुटको बाजी राखेर २००७ साल कात्तिक २६ गते भारत सरकारले बन्दोबस्त मिलाएको हवाइजहाजबाट दिल्ली प्रस्थान भयो । दिल्लीको हैदरावाद हाउसमा बस्दाको बखत भएका घटनाक्रम नियाल्दा राजा त्रिभुवनले त्यस बखत खेलेका भूमिका नेपाल र नेपालीका लागि ठूलो गौरवको विषय भएको इतिहासले पुष्टि गरेको छ ।

राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र ल्याउने सोचले दिल्ली पुगेका राजा त्रिभुवनलाई भारतीय पक्षबाट नेपाललाई भारतको हिमाञ्चल प्रदेशमा सम्मिलित गर्ने प्रस्ताव राखियो ।

Advertisement

राणाहरू पनि २ समूहमा विभाजित भइसकेका थिए । १ समूह राणा शासनको निरन्तरतामा लागेका थिए भने अर्को समूह राणा शासनको अन्त्य गरी नेपालमा प्रजातान्त्रिक व्यवस्था हुनुपर्छ भन्ने धारमा थिए । प्रजातान्त्रिक धारमा विशेषगरी सुवर्णशमशेर र महावीर शमशेरलगायत अन्य राणाहरू थिए । राजा त्रिभुवनले पनि प्रजातान्त्रिक समूहसँगै गोप्य रूपमा सक्रिय भूमिका खेलिरहेका थिए । जुद्धशमशेरलगायत अन्य राणाहरू राजा त्रिभुवनसँग धेरै सशंकित थिए, जसले गर्दा राणाहरूले दरबारभित्र राजा त्रिभुवनलाई १ किसिमको नजरबन्दकै रूपमा राखेका थिए । राणा प्रधानमन्त्रीको स्वीकृतिबिना राजा त्रिभुवनले बाहिरका कुनै पनि मानिसलाई भेट्न पाउँदैनथे । राजनीतिक पत्रपत्रिका तथा किताबहरू पनि पढ्न पाउँदैनथे । तर राजा त्रिभुवनले विभिन्न उपायहरू अपनाई आफूलाई मन लागेका किताबहरू पढ्ने, भारतबाट निक्लने जनजागरणका विभिन्न पत्रपत्रिकाहरू पनि पढ्ने र आवश्यक मानिसहरूलाई भेट्ने काम गर्थे ।

राणा प्रधानमन्त्री जुद्धशमशेर र राजा त्रिभुवनबीच निकै खटपट परिरहन्थ्यो । जुद्धशमशेरले आफ्ना नजिकका भारदारसँग यसरी राजा हाम्रो विरुद्धमा लाग्छन् र गल्ती स्वीकार्दैनन् भने गोरखामा लगेर नजरबन्दमा राख्नुपर्ला भनेको कुरा राजा त्रिभुवनको कानमा परेको थियो । यस्तो अवस्थामा राजा त्रिभुवनका समर्थकहरूबाट जुद्धशमशेर राजा त्रिभुवनको विरुद्धमा नलाग्ने उपाय सोची जुद्धशमशेरको मन पर्ने कान्छी महारानीका छोरा शान्तशमशेर र रवि शमशेरसँग राजा त्रिभुवनका भित्रिनीपट्टिका २ छोरीसँग विवाह भएपछि जुद्धशमशेर केही खुसी भएका थिए । यसै मौकामा हजुरिया जर्नेल बहादुरशमशेर मार्फत राजा त्रिभुवन कोलकाता सवारी हुने इच्छा जुद्धशमशेरमा जाहेर भयो । त्यति बेला राणाहरू सोख, सयल गर्न कोलकाता, बम्बई, लखनौ जान्थे तर राजाहरूचाहिं देश बाहिर जान हुँदैन जात जान्छ, पाप लाग्छ भन्थे । राजा त्रिभुवन कोलकाता जान चाहनुको मुख्य कारण त्यहाँ घुम्नुभन्दा पनि सुवर्णशमशेर र महावीरशमशेरसँग भेटेर नेपालमा चाँडोभन्दा चाँडो राणा शासनको अन्त्य गरेर प्रजातन्त्र ल्याउने विषयमा कुरा गर्नु थियो । सुवर्णशमशेर र महावीर शमशेर त्यति बेला नेपाल आउन सक्ने अवस्था नै थिएन र यदि नेपाल आए तापनि उनीहरूले राजा त्रिभुवनसँग भेट गर्ने सम्भव नै थिएन ।

जुद्धशमशेरपछि २००२ सालमा पदमशमशेर प्रधानमन्त्री बनेपछि राजा त्रिभुवनमा अब यी सुधारवादी प्रधानमन्त्रीबाट नेपालमा कुनै धनजनको नोक्सान नभई चाँडै नै प्रजातन्त्र आउँछ भन्ने झिनो आशा पलाएको थियो ।

राजा त्रिभुवनको राणाहरूसँग वैवाहिक सम्बन्ध राख्ने इच्छा नहुँदा पनि राजनीतिक बाध्यतावश जुद्धशमशेरको परिवारसँग आफ्नो भित्रिनीपट्टिका छोरीसँग विवाह हुने भएपछि विसं २००१ मा राजा त्रिभुवनको पहिलो विदेश यात्रा कोलकातामा तय भयो । त्यस बेला राणाहरूमा हजुरिया जर्नेल बहादुरशमशेर निकै शक्तिशाली थिए तर उनलाई जुद्धशमशेरकी मन परेकी कान्छी महारानीको छोराहरूसँग राजाको छोरीहरूसँग हुन गइरहेको वैवाहिक सम्बन्धले भित्रभित्रै ईष्र्या भइरहेको थियो र आफ्नै नातिनी नरशमशेरकी छोरीहरू प्रिनसेप र हेलेनको विवाह राजा त्रिभुवनका माइला र कान्छा छोरा हिमालय र बसुन्धरासँग गराउन लागिपरे । यसमा पनि राजा त्रिभुवन खुसी नहुँदा पनि बाध्यतावश आखिरीमा विवाह हुने तय भयो । यसबाट बहादुरशमशेर खुसीले गद्गद् हुँदै राजा त्रिभुवनको कोलकाता सवारी आफ्नै नेतृत्वमा चलाउने स्वीकृत आफ्ना बुबा जुद्धशमशेरसँग लिएर राजा त्रिभुवनको कोलकाता सवारी भयो ।

राजा त्रिभुवनको कोलकाता सवारी पुगेपछि सुवर्णशमशेर र महावीर शमशेरसँग सजिलै भेट हुन त सम्भव नै थिएन । यसमा न जुद्धशमशेरले नै स्वीकृति दिन्थे न त यसमा बहादुर शमशेरले नै चाहन्थे । त्यसताका कोलकातामा भएका राणाजीहरू साँझ प्राय त्यहाँका प्रसिद्ध नाइट क्लब थ्रीहन्ड्रेड क्लबमा जान्थे । राजा त्रिभुवनले पनि आफ्ना शुभचिन्तकहरूसँग सल्लाह गरी थ्रीहन्ड्रेड क्लब हेर्ने निहँु पारी जनतालाई प्रजातन्त्र ल्याउन उक्साएको आरोपमा नेपालबाट लखेटिएका सुवर्णशमशेर र महावीर शमशेरसँग १ साँझ त्यहीं भेटेर नेपालमा कसरी प्रजातन्त्र चाँडोभन्दा चाँडो ल्याउन सकिन्छ भन्ने कुरामा छलफल गरे ।

यसरी नेपालमा एकातिर प्रजातन्त्र ल्याउने र राणा शासन नै राख्नुपर्छ भन्नेहरूको आपसी द्वन्द्वको कारण देशको राष्ट्रियता कमजोर भइरहेको थियो भने अर्र्काेतिर भारत स्वतन्त्र भएपछि भएका प्रधानमन्त्री जवाहरलाल नेहरू त्यसै मौकालाई छोपी नेपाललाई कसरी आफ्नो कब्जामा राख्न सकिन्छ भनी तानाबाना बुन्दै थिए ।

जुद्धशमशेरपछि २००२ सालमा पदमशमशेर प्रधानमन्त्री बनेपछि राजा त्रिभुवनमा अब यी सुधारवादी प्रधानमन्त्रीबाट नेपालमा कुनै धनजनको नोक्सान नभई चाँडै नै प्रजातन्त्र आउँछ भन्ने झिनो आशा पलाएको थियो । तर उनी डरपोक र कमजोर भएको हुनाले केही पनि गर्न सकेनन् । कयौं पटक यिनले जनता र देशको नाममा रेडियोमार्फत् भाषण गर्न लाग्दा आगे मेरा प्रजा भन्नेबितिकै रुन्चे स्वर निकाल्दा रेडियोको कार्यक्रम नै बन्द गर्नुपथ्र्यो । यही कमजोरीपनाको फाइदा उठाउँदै मोहन, बबर र बहादुरशमशेरले डर–धम्की देखाउँदै प्रधानमन्त्री निवास, सिंहदरबार छिर्नै नदिइ २००५ सालमा भारतको राँचीबाट जबरजस्ती राजीनामा लेख्न लगाई पठाएपछि रातारात मोहनशमशेर नेपालको प्रधानमन्त्री बने ।

मोहन शमशेर प्रधानमन्त्री बनेपछि राजा त्रिभुवन र प्रधानमन्त्रीबीचको सम्बन्ध धेरै नै नराम्रो हुन गयो । मोहन शमशेरले राजा त्रिभुवनलाई हेयको दृष्टिकोणले आफ्ना मानिससँग कुरा गर्दा नारायणहिटीको ठकुरी भनेर सम्बोधन गर्थे र यसरी राजाबाट जनता भड्काउने काम नरोकिएमा पदच्युत गरिदिन्छुुसमेत भन्थे । यो कुरा राजा त्रिभुवनलाई थाहा भइसकेको थियो । यो अवस्थामा काठमाडौंमा बसेर संगठित रूपमा प्रजातन्त्रका लागि अघि बढिसकेको नेपाली कांग्रेसलगायत अन्य प्रजातन्त्रप्रेमीहरूलाई सहयोग गर्न नसकिने र आफू पनि प्रधानमन्त्रीबाट असुरक्षित रहेको महसुस गरी २००७ सालको दसैंपछि राजा त्रिभुवन पाल्पा जाने कुरा गोप्य रूपमा भइरहेको थियो । यो कुरा नेपाली कांग्रेसका केही नेताहरू र त्यति बेला पाल्पा लखेटिएका रूद्रशमशेरबाहेक कसैलाई थाहा थिएन । त्यसैताका गणेशमान सिंह र सुन्दरराज चालिसे हतियारसहित लुकीछिपी काठमाडौं आएका थिए । यसमा राजा त्रिभुवनमा यिनीहरू पक्राउ पर्छन् कि भन्ने ठूलो चिन्ता थियो । त्यसैले उनीहरूलाई खर्चको व्यवस्था गरी तुरुन्त भारत जानू भन्ने राजा त्रिभुवनबाट आदेश भयो र आफू पाल्पा जाने तयारीमा लागे ।

राजा त्रिभुवन पाल्पा जाने कुरा त्यस बेलाका भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले थाहा पाए र तुरुन्तै भारतका प्रधानमन्त्री नेहरूलाई खबर गर्दा नेहरूबाट राजदूतलाई तुरुन्तै जे जसरी हुन्छ राजा त्रिभुवनलाई पाल्पा जान नदिई दिल्ली ल्याउने काम गर्नु भन्ने निर्देशन भयो । त्यस बखत राजा त्रिभुवन र भारतीय राजदूतको भेटका लागि मोहन शमशेरले स्वीकृति दिने कुनै सम्भव नै थिएन । राजाबाट सिपिएन सिंहलाई भेट्न नयाँ उपाय सोची त्यस बेला सुरु भएको हप्ताको २ पटक काठमाडौं पटना चल्ने हवाई सेवाको जहाज हेर्नका लागि गौचर विमानस्थल जाने स्वीकृती लिई राजा त्रिभुवन विमानस्थल गएका थिए । सीपीएन सिंहसँग पहिला नै गरिएको समन्वयअनुसार राजदूत पहिला नै जहाजभित्र बसिरहेका थिए र राजाभित्र छिर्ने्बित्तिकै जहाजको ढोका बन्द गरेर उडी काठमाडाै २ चक्कर लगाई ल्यान्ड गर्दा प्लेनभित्र राजा र राजदुतको गोप्य कुरा भयो । राजा त्रिभुवन २००७ साल कात्तिक २१ गते बिहान सपरिवार भारतीय राजदूतावास शीतलनिवास सवारी भई कात्तिक २६ गते प्लेनद्वारा दिल्ली प्रस्थान भयो । दिल्लीको हैदरावाद हाउसमा सपरिवार पुगेका राजा त्रिभुवनलाई एक्कासी अकल्पनीय समस्या आइलाग्यो ।

पुरुषोत्तम सम्शेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ को पृष्ठ ३७६ मा उल्लेख भएअनुसार राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र ल्याउने सोचले दिल्ली पुगेका राजा त्रिभुवनलाई भारतीय पक्षबाट नेपाललाई भारतको हिमाञ्चल प्रदेशमा सम्मिलित गर्ने प्रस्ताव राखियो । यसमा स्वीकार भएमा राजाको श्री ५ आजन्म रहिरहने सालाना चाहिनेअनुसार रकम पाइने इत्यादि प्रलोभन देखाइ राजा त्रिभुवनलाई संकटमा पारियो तर राजा त्रिभुवनबाट कुनै पनि हालतमा विचलित नभइ पुर्खाले आर्जेको स्वतन्त्र नेपालमाथि आँच आउने कुनै पनि कुरामा समर्थन नगर्दा आखिरीमा भारतकै मध्यस्थतामा निम्न मुख्य बुँदाहरूमा सहमति भइ २००७ साल फागुन ४ गते राजा त्रिभुवन विशेष विमानद्वारा नेपाल फर्किए ।
१. श्री ५ सुरेन्द्रको पालामा जंगबहादुरले लिएको अख्तियारी श्री ५ महाराजाधिराज सरकारमा फर्काउने ।
२. चुनाव नहुन्जेल अन्तरिम सरकार गठन गर्ने । अन्तरिम सरकारको दससदस्यीय मन्त्रिमण्डलमा राणा पक्षबाट ५ जना र नेपाली कांग्रेसबाट ५ जना मन्त्री बन्ने ।
३. प्रधानमन्त्री मोहनशमशेर नै हुने ।
४. श्री ५ त्रिभुवन नै राजा हुने ।
५. राजाबाट प्रजातन्त्रको घोषणा हुने ।
यी माथि उल्लेख भएका सम्झौताहरूलाई नेपालको इतिहासमा ‘दिल्ली सम्झौता’ भनिन्छ । यसरी दिल्ली सम्झौता गरी फर्केका राजा त्रिभुवनबाट २००७ साल फागुन ७ गते नारायणहिटी राजदरबारबाट शाही सम्बोधन मार्फत नेपालमा प्रजातन्त्रको घोषणा गरियो र अन्तरिम सरकारको गठन पनि गरियो । यसरी नेपालमा राजा र जनताको प्रयासमा प्रजातन्त्रको सुरुआती भयो ।

तपाईको प्रतिक्रिया